बाढीबाट जोगाउन ११ करोडको लागतमा तटबन्ध निर्माण



सरोज यादव, विराटनगर ।
नेपाल सरकारको ठूलो आयोजनाको रुपमा रहेको सुनसरी–मोरङ सिचाईं योजनाअन्तर्गतको मूल नहरलाई बाढी तथा पहिरोबाट जोगाउन रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मत कार्य गरिएको छ ।

गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेताचौकदेखि बाहुनी हुँदै केरौनको झमनपुर नहर शाखासम्म क्षतिग्रस्त मूलनहर, उपनहर तथा शाखानहर र नहरको दुवैतर्फ डिलको मर्मत अन्तिम चरणमा पुगेको हो । साथै त्यसको मर्मत र निर्माणले किसानलाई तोकिएको समयमा पानी उपलब्ध गराउनेतर्फ योजना प्रशासन लागिपरेको जनाएको छ ।

बाहुनी, पूर्व बेलबारी र कानेपोखरीकोबीचमा रहेको चिसाङ खोलालाई बाढीले क्षतिग्रस्त बनाएपछि त्यसबाट मुलनहरमा असर पर्नसक्ने खतरा बढेकोले नहरलाई सुरक्षित बनाउन रु ५ करोड ३५ लाखको लागतमा चिसाङ खोला नियन्त्रणको कार्य सम्पन्न भएको योजनाका डिभिजनल इन्जिनियर प्रदिप वान्तवाले बताउनुभयो ।

उक्त खोलामा १० मिटर चौडाई भएको १५ सय मिटर लामो च्यानलाईजेशन तथा ८ सय मिटर खोलाको दुवै छेउमा ढुङगासहितको पक्की तारजाली निर्माण गरिएको छ । साथै त्यँहा पुल कलभर्ट र पानी निकासको लागि ह्ुयमपाईपसमेत स्वामी नारायण आर्शिबाद साह जेभी कन्स्ट्रक्सन प्रालिद्वारा निर्माण गरिएको छ ।

उक्त खोलाको नियन्त्रण कार्यले त्यहाँस्थित कदम चौक गाँउको मानवबस्ती साथै कृषिबाली–नाली र चौपाया सुरक्षित भएको स्थानीय राम चौधरीले बताउनुभयो ।

त्यस्तै नेता चौकदेखि केरौनसम्म नहरको डिललाई व्यवस्थित बनाउन र यातायात सुविधा पु¥याउन गिताञ्जली कन्स्ट्रक्सनद्वारा रु ५ करोड ५० लाखको लागतमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको योजनाका अर्का डिभिजनल इन्जिनियर श्रीप्रसाद साहले बताउनुभयो ।

त्यसैगरी गतसाउन महिनाको अन्तिम साताको बाढीले बेलबारीमा रहेको लोहन्द्रा खोलाको मूलनहरको पुल तथा पानी बग्ने साईफन ध्वस्त बनाएपछि त्यँहा सिंचाईको कार्य अवरुद्ध भएकोले सो ठाँउमा पानीको ईन्टेक बनाएर नहरमा पानी ल्याउने व्यवस्था भइरहेको साहले बताउनुभयो ।

बेलबारी पूर्व धरहरामा ३ किलोमिटरसम्म नहर सफाईको काम योजनाले गरिरहेको ईन्जिनियर सुकदेव शर्माले बताउनुभयो । लोहन्द्रामा रहेको मुलनहरको पुल र साईफन बाढीले भत्काउदा बेलबारीदेखि केरौनसम्मको १२ किलोमिटर आसपासका १३ हजार हेक्टर खेतीयोग्य जमीन सिंचाई सुविधाबाट बञ्चित भएको छ ।

चार दशक अगाडि भारत सरकारद्वारा निर्माण गरिएको सुनसरी– मोरङ सिंचाई आयोजनाको मूलनहर ५३ किलोमिटर ६ भने त्यसबाट सुनसरी मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिन सिंचीत हुँदैआएको आयोजनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्