गतल काम बन्द गर



संघीय संसद् कानुन निर्माण गर्ने थलो हो । जनताका प्रतिनिधिहरूले जनताका लागि कानुन बनाउने थलो पनि हो । जनताका जनप्रतिनिधिलाई कस्ता तालिम उपलब्ध गराउने भन्ने दायित्व र जिम्मेबारी सरकारको हो । अधिकार सम्पन्न संघीय सांसदहरूलाई आईएनजीओ मार्फत तालिम प्रदान गर्ने विषयले लज्जाबोध गराएको छ । जनप्रतिनिधिलाई परिवर्तित समयअनुसार उचित तालिम र ज्ञानको आवश्यकता छ । सरकारले जनप्रतिनिधिलाई थप जिम्मेबार र जवाफदेही बनाउनका लागि तालिम र विज्ञहरू मार्फत समय–समयमा प्रशिक्षित गर्नु पनि पर्छ । तर, संघीय संसद्का सांसदहरूलाई आईएनजीओको खर्चमा तालिम उपलब्ध गराउने निर्णय सरसर गलत छ ।

कानुन निर्माण गर्ने सांसदहरूलाई आईएनजीओ मार्फत तालिम दिँदा नीति निर्माण तहमा नै प्रभाव पर्ने देखिन्छ । संघीय संसद् मार्फत अझै दजनौं नियम कानुन बनाउनुपर्नेछ । कानुन निर्माणको पूर्वसन्ध्यामा एनजीओले दिने तालिमबाट सरकारको निरीहता प्रकट हुन्छ । सरकारले संघीय संसद्का सांसदलाई उचित तलबभक्ताको व्यवस्थापन गर्न सक्छ भने आवश्यक तालिम दिन किन सक्दैन ? संसद्मा छलफल गर्नुपर्ने सांसदहरू संसद् नै छोडेर आईएनजीओको तालिमको पछाडि दगुरेका छन् । सांसदलाई समयानुकूल तालिमको आवश्यकता पर्छ । त्यसका लागि संघीय संसद्का सभामुख चनाखो हुनुपर्छ ।

विगतमा पनि सांसदहरूलाई महँगो होटलमा राखेर आईएनजीओहरूले तालिम दिने गरेका छन् । जसले लगानी गर्छ, स्वभाविकरूपमा केही स्वार्थ राखेर नै लगानी गर्छ । यस्तो विषयमा किन संघीय सांसद बोल्न सकिरहेका छैनन् ? के सांसदहरूलाई तालिम र प्रशिक्षण दिने औकात सरकारसँग नभएको हो त ? कानुन निर्माण गर्दा प्रभाव पार्न सकिन्छ र आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आईएनजीओहरूले तालिमको नाममा लगानी गर्दै आएका छन् ।

सांसदलाई मात्र होइन । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत विभिन्न एनजीओले तालिमको नाममा कार्यक्रम गर्दै आएका छन् । दाताको सहयोग लिन आवश्यक छ कि छैन भनेर निर्णय गर्ने सरकार हो । सांसदलाई प्रभावित पार्ने गरी खुलेआमरूपमा सरकारको निरीहता प्रदर्शन हुने गरी सञ्चालन हुने तालिम रोक्नुपर्छ । सरकारले सांसदका लागि आवश्यक तालिमको व्यवस्था गर्नतिर ध्यान दिनुपर्छ । सांसदलाई नै आईएनजीओले तालिम दिनुपर्ने अवस्था रहेपछि बाँकी अन्य क्षेत्रको हालत के होला ? सरकारले आगामी दिनमा नागरिकलाई नै लज्जाबोध हुने गरी यसरी सांसदलाई आईएनजीओले दिने तालिमहरू बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्