८० विद्यार्थी ठगी प्रकरण , प्रिन्सिपल पक्राउ, विद्यालय खारेज



मोतिराम तिमल्सिना, काभ्रे
सीएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट बनेपा आएका ८० विद्यार्थी ठगी गर्ने विद्यालय खारेज भएको छ भने विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। विद्यालयका मुख्य सञ्चालक शिलाकान्त झा अझै फरार छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ठगीको उजुरी परेको ८ महिनापछि प्रशासनले उनलाई बुधबार राति पक्राउ गरेको हो। नेसनल हेल्थ फाउन्डेसन प्रिन्सिपल सुरज ज्ञवालीलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहको टोलीले पक्राउ गरेको हो। उनी विरुद्ध ८० विद्यार्थी ठगी गरेको उजुरी परेको छ। यसअघि प्रशासनले चासो नदिँदा ८ महिनादेखि ज्ञवाली र झा फरार हुँदै आएका थिए।

वार्षिक १ लाख २० हजारका दरले ९६ लाख रूपैया संकलन गरेर नक्कली कलेज संचालन गरी परिक्षा समेत दिने तयारी गरेका थिए। ८ महिना अघि विद्यार्थीको परिक्षा संचालन हुने समयमा ठगी गरेको जानकारी प्राप्त भएपछि नेपाल समाचार पत्र राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेको थियो।

सोही समाचारका आधारमा सिटिईभीटीले छानविन टोली गठन गरेको थियो। उक्त कलेजका सञ्चालक झा र प्रिन्सिपल सुरज ज्ञवालीलाई बचाउन राजनीतिक संरक्षण भएको थियो। ‘अध्ययनका लागि दिएको डेड लाख रकम त खाएखाए, हाम्रो वर्ष दिनको समय र भविष्यसमेत अन्धकार बनाए,’ एक विद्यार्थीले भने– ‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डसनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन्।’

‘२०७४ कार्तिक २४ गते शुक्रबार देखि शुरु भएको फाइनल परीक्षामा समेत हामी सहभागि हुन पाएनौं’ –उनले भने– ‘प्रशासन प्रमुख सुरज ज्ञवालीले शुक्रबारको परीक्षा हुन्छहुन्छ भन्दै आईतबार समेत परिक्षा दिने अवसरबाट बञ्चित गराए।’

नेसनल हेल्थ फाउन्डेशनले सीएमए र अनमी अध्ययनका लागि ४०÷४० जनाको अनुमति प्राप्त गरेको छ। नेशनल हेल्थ फाउण्डेसनले अनुमति भएको भन्दा दोब्बर विद्यार्थीहरू अध्यापन गराउँदै आएको थियो। सोहि इन्ष्टिच्युटमा अध्ययन गरेका मध्ये ८० जनाले बनेपा पोलिटेक्निक स्कुलमा भएको परिक्षामा सहभागि हुने अवसर पाए भने बाँकी ८० जना विचल्लीमा परे।

विचल्लीमा परेका ८० जनालाई सञ्चालक ज्ञवालीले बनेपा नगरपालिका वडा नम्वर ८ स्थित रामकुमार श्रेष्ठको घर भाडामा लिएर परीक्षा सञ्चालनको तयारी गरी प्रवेशपत्र वितरण गरेका थिए। ‘अध्ययन एउटामा प्रवेशपत्र अर्काे इन्ष्टिच्युुटको वितरण गरेपछि शंका लागेर बुझ्दा उल्टै प्रमाणपत्र भए भएन भनेर गाली गर्नु भयो’ –एक विद्यार्थीले भने– ‘भोलिपल्टको परीक्षा बिग्रिने डरले केही नभनी चुपचाप बस्दा बस्दै ज्ञवाली वेपत्ता भएछन्, झा त केही महिना अघिदेखि नै बाहिर बस्दै आएको थाहा पायौं।’

सिटिईभिटीमा दर्ता नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटकै नाममा ज्ञवालीले विद्यार्थीको नक्कली हस्ताक्षर गराएका थिए। सिटिईभिटीका कर्मचारीको मिलेमत्तोमा नुवाकोट टेक्निकल इन्स्टिच्युटको प्रवेश पत्र वितरण गरेका थिए। परिक्षा नियन्त्रक दोब्बरलाल सिल्पकारले नुवाकोट टेक्निकल इन्ष्टिच्युट दर्ता पनि नभएको र सोहि विद्यालयबाट विद्यार्थीको रजिस्टे«सन समेत नभएको जानकारी दिएका थिए।
समाचारपछि छानविनका लागि गठित टोलीले कलेज खारेजीको प्रतिवेदन बुझाएको थियो। चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना लिन नपाउने गरी सिटिईभिटीले नेशनल हेल्थ फाउन्डसन खारेजी गरेको सुचना प्रकाशन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्