अप्टिकल फाइबर, बिस्तारलाई तीव्रता दिँदै टेलिकम



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क बिस्तार कार्यलाई तीव्रता दिएको छ।कम्पनीले यही असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको जनाएको छ। टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुनेछ। आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको पनि प्रवक्ता वैद्यले जानकारी दिनुभयो।

प्रवक्ता वैद्यका अनुसार हालसम्म सम्पन्न भएका नेटवर्कहरूमा वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर रहेका छन्। त्यसै गरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको १ सय १५ दशमलब ८० किलोमिटर मध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुटमध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको टेलिकमले जनाएको छ।

यस्तै बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगन्ज र कोहलपुर–लम्कीलाई जोड्ने १ सय ६३ दशमलब २ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी रहेको कम्पनीले जनाएको छ। त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ। स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटरमध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ।

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरू र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरू आबद्ध हुने छन्। ती पहाडी जिल्लाहरू भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडीलगायतका जिल्लाहरू हुन्। यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरूमा अप्टिकल फाइबर जोडिने छन्।

हालसम्म नेपाल टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क बिस्तार गरिसकेको छ। चालू आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क बिस्तार कार्य सम्पन्न हुनेछ। मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ। यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्धरूपमा कार्य सम्पन्न गर्ने योजना रहेको छ।

कम्पनीले यसअघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बाग्लुङ, उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम, सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्ने कार्य सम्पन्न गरिसकेको प्रवक्ता वैद्यले जानकारी दिनुभयो। अप्टिकल फाइबर नेटवर्क बिस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुनेछ। कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्