२० वर्षपछि खानेपानी संञ्चालनमा,स्थानीय दङ्ग



उत्तम नेपाल, भद्रपुर ।
झापाको दक्षिणी क्षेत्रमा रहेको साविक पृथीवीनगर गाविस ५ हाल भद्रपुर नगरपालिका २ मा एउटा गौरीशंकर नाम गरेको वस्ती छ ।

वस्ती विकासको लागि २०४० सालमा नेपाल पुर्नरबास कम्पनी झापाले खाली जग्गामा स्मामित्व दिएर ६ सय घरलाई जग्गा वितरण गरि सुकुमबासीलाई बसोवास गराएको गाउँ हो ।

धरातलियका आधारमा वस्ती अग्लो स्थानमा रहेको छ । मानिसले वास त पाए तर पानी पाएनन । पानीको लागि रोबर पम्प,डिप र स्यालो ट्रिपकल,तारा पम्पबाट पानी आउन सफल नभएकोले प्राकृतिक रुपमा उम्रिएको पानी लिन आधा घण्टा भन्दा बढी धाएर घरमा काम चलाउनु पर्ने बाध्यता थियो ।

आवश्यक्ताको लागि वस्तीमा रहेका तत्कालिन केही अगुवाले तेह्रवर्षपछि ०५३ असारमा सवैलाई भेला गराएर हस्त बहादुर महतलाई अध्यक्ष बनाई सात जनाको गौरीशंकर खानेपानी तथा उपभोक्ता समिति गठन गरे ।

स्वर्गीय मंगल सिं लिम्बुले भीम बहादुर राईबाट २ कठा १८ धुर जग्गालाइ १८ हजारमा खरिद गरि खानेपानीको लागि निःशुल्क जग्गा दिए ।

वस्तीमा रहेका अन्यले किस्ता बन्दी गरि रकम जम्मा गरेर समितिले थप २ कठा १८ धुर जग्गा खरिद गर्यो । समितिको वैठकले स्वच्छ र सफा पानी खुवाउने उद्देश्य राखि ०५४. ५५सालमा तत्कालिन श्री ५ को सरकारबाट होभरहेड टंकी निर्माणको लागि ३० प्रतिशत जनश्रमदान हुनेगरि ५ लाख रकम निकासा प्राप्त गर्यो ।
निर्माणको लागि एडिभिको सहयोगमा ३० मीटरको दुइथान ६ इन्चको बोरिङ् र सवा एकलाख घन मीटरको ओभरहेड टंकी गरि ०६२।६३मा ७१ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न भएपनि पानी आउन सफल भएन । त्यो वेला सार्वजानिक ९ वटा धारा मात्र विस्तार गरिएको थियो ।

समस्या देखिरहेको अवस्थामा अध्यक्ष महतलाई तत्कालिन डिभिजन प्रमुख जनक अधिकारीले ६३ साउन १ गते जानकारी नै नगराई पत्रमा हस्ताक्षर गराई हस्तान्तरण गरिएको पत्र दिए । सुकुमबासीबाट किस्ता स्वरुप उठाएको रकमसहित लाखौ लगानी वालुवामा पानी भयो ।

समस्या जस्ताको तस्तै । समस्यालाई मध्यनजर गरी पुनः ०७०चैत्रमा स्थानीय फाल्गूनन्द लिम्बुको अध्यक्षतामा १९ जना सल्लाहकारसहितको समिति गठन भयो । समितिका अध्यक्ष लिम्बुको सक्रियतामा असफल भएका बोरिङ् हटाई १२ इन्चको १सय मीटरको बोरिङ् खरिद गरि ०७२ चैत्र १ गतेबाट चारओटा घरमा धारा जडान गरि हालसम्म गौरीशंकर र सगरमाथामा गरि १ सय ९० घरलाई पानी बितरण गरिएको लिम्बुले बताए ।

बिस बर्षपछि गाउँबासीलाई पानी खुवाउन सफल भएको उनि बताउँछन् । आफुले दुईवर्षको अवधिमा पानी प्रशोधन, चिया वगान नजिकै भएका कारण विषादी मिसाउट हुने डरले कम्पाउण्ड वाल लगाई सुरक्षित तरिकाले पानी उपभोग गराइरहेको उनले दाबी गरे । पानीको अभाव हुननदिन पुनः ०७४ सालमा पहिले खरिद गरेको बोरिङ जस्तै थप एक थान जडान भइसकेपनि बजेट अभावले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ ।

मेयर जीवन कुमार श्रेष्ठले वोरिङ सञ्चालनको लागि केही रकम उपलब्ध गराउने मौखिक आश्वासन दिएको उनले बताए । आफुले कार्यभार सम्हालेपछि पानी वितरणको क्रममा हालसम्म एक करोड भन्दा माथि खर्च भइसकेको उनले जनाए । नगरले सहयोग गरेमा यो क्षेत्रका सवै घरमा धारा पुर्याउने योजना रहेको उनको भनाइ छ । यो क्षेत्रमा सातसय घरधुरी रहेको उनले जानकारी दिए ।

पानीको अभाव भइरहेको अवस्थामा घरैमा धाराबाट स्वच्छ तथा सफा पानी पिउन पाएकोमा स्थानीय हरिप्रसाद न्यौपानेले दङ्ग छन् । पानीको लागि केही गर्दापनि नभइरहेको अवस्थामा समितिको अगुवाइमा हाम्रो लागि पानी उपभोग गर्न पाएकोमा प्रशंसा गरे । यो वस्तीमा पानी नहुँदा धेरै टाढावाट साइकलमा अल्याउनु पर्ने बाध्यता समाप्त भएको गौरीशंकरकी हाङमा रानीलिम्बुले बताइन् ।
महिलालाइनै बढी पानीको खाचो पर्ने हुदा विगतमा धेरै कष्ट झेल्नु परेको स्मरण गर्दै अहिले आफुलाई जति पानी चाहिएपनि अभाव नभएको उनको भनाई छ ।

पानीको व्यवस्था गर्न ०५३ सालदेखि धेरै दुःख झेलेर यहाँसम्म आइपुगेको तत्कालिन सचिव तथा वर्तमान सल्लाहकार केशव खवासले इतिहाँस सुनाए । छलफल गरेको २० वर्षपछि स्वच्छ पानी खुवाउन सफल भएकोमा निकै खुसी लागेको खवास बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्