सिंगापुरमा दक्षिण कोरियाका दुई पत्रकार पक्राउ



सिंगापुर सिटी, ( एजेन्सी)
आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने ऐतिहासिक शिखर वार्ताका सन्दर्भमा सिंगापुर प्रहरीले शुक्रबार उत्तर कोरियाली राजदूतको निवासमा बिनाअनुमति प्रवेश गरेको अभियोगमा दुई जना दक्षिण कोरियाली पत्रकारलाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार अपराह्न सो निवासस्थानमा तिनीहरुलाई फेला परेको जनाएको छ। किम आइतबार सिंगापुर आइपुग्ने एक भरपर्दो सूत्रलाई उद्धृरित गर्दै रोयटर्सले जनाएको छ।
यसैबीच ट्रम्पले सिंगापुर वार्ता सफल भएको खण्डमा आफूले किमलाई ह्वाइट हाउसमा आमन्त्रण गर्नेबारे विचार गरिरहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति पनि आइतबार नै सिंगापुर आइपुग्ने बताइएको छ। अमेरिका र त्यसको गठबन्धनले उत्तर कोरियाले आणविक हातहतियार कार्यक्रम त्यागोस् भन्ने चाहन्छन्।

तर ट्रम्पले यो अभिलाषा पूर्तिका लागि एउटै बैठक पर्याप्त नहुने र लामो समय लाग्ने प्रतिक्रिया दिएका छन्। सिंगापुरका प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण कोरियाली टेलिभिजन केबीएसका लागि कार्यरत ४२ र ४५ वर्षका दुई पत्रकारलाई गिरफ्तार गरिएको जनाएको छ।

अन्य दुईजना दक्षिण कोरियालीमाथि भने अनुसन्धान भइरहेका ेबताइएको छ। यस शिखर वार्ताको समाचार संकलन गर्नका लागि करिब ३ हजार पत्रकार सिंगापुर आइपुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी हुबहु किमजस्तै देखिने हङकङ निवासी होवार्ड एक्सले सिंगापुर आइपुग्दा आफूलाई आप्रवास अधिकारीहरुले दुई घण्टासम्म सोधपुछ गरेको फेसबुकमार्फत जानकारी गराएका छन्।

होवार्ड एक्सले भनेका छन्– ‘तिनीहरुले मेरा झोलाहरु खोतलखातल पारे। यस्तो संवेदनशील समयमा म सिंगापुरमा बस्न लागेको सम्झाउँदै तिनीहरुले मलाई सान्तोसा टापु र शहरको सांग्रिला होटेलबाट टाढै बस्न आदेश दिएका छन्।’

यसैबीच ट्रम्पले पटकपटक उत्तरकोरियाको भ्रमण गर्ने गरेका तथा किमका मित्र अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानलाई पनि सो वार्तामा आमन्त्रित गरिएको छ कि भन्ने अनुमानको खण्डन गरेका छन्।

यसैबिच ट्रम्प–किम वार्तालाई मध्यनजर राखेर कूटनीतिक पहलअघि बढाउन बिहीबार अमेरिका पुगेको जापानी प्रधानमन्त्री सिन्जो आवेले अपहरणसम्बन्धी समस्या चाँडै हल गर्नका लागि आफूले प्रत्यक्षरूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको बताएका छन्। उनले ट्रम्पसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्