नेपालको प्रस्तावमा बिमस्टेक राष्ट्र सकारात्मक



काठमाडौं, (नेस)
नेपालले प्रस्ताव गरेको सम्मेलनको मितिबारे सदस्य राष्ट्र सहमत भएपछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौमा हुने निधो भएको छ।
गत आइतबारको मन्त्रिपरिषद्को बैठकले सम्मेलन काठमाडौंमा गर्ने निधो गरेको थियो। सरकारले भदौ १४ र १५ वा २१ र २२ मध्ये कुनै एक मितिमा सम्मेलन आयोजना गर्ने निधो गर्दै सदस्य राष्ट्रहरूलाई मिति प्रस्ताव गरेको थियो।

प्रस्तावित अघिल्लो मितिमा सम्मेलन गर्न भुटानबाहेक सबै सदस्य राष्ट्रहरू सकारात्मक रहेका परराष्ट्र मन्त्रालयको क्षेत्रीय महाशाखाले जनाएको छ। भुटान संसदीय निर्वाचनको तयारीमा जुटेको छ। ‘भुटानबाहेक सबै सदस्य पहिलो मितिमै सम्मेलनका लागि सकारात्मक बनेका छन्, मन्त्रालयका एक अधिकारीले बिहीबार नेपाल समाचारपत्रसँग भने– ‘भुटानले पनि भोलि शुक्रवारसम्ममा सकारात्मक खबर पठाउने अपेक्षा गरेका छांै।’ सबै सदस्य राष्ट्रहरूको अनुकूलताका आधारमा सम्मेलनको मिति तय गर्ने प्रावधान छ। विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन्।  दुई वर्षअघि सन् २०१६ भित्रै हुनुपर्ने चौँथो सम्मेलन नेपालको आफ्नै आन्तरिक कारणले धकेलिँदै आएको थियो।

सन् २०१४ को मार्चमा म्यानमारको ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भएपश्चात नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ। विमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने प्रचलन छ। म्यानमारको तेस्रो शिखर सम्मेलनमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्