सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’



नरेन्द्र केसी, घोराही, दाङ ।
सशस्त्र प्रहरी बल नेपालले मंगलवारदेखि भारतीय सिमाना जोडिएको दाङको क्षेत्रमा एक हप्ते फोर्स मार्च शुरु गरेको छ ।

सिमा क्षेत्रमा हुनसक्ने अबैध चोरीपैठारी, सिमा क्षेत्र तथा दशगजा क्षेत्रको रेखदेख, सिमा स्तम्भहरुको निरीक्षण र अनुगमन, सिमा क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दालाई सुरक्षाको प्रत्याभूति र भारतीय सशस्त्र सीमा बलसँगको समन्वयको लागि फोर्स मार्च शुरु गरिएको हो ।

दाङको पूर्वी नाका अर्नादेखि पश्चिम भौवा नाकासम्म फोर्स मार्च गरिने सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरिक्षक इश्वर डिसी रसशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय लमहीकासशस्त्र प्रहरी निरिक्षक टेकराज पोख्रेलको कमाण्डमा २ वटा टोली परिचालन गरिएको छ । फोर्स मार्चका समयमा सिमा क्षेत्रमा बस्ने स्थानिय बासिन्दाहरुसँग अन्तरकृया गरी त्यहाको सुरक्षा अबस्थाबारे जानकारी लिने र जिल्लाका बिकट स्थानहरुमा सुरक्षा फौजको उपस्थितिमार्फत अबैध कृयाकलापहरु नियन्त्रण गरिने सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय लमहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले जानकारी दिनुभयो । यसले नाका क्षेत्रको सुरक्षा अवस्थामा सुधार आउने उहाँको विश्वास छ ।

दाङमा भारत तर्फ ८३ किलो मिटर सीमा क्षेत्र रहेको छ भने जम्मा ३१ ओटा सिमा नाका रहेका छ्न । दाङको भारततर्फको सिमा क्षेत्र नेपालकै बिकट सिमाक्षेत्र अन्तर्गत पर्दछ । सीमा क्षेत्रमा आवागमनका लागि मोटरबाटो नहुँदा सीमावासीले निकै सास्ती भोगिरहेका छन् । जसले गर्दा बेलाबेला भारतीय ज्यादति सहन बाध्य छन् । भारतीय ज्यादति सहन नसेर २०६३ सालमा नाकावासीले ठूलो आन्दोलन गरेका थिए । उनीहरु वस्ती छाडेर लमहीको कर्री सामुदायिक वनमा आएर बसेकाले यो आन्दोलनलाई कर्री आन्दोलन पनि भनिन्छ ।

यो आन्दोलनपछि दाङको सीमा क्षेत्रमा राज्यको ध्यान गए पनि अहिलेसम्म विकास र शान्ति सुरक्षाको अवस्थामा सुधार आउन नसकेको नाका क्षेत्रका अगुवा श्यामबहादुर झाँक्रीले बताउनुभयो । उहाँका अनुसार खंग्रानामा रहेको एउटा प्रहरी चौकीका भरमा पश्चिम नाकाको सुरक्षा ब्यवस्था निर्भर छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय लमहीमा राखिएको छ । पछिल्लो समयमा कोइलाबासमा बोर्डर आउट पोष्ट स्थापना गरेपछि सीमा क्षेत्रको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको स्थानीय बताउँछन् ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिलरको पुननिर्माण पनि अहिले गरिएको छ । भारतीय पक्षबाट पिलर सारिएको स्थानीयले पटकपटक गुनासो गरेपछि गत बर्षदेखि सरकारले दुबै देशको तर्फबाट पिलर बनाउन शुरु गरिएको थियो । अहिले पनि नाकावासीहरु भारतीय औषधि, सामान, भारतीय नोट र भारतीय सञ्चारमा निर्भर रहेको नाका क्षेत्रका अगुवा झाँक्रीले बताउनुभयो । सीमापारि भारतीय क्षेत्रमा सडक, बजार, सञ्चार, स्वास्थ्य, सुरक्षा सबै ब्यवस्था छ भने नेपालमा त्यसको अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्