विराटनगरको आधुनिक बसपार्क निर्माण सम्पन्न, असारदेखि सञ्चालनमा आउने



सरोज यादव, विराटनगर  ।
लामो समयदेखि खाल्डा–खुल्डी र धुलोले सास्ती व्यहोरिरहेका विराटनगरबासीले तोकीएकै समयमा बसटर्मीनल(पार्क) निर्माण सम्पन्न भएपछि राहत महसुस गरेका छन् ।

पुरानो बसपार्क रहेकै स्थानमा निर्माण गरिएको बसटर्मीनल अब केही दिनभित्र सञ्चालनमा आउने भएको छ । बसपार्कको निमार्ण बहुसंख्यक काम सकिएको छ । बसपार्कमा पिच गर्न मात्र बाँकी रहेको विराटनगर महानगरपालिका इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो ।

सुविधा सम्पन्न बसपार्क बनाउने उद्देश्यले निमार्णकार्य सुरु भएको विराटनगर महानगरपालिको बसपार्क विटुमिन (अलकत्रा ) परिक्षण भएर आएपछि काम सक्न धेरैसमय नलाग्ने इन्जिनियर थापाको भनाइ छ ।
२०७३ फागुनदेखि सुरु भएको टर्मिनलको निर्माणअवधि १८ महिना तोकिएको थियो । यसरी हेर्दा तोकिएको समयभन्दा पनि अघिनै निर्माण कार्य सम्पन्न हुने छ ।

उक्त बस टर्मिनल नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निमार्णको काम सुरु गरेको हो । गौरी–पार्वती निर्माण सेवा काठमाडौँले बसपार्क निर्माण जिम्मा लिएको थियो । इन्जिनियर थापाका अनुसार जेठ अन्तिमतिर बसपार्क सञ्चालन आउने छ । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिरहेको बसपार्कमा साना ठूला गरी ५७ वटा बस ओहोरदोहोर गर्न मिल्छ । तत्काल यो बस पार्कको रुपमा संचालन भएपनि भविष्यमा टर्मिनलको रुपमा रहने महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो ।

टर्मिनल पेसेन्जर बोकेर जाने ठाउँ हो । टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठालगायत रहने छ । थापाका अनुसार भुँईतल्लामा टिकट काउन्टर, प्रतिक्षालय, दुई पसल रहने छ । पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ । निमार्ण कार्य सम्पन्न भएपछि बसपार्क पूर्व क्षेत्रकै सुविधा सम्पन्न हुने महानगरपालिका मेयर पराजुलीको भनाइ छ ।

बस टर्मिनलको भुँईतल्लामा प्रवेश र प्रस्थान द्वार राखिने छ । टर्मिनलमा निश्चित समयसम्म मात्र बस बस्न पाउने छन् । बसपार्क निर्माण सुरु भएपछि पश्चिमतर्फ अस्थायी बसपार्क निर्माण गरी निर्माण सुरु गरिएको हो । आयोजनाहरु समयमा निर्माण नभएर आमसर्वसाधारण हैरान भइरहेको अवस्था विराटनगर महानगरपालिकाको बसपार्क समयमै निर्माण भएर उदाहरणीय बनेको छ ।

यसले सम्बन्धित निकायले चाहेमा काम समयमै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्