पूर्वयुवराज पारसको धर्म मोह



ईश्वरराज ढकाल, काठमाडौं
पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ। परिवार छाडेर एक्लै बस्दै आउनुभएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थाल्नुभएको छ।

सुनाकोठी बस्न छाडेर केही दिनदेखि अनामनगरस्थित हाउजिङमा बस्दै आउनुभएका उहाँ अधिकांश समय मृगस्थलीस्थित बाबा गोरखनाथ आश्रममा दर्शन गर्न थाल्नुभएको छ। हिजो बिहीबार छोरा हृदयेन्द्र, कान्छी छोरी कीर्तिका, धिरेन्द्र पुत्री दिलासा र पूजासहित गोरखनाथ आश्रम पुग्नुभएको थियो। पुस्तकालयमा बसेर आध्यात्मिक पुस्तक अध्ययन गर्न उहाँ गोखरनाथ आश्रम पुग्ने गर्नुभएको छ।

फुर्सदको समयमा आफ्ना छोराछोरीसँग घुम्न रुचाउने उहाँ लामो समयदेखि श्रीमती हिमानीसँग औपचारिकरूपमा भेट हुन सकेको छैन। स्रोतका अनुसार स्थानीय जनताको सहभागितामा धार्मिक कार्यक्रममा जान थाल्नुभएका पारस पछिल्लो एक महिनायता गएको वैशाख १५ गते महालक्ष्मी गुम्बा, २२ गते पलाञ्चोक भगवती दर्शन गर्न पुग्नुभएको थियो। ‘पूर्वयुवराज पारस विभिन्न मठमन्दिर दर्शन गर्न व्यस्त हुनुहुन्छ।’ –युवा विश्वहिन्दू महासंघका अध्यक्ष राजन महर्जनले भन्नुभयो। उहाँकै संयोजनमा राजधानीका केही मन्दिरमा पूर्वयुवराज पारस पुग्ने गर्नुभएको छ।

त्यसअघि टेकुस्थित पचली भैरवको पूजा गर्न पुग्नुभएको थियो। वैशाख ३१ गते गोकर्णको उत्तर गया, नलिञ्चोक भगवतीलगायतका मन्दिर दर्शन गरिसक्नुभएको छ।
पशुपति, गु≈येश्वरी मन्दिर बारम्बार जाने गर्नुभएका पारस असार ६ गते गोरखा मनकामना, गोरखनाथलगायतका मन्दिर दर्शन गर्न जाने तयारी भएको महर्जनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्