प्रधानमन्त्रीज्यू, खोई कहाँ छ सुशासन ?



पुष्करलाल श्रेष्ठ

देशभरका अखबारका पानाहरू दिनहुँ हत्या, हिंसा, बलात्कार, दुर्घटना, ठगी, मूल्यवृद्धि, भ्रष्टाचार, तस्करी, अन्याय, अत्याचार र अनियमितताका समाचारले भरिएका हुन्छन्। तैपनि हाम्रा प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू सुशासन ! सुशासन !! सुशासन !!! भन्न छाडेका छैनन्। नेपालको वर्तमान अवस्थालाई हेर्दा प्रधानमन्त्री केपी ओलीले चलाउनुपर्ने मुलुक अहिले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चलाउन खोजिरहनुभएको छ भने कलाकार ‘धुर्मुस’ले देखाउनुपर्ने प्रहसन प्रधानमन्त्री केपी ओलीले देखाइरहनुभएको छ।

त्यसो नहुँदो हो त महाभूकम्पपछि दोस्रोपटक प्रधानमन्त्री भइसकेको अवस्थामा समेत पीडित जनताका लागि बसोबासदेखि सरकारी अस्पताल सुधारसम्मका लागि सरकारले गर्नुपर्ने काममा कलाकार ‘धुर्मुस’ खटिरहनुपर्ने थिएन। तैपनि प्रधानमन्त्री केपी ओली भने आफ्ना हरेक भाषणमा समृद्ध नेपाल, सुखी नेपाली, सुशासन जस्ता शब्दहरू सुगा रटेजस्तै रट्न छोड्नुहुन्न। सर्वोच्च अदालतमा विचाराधिन रहेको बालकृष्ण ढुंगेलको हेर्दाहेर्दैको मुद्दा फैसला हुनुअघि नै बालकृष्ण ढुंगेल जेलबाट रिहा भइसक्दासमेत प्रधानमन्त्रीको सुशासन ल्याउने कुरा सुनिरहनुपरेपछि त अहिले नेपाली जनताको कान पनि पाकिसकेको होला।

अर्को एउटा आश्चर्य लाग्दो कुरा, आफ्नो पुरानो मागलाई लिएर फेरि आमरण अनशन बस्ने चेतावनी दिनुभए पनि हिजो अदालतमा बेथिति हुन लाग्यो भन्दै आमरण अनशनमा उत्रिनुभएका डा. गोविन्द केसी आज अदालतमा चलिरहेको हेर्दाहेर्दैको अत्यन्त गम्भीर प्रकृतिको मुद्दालाई समेत लत्याउँदै कानुनको खिल्ली उडाउने सरकारी निर्णयमा भने मौन बस्नुभएको छ।

त्यसो त डा. केसीको हरेक अभियानमा साथ दिँदै आइरहेको विवेकशील साझा पार्टीले सरकारको यो निर्णयप्रति कडा आपत्ति जनाइसकेको छ। साथै आफ्नै कारणले प्रधानन्यायाधीश गोपाल पराजुली पदबाट हटिसकेकाले आफ्नो अभियान पूरा भइसकेको भन्दै डा. केसी सन्तोष मानेर चुपचाप बस्नुभएको पनि हुन सक्छ।

नेपालको वर्तमान अवस्थालाई हेर्दा प्रधानमन्त्री केपी ओलीले चलाउनुपर्ने मुलुक अहिले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चलाउन खोजिरहनुभएको छ भने कलाकार ‘धुर्मुस’ले देखाउनुपर्ने प्रहसन प्रधानमन्त्री केपी ओलीले देखाइरहनुभएको छ।

जे–जस्तो भए पनि हिजो उहाँले अदालतमाथि भ्रष्टाचार, स्वेच्छाचारिता, राजनीतिक दलको मतियार भनेर जुन किसिमको आरोप लगाउँदै आउनुभएको थियो, बालकृष्ण ढुंगेलको रिहाइ त्योभन्दा धेरै ठूलो गम्भीर प्रकृतिको मुद्दा भएको कुरामा सायदै कसैको विमति नहोला। कल्पना गरौं, उज्जैन श्रेष्ठ र गणेश श्रेष्ठ जस्ता नौजवान छोराको हत्या अनि आफ्नै अगाडि बाबु गणेश श्रेष्ठको गोली हानी हत्या भएको पीडा सहन नसकेर आत्महत्या गरेकी नातिनी रञ्जनाको लास हेरेर बस्न विवश ८३ वर्षकी बूढीआमा रामकुमारी श्रेष्ठले भोग्नुपरेको कहालीलाग्दो यो घटना तपाईं हाम्रो घरपरिवारले भोग्नुपरेको भए के गति हुन्थ्यो होला ?

