सर्वोच्चले माग्यो बीमा समिति अध्यक्ष नियुक्तिको कागजपत्र



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले बीमा समितिका अध्यक्ष चीरञ्जीवी चापागाईंलाई अध्यक्ष पदमा नियुक्ति गर्दा पेस भएका कागजपत्र सरकारसँग माग गरेको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले योग्यतासम्बन्धी उठेको प्रश्नको निरुपण हुनुपर्ने भन्दै १५ दिनभित्र कागजपत्र पेस गर्न भनेको हो। सरकारले २०७३ मंसिर १४ गते चापागार्इंलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो। अधिवक्ता डिल्लीप्रसाद न्यौपानेसहितले अध्यक्ष पदमा नियुक्ति गरिएको विषयमा कारण खोज्दै सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो।

सरकारका नाममा दिइएको आदेशमा भनिएको छ– ‘कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि सम्बन्धित उम्मेदवारमा सो पदको निम्ति आवश्यक न्यूनतम योग्यता भएको हुनै पर्छ। यो सार्वजनिक सरोकारको विषय हो। तसर्थ यसलाई सामान्य भन्न मिल्दैन। तर, विपक्षी चिरञ्जीवी चापागाईं बीमा समितिको अध्यक्ष पदमा नियुक्ति भएको १ वर्ष ५ महिना अवधि व्यतित भइसकेपछि प्रस्तुत रिट निवेदन दर्ता हुन आएको र हाल विपक्षीको लिखित जवाफ प्राप्त हुन बाँकी देखियो।’

प्रतिक्रिया दिनुहोस्