निजगढ अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा स्थायी संरचना निर्माण तिब्र



गोकुल घोरसाइने, बारा ।

प्रस्तावित निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने बाराको टागियाबस्तीमा स्थायी संरचना बनाउने क्रम तिब्र बनेको छ ।

प्रस्तावित क्षेत्रभित्र कुनै पनि किसिमको संचरण निर्माण नगर्न आयोजना कार्यालयको जानकारीका बाबजुद पनि जितपुरसिमरा उपमहानगरपालिकाले स्थानीयको पिउने पानी सुविधाको लागि भन्दै डिप बोरि खन्ने कार्य शुरु गरेको हो ।

दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको प्रस्तावित चार किल्ला भित्र निजी वा सरकारी लगानीमा नया संरचना निर्माण गर्न नपाउने भनी आयोजना कार्यालयले एक बर्षअघि नै सार्वजनिक सुचना गरेको भएपनि उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालयले ठेकेदारसंग संझौता गरी २० लाख लागतमा खानेपानीको ४ थान डिप बोरि खन्न लागेको हो ।

यसअघि सोही स्थानमा बोरिङ्ग संचालन गर्न खोज्दा रोक्ने जिल्ला वन कार्यालय र स्थानीय प्रहरी प्रशासन अहिले भने मौन देखिएको छ । दुई बर्षअघि स्थानीयले रकम संकलन गरेर आयोजना क्षेत्रको जमिनमा बोरिङ्ग हाल्न खोज्दा वन कर्मचारी र प्रहरीले मेसिन नियन्त्रमा लिएर बोरिङ्ग गर्न रोक लगाएका थिए ।

