अब नेपाल प्रहरीमा पाँच एआईजी



काठमाडौं, (नेस)
प्रदेश प्रमुखको रूपमा डीआईजीलाई खटाउने भएपछि नेपाल प्रहरीमा अब ५ जना मात्रै एआईजीको दरबन्दी कायम हुने भएको छ। गृहमन्त्री रामबहादुर थापाले ५ जना मात्रै एआईजी राख्ने निर्णयमा हस्ताक्षर गरी प्रहरी प्रधानकार्यालयलाई पत्र पठाएको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले तयार पारेको मस्यौदा अब बस्ने मन्त्रिपरिषद्ले पास गरेपछि नेपाल प्रहरीमा बढुवाको प्रकृया अगाडि बढ्ने भएको छ ।

यसअघि दलका नेताको चित्त बुझाउन नेपाल प्रहरीभित्र १६ जना एआईजीको दरबन्दी कायम गरी बढुवा गरिएको थियो। हँुदै नभएको विशेष पद सृजना गरेर बढुवा गरेको कारण प्रहरी प्रधान कार्यालयमा एआईजीलाई व्यवस्थापन गर्न नसकेपछि प्रहरी महानिरीक्षकको सचिवालयमा २ जना एआईजीलाई राखिएको थियो ।

अहिले नेपाल प्रहरीको संरचनालाई चुस्त र दुरुस्त बनाउन भन्दै अनावश्यक पद
खारेज गरी संगठनलाई मजबुत बनाउन ५ जना एआईजी मात्र्रै राख्ने निर्णय भएको गृह प्रवक्ता रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । अहिले पनि केही डीआईजी एआईजीमा बढुवा हुन नेताको घरघरमा धाउन थालेपछि गृह मन्त्रालयले ५ जना एआईजी मात्रै राख्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले ९ जनासम्म एआईजीको दरबन्दी कायम गराउन गृहमन्त्री थापालाई पटकपटक दबाब दिनु भएपछि गृह मन्त्री थापाले भने ५ वटा मात्रै दरबन्दी कायम गराउनु भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्