गुठीको जग्गामा महानगरपालिकाको वक्रदृष्टि



काठमाडौं, (नेस)
निजी गुठीको रूपमा दर्ता भएको जग्गा कुनै निकायले प्रयोग गर्न नहुनेमा गुठी सञ्चालकहरूले जोड दिएका छन्। स्वयम्भू भुइँखेलस्थित सम्यक निजी गुठीको जग्गा काठमाडौं महानगरपालिकाले पार्कका रूपमा व्यवस्थित गर्न थालेपछि गुठीयारहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

निजी गुठी सञ्चालक तीर्थ शाक्यले अदालतले समेत सम्यक निजी गुठीको नाममा कायम गर्न आदेश दिएको जग्गामा कामनपाले पार्क बनाउन नमिल्ने तर्क गर्नुभयो। उहाँले जग्गा संरक्षण गर्ने जिम्मा निजी गुठीको भएकाले यसलाई अन्य निकायले हस्तक्षेप गर्न नहुने दाबी गर्नुभयो। तर कामपाले भने प्रत्येक १२ वर्षमा आयोजना हुने सम्यक महादान पूजा प्रयोजनबाहेक अन्य काममा सो जग्गा प्रयोग गर्न नमिल्ने जनाएको छ।

कामपा वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले निजी गुठीको भए पनि सो जग्गा संरक्षण गर्ने अधिकार महानगरपालिकाको भएकाले १२ वर्षमा आयोजना हुने पर्वलाई समस्या नपर्ने गरी पार्कका रूपमा विकास गर्ने योजना रहेको जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो– ‘जग्गा निजी गुठीको हो, तर त्यो जग्गामा १२ वर्षे जात्रा सञ्चालनबाहेक केही गर्न मिल्दैन। यसबाहेक अन्य कामका लागि जग्गा लिजमा दिन वा अन्य कुनै प्रयोजनामा प्रयोग गर्न पाइँदैन।’

‘अन्य गुठीहरू गरिखाऊ भन्ने प्रयोजनले चलेका होलान्, तर यो गुठीको जग्गा १२ वर्षे पर्वबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन।’ –अध्यक्ष डंगोलले झन् थप्नुभयो। तर निजी गुठीयारले भने जात्रालाई समस्या नपर्ने गरी अन्य काम गर्न मिल्ने तर्क जिकिर गरेको छ।

नेवारी राजाको पालामा प्रत्येक १२ वर्षमा बुद्ध भगवान्को पूजा गर्न परम्परादेखि चल्दै आएको सम्यक निजी गुठीको सो जग्गा करिब १५ रोपनी क्षेत्रफल (कित्ता नं १४) रहेको छ। सो जग्गा गुठी संस्थानले आफ्नो नाममा ल्याउन खोज्दा मुद्दा परेको थियो।

२०६० फागुन २५ गते न्यायाधीशद्वय हरिबाबु भट्टराई र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सो जग्गा निजी गुठीको भएको फैसला गरेको थियो। त्यसअघि नै २०५७ माघ २५ गते जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश गिरिशकुमार शर्माको इजलासले पनि सो जग्गा निजी गुठीको भएको फैसला गरेको थियो। मालपोत कार्यालय कलंकीले थकाली भाजुरत्न शाक्यको नाममा पुर्जा उपलब्ध गराएको थियो।

हाल सो जग्गा तिर्थमान शाक्यसहित २ जनाको नाममा रहेको छ। कामपा वडा कार्यालय मार्फत सम्यक निजी गुठीले २०१६ देखि २०६४ सालसम्मको ९९ हजार ९ सय २३ रुपियाँ कर तिरेको छ। सो कर साउन २० गते तिरेको गुठीयारले जनाएको छ। यस्तै २०७० सालमा ३ हजार २ सय २६ रुपियाँ कर तिरेको थियो।

कर तिरेर निजी गुठीको नाममा रहेको जग्गालाई कामपाले संरक्षण गर्छु भन्नु गलत भएको गुठीयारहरूले जनाएका छन्। पुर्खाले गुठी संचालनार्थ आयस्थाको रूपमा राखिआएका जग्गाहरू सरकारको भूमिसम्बन्धी गलत नीतिको कारणबाट समस्या पर्दै आएको दावी गर्दै गुठियार तिर्थ शाक्य र मुक्ती शाक्यले सरकारकै कारण यस्ता सम्पत्तीको संरक्षण हुन नसकेको गुनासो गर्नुभयो। निजी गुठीले हाल सो जग्गा तारबार गरी संरक्षण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्