घरेलु तथा साना उद्योगमा नीतिगत प्रष्टतामा जोड



काठमाडौं, (नेस)
नेपालको आर्थिक रूपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योग नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाले बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित २९औं वार्षिकोत्सव समारोहमा उनीहरुले संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए।

नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरूप लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीति थप प्रष्ट एवम नियमित रूपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो।
मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मुख गराउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो।

यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमी सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो। झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघअन्तर्गत २० वटा वस्तुगत संघ संस्थागत सदस्यको रूपमा महासंघमा आबद्ध छन्।
औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरुको छाता संस्थाको रूपमा स्वीकार गरेको महासंघले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गर्दै आइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष सिंहले बताउनुभयो।

महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय संघ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबार गर्ने संघ संस्था धेरै छन्। तर, तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्