यो घटनामा यस स्तम्भकार माओवादी नेता बालकृष्ण ढुंगेललाई मात्र दोष दिने पक्षमा छैन। उहाँले दाबी गर्नुभए जस्तै यो विशुद्ध राजनीतिक घटना पनि हुन सक्ला। १७ हजार नेपालीको रगतमा होली खेलेका, खेल्न लगाएका र त्यस बेला रमिते बनेर तमासा हेरिरहेका सबै नेतालाई चुनावमा जिताएर हामीले ठूलो पुरस्कार दिइसकेका छौं भने बालकृष्ण ढुंगेल मात्र आजीवन जेलमा कोचिएर सजाय भोगिरहनुपर्छ भन्ने कुरा पनि आउँदैन। चिन्ता त यहाँ ‘बूढी मरी भन्दा पनि काल पल्केला कि’ भन्ने डर मात्र हो।

https://youtu.be/LodQsPnHz5k

ढुंगेलको यस घटनालाई लिएर स्वयं प्रधानमन्त्री केपी ओली रक्षात्मक खेल खेल्नका लागि मैदानमा उत्रिनुभएको छ। कानुनको रक्षाका लागि अहोरात्र खटिनुपर्ने उहाँले आफ्नै पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बालकृष्ण ढुंगेलको रिहाइ पूर्णरूपमा कानुनसम्मत भएकाले खुद्रा–त्यान्द्रा समाएर विरोध गर्नुको कुनै अर्थ नरहेको भन्दै प्रतिपक्षी कांग्रेसलाई समेत हकारिसक्नुभएको छ। त्यसको अघिल्लो दिन पनि प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेता गगन थापाले संसद्मा दिएको अभिव्यक्तिको जवाफ दिँदै आफू राजालाई हटाएर गणतान्त्रिक नेपालको प्रधानमन्त्री भइसकेकाले थापाले आरोप लगाएको जस्तो आफू ‘महाराज’ नभएको जवाफ दिनुभएको थियो।

त्यसो त राजालाई न नेपाली जनताले हटाएका हुन्, न केपी ओलीले, न त पुष्पकमल दाहालले नै ? पहिले त यस स्तम्भकारलाई पनि नेपाली जनताको साथ लिएर उहाँहरूकै जोडबलले राजालाई हटाउन सफल भएको हो कि जस्तो लागेको थियो। तर, पछि स्वयं भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले कतारको अलजजिरा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै र भारतकै पूर्वपरराष्ट्र सचिव श्यामशरणले भारतीय अखबारहरूमा लेख नै लेखी राजालाई हटाएर नेपालमा गणतन्त्र ल्याउनुमा भारतले ठूलो भूमिका खेलेको कुरा आएपछि मात्र यस स्तम्भकारलाई पनि नेपालमा गणतन्त्र कसले र कसरी ल्याइएको रहेछ भन्ने कुरा थाहा भएको हो।

लगभग दुई तिहाइ बहुमत पाएर प्रधानमन्त्री बनेका केपी ओलीको पछिल्लो बोली र व्यवहारलाई हेर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि त झन् अहंकार मात्र होइन अधिनायकवादको समेत गन्ध आउन थालेको महसुस हुन्छ। उहाँले आफ्ना हरेक भाषण र टिप्पणीहरूमा प्रतिपक्षी कांग्रेसलाई अत्यन्तै हल्काफुल्का शब्दहरूको प्रयोग गरी उडाउने गर्न थाल्नुभएको छ। कमजोर भयो भन्दैमा प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर प्रतिपक्षीमाथिको यस्तो व्यवहार भोलि गएर उहाँकै लागि प्रत्युत्पादक हुन सक्छ भन्ने कुराको समेत ख्याल राखिएको देखिँदैन। किनभने कमजोर नै भए पनि प्रतिपक्षीलाई उडाउनु भनेको जनतालाई उडाउनुसरह हो।

प्रधानमन्त्रीज्यू, सधैं उखान टुक्का र राइट ब्रदर्सले विमानको आविष्कार गर्नुभन्दा पहिले नै नेपालमा विमान बनिसकेको जस्ता हल्काफुल्का कुरा गरेर मात्र अब यो देश चल्दैन। प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर तपाईंले भर्खरै मात्र पनि अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न सफल नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको त्यत्रो मेहनतलाई ‘दुई÷चार डल्ला के फ्याँकेका थिए, चम्केछन्’ भनी हल्काफुल्का टिप्पणी गर्नुभएको छ। तपाईंको टिप्पणी सुन्दा तपाईंले डल्लाको संज्ञा दिनुभएको त्यो बलको वजन र महत्त्वबारे तपाईंलाई केही पनि ज्ञान नभएको पुष्टि हुन्छ। तपाईंले डल्ला भन्नुभएको त्यो बल फ्याँक्न तपाईंले सोचे जस्तो त्यति सजिलो छैन, प्रधानमन्त्रीज्यू।

https://youtu.be/qQ9HAg1c03U?t=48

त्यस्तै बल लागेर भारतका राष्ट्रियस्तरका क्रिकेट खेलाडी रमण लाम्बा र अस्ट्रेलियाका राष्ट्रिय क्रिकेट खेलाडी फिलिप हग्स जस्ता दुई होनहार क्रिकेटरको मृत्यु भइसकेको छ। यस स्तम्भकार स्वयं फुटबल र ब्याडमिन्टनको राष्ट्रियस्तरको खेलाडी भएको नाताले खेल मैदानभित्र पुगेपछि खेलाडीले कति मेहनत, तनाव र दबाब झेल्नुपर्ने हुन्छ भन्ने कुराको राम्रो अनुभव छ। खेल मैदानभित्र पसेर खेल खेल्नुभनेको नेपालमा जस्तो उट्पट्याङ कुरा गरेर फोहोरी राजनीतिक खेल खेल्नु जस्तो सजिलो हुँदैन, प्रधानमन्त्रीज्यू।

प्रधानमन्त्रीज्यू, खोई, कहाँ पुग्यो तपाईंको नेपाली जनताको घर–घरमा ल्याउने ग्यास योजना ? पानीजहाज त हामी राजधानीमा हाल परिरहेको पानीले सडक जाम हुने गरी बनेका पोखरीमा डुबेको आफ्ना साइकल, बाइक र गाडीमै बसेर दिनहुँ अनुभव गरिरहेका छौं। तपाईंले भ्रष्टाचारीको मुख हेर्दिनँ त भन्नुभएको छ।

एकपटक भेष बदलेर आफैं मालपोत कार्यालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, अदालत परिसरतिर छिर्नु भो भने पनि आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काका प्रशंसक तपाईंले नचाहेर पनि आफ्नो अनुहार ऐनामा हेरेजस्तो छर्लङ्ग देख्नुहुनेछ, भ्रष्टाचारीहरूको अनुहार। नेपाललाई समृद्ध बनाएर सबै नेपालीलाई सुखी बनाउने दाबी गरिएको तपाईंको बजेट पेस भएको चौबीस घण्टा नबित्दै जनता सडकमा उत्रन बाध्य हुनुपरेको छ।

एकातिर तपाईंको विद्वान अर्थमन्त्री डा. युवराज खतिवडा पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशी लगानीमा बनाउने घोषणा गर्नुहुन्छ। अर्कोतिर तपाईं स्वयं अध्यक्ष भएको लगानी बोर्डले ‘होइन… होइन… चीनले नै बनाउने हो’ भन्दै वक्तव्य निकाल्छ। यस्तो केटाकेटीपनले कसरी बन्छ समृद्ध नेपाल ?

https://youtu.be/DpaptLglYLo

हिजो मिति २०७५ जेठ २४ गते बिहीबार प्रकाशित भएका अखबारहरूको हेडलाइन मात्र हेर्ने हो भने पनि पानी जमेका बेहाल सडकहरूको तस्वीरसहित ‘सडक हो कि धान रोप्ने खेत ?’, ‘चम्किलो देखाउन तरकारीमा विषादि’, ‘आईएनजीओको तालिममा सांसदको लर्को’, ‘अदालतमा नक्कली कागज पेस’, ‘दातृ राष्ट्रको २५ अर्ब आईएनजीओ मार्फत’, ‘बर्सेनि बढिरहेछ बलात्कार’, ‘१३ सय बिघाह वन क्षेत्र अतिक्रमण’, ‘नेपाली ज्यानमा विदेशी औषधि परीक्षण’, ‘दाताको खर्चमा सांसद तालिम’, संसद् नियमावली नहुँदा संवैधानिक अंग अपूर्ण’, ‘उडान कार्यविधि डिजाइन नबनाई पोखरा विमानस्थल निर्माण’ आदि आदि।

अरू त अरू तपाईंकै सरकारी मुखपत्र गोरखापत्रले समेत उपत्यकाको पुनर्निर्माण सुस्त भनी प्रथम पृष्ठमा समाचार छापेको छ। खोई त कहाँ खोज्ने तपाईंले बाँडेको सपनामा सुखी जीवनको भविष्य देखेका नेपाली जनताले तपाईंको सरकारले बनाएका नयाँ योजनाहरू र सुशासनको अनुभूति हुने समाचारहरू ? तैपनि तपाईंहरू सुशासन ! सुशासन !! सुशासन !!! भन्दै राग अलाप्न छोड्नुहुन्न।

प्रतिक्रिया दिनुहोस्