सीमा क्षेत्रमा भारतीयको ज्यादती: भारतीयको पक्की सडक, नेपालतर्फ काममा अबरोध



हेमन्त पौडेल,बेलौरी ,कञ्चनपुर ।

नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी कायम नै रहेको छ । विभिन्न बाहाना बनाएर भारतीयहरुले नेपालीलाई दुःख दिने गरेका छन् ।

यस अघि पनि विभिन्न समयमा सीमा क्षेत्रका जनतामाथि ज्यादती गर्दै आएको भारतीय पक्षले यतिखेर बेलौरी नगरपालिकाको विभिन्न वार्डहरुमा विकासको काम समेत प्रभावित पारेको छ । कञ्चनपुरका विभिन्न क्षेत्रमा सीमा अतिक्रमण देखि लिएर नेपाली माथि दुब्र्यवहार बढेको छ ।

कञ्चनपुरको वसै नाकामा भएको घटनापछि सीमा क्षेत्रको समस्या बढी चर्चामा आएको थियो । भारतीय पक्षको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । भारतीयले गरेको सीमा अतिक्रमणका विरोधमा स्थानीय बासिन्दाहरु आन्दोलित भएका थिए ।

यतिबेला पनि कञ्चनपुरको पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाको विभिन्न स्थानमा अतिक्रमणका समाचार सार्वजनिक भएको अवस्थामा बेलौरी नगरपालिकाको ६ वटा वार्डहरु भारतीयको अवरोधका कारण विकासको काम समेत प्रभावित भएको छ । बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीका अनुसार ६ वटा वार्डहरुमा भारतीयहरुले गरेको अवरोधका कारण जनताको पक्षमा काम गर्न सकिएको छैन ।

बेलौरी नगरपालिकाको वार्डनम्वर १,२,६,७,८ र १० का विकासका कामहरु प्रभावित भएका वार्ड अध्यक्षहरुले बताएकाछन् । भारतीयले दशगजा भएर पक्की सडक निर्माण गर्नुका साथै पक्की घरहरु समेत निर्माण गरेको छ ।

अन्तर्राष्टिय मान्यता विपरित भारतले पिलर नम्वर ३२ देखि ४२ नम्वर पिलरको छेउभएर सडक निर्माण गरेको छ भने सोही क्षेत्रका बस्तीमा पक्की घरहरु निर्माण गरेको वार्डनम्वर ८ का वार्ड अध्यक्ष नन्दकुमार रानाले बताउनुभयो । नेपालको भूमिमा पनि काम गर्न नपाएकाले स्थानीय जनताले विकासको अनुभूति गर्न नपाएको रानाको भनाई छ ।

गाउँको बाटो निर्माण गर्न जेसिबि जाँदा भारतीय पक्षबाट अबरोध गरेकाले बाटो बनाउन सकिएको छैन अर्का वार्ड अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । गाउँमा जाने बाटो नभएकाले जनताले समस्या भोगेकाछन तर आफ्नै देशमा पनि विकासको काम गर्न नपाउनु दुर्भाग्यको कुरा रहेको वार्डअध्यक्ष श्रेष्ठको भनाई छ ।

सीमा सर्वेक्षण टोलीले सीमा विवाद भएका भनिएका स्थानमा विवाद समाधान नहुँदासम्म जो जाहाँ बसेको छ त्यहिँ बस्ने र निर्णयपछि मात्र तोकिएको ठाँउमा जाने सहमति गरेको छ तर भारतीयहरुबाट सहमति उलंघन गर्दै नेपालतर्पm देखिएको ठाउँमा तत्काल जाने र भारततर्फ परेको नेपालको भूमि कब्जा गरेको स्थानीय बासिन्दाहरुको भनाई छ । भारतको हेपाह प्रवृतिका कारण नेपालीले दुःख पाएको मेयर पोतीलाल चौधरीले बताउनुभयो ।

स्थानीय बासिन्दाले भोगेको समस्याका बारेमा सरोकारवाला निकायको ध्यानाकर्षण गरिसकेको मेयर चौधरीले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि गाउँको विकासले गति लिएको थियो तर भारतीयको अबरोधका कारण विकासको काममा प्रभावित हुने गरेको छ । नेपाल भारतको सीमा क्षेत्रमा देखिएको समस्या समाधानकालागि केन्द्रीय सरकारकोतर्फबाट पहल हुनुपर्ने माग पनि स्थानीयको छ ।

सीमा क्षेत्रको समस्याका कारण नेपालीहरुलाई भारत जानपनि समस्या हुने गरेको छ । सो क्षेत्रका जनप्रतिनिधिहरुका अनुसार नेपालीहरु भारततर्फ जाँदा नाम दर्ता गरेर जानुपर्ने अवस्था छ भने भारतीयहरु भने निर्वाधरुमा नेपाल आउने गरेकाछन् ।

सीमा क्षेत्रमा जनताले भोगेको समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकार भएको बताउनुभयो । आफ्नोतर्फबाट समस्या समाधानकालागि पहल गरेको बताउँदै प्रजिअ खड्काले सो क्षेत्रको समस्याका बारेमा केन्द्रमा लेखेर पठाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्