दोस्रो किस्ता लिने ४ लाख नाघे



काठमाडौं, (नेस)
घर निर्माण शुरू गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ। बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका कुल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन्।

यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो। यद्यपि, दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ४ सय पुगिसकेको छ। उनी दोस्रो किस्ता लिनका लागि योग्य भइसकेका छन्। पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ पुगेको छ।

दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकाले पनि घर निर्माण शुरू गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढोत्तरी भइरहेको छ। निजी आवास पुनर्निर्माणमा समय सीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका कारण घर निर्माण शुरू गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनुभयो।

दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनर्निर्माण सम्पन्न र पुनर्निर्माण भइरहेका घरको संख्या पनि बढेको छ। तथ्यांकअनुसार पुनर्निर्माण शुरू भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। जिल्लागत रूपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन्। त्यसैगरी, तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि वृद्धि भइरहेको छ। तेस्रो किस्ताका लागि प्रमाणिकरणभएका लाभग्राहीको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ। तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिइसकेका छन्।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापट १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपियाँ पाउछन्। प्राधिकरणले पछिल्लो समय गुनासो सुनवाईलाई तीव्रता दिई योग्य गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राहीमा थप गरिरहेको छ। प्राधिकरणले यही जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ पुनर्निर्माण लाभग्राही थप गरेको हो।

प्रतिक्रिया दिनुहोस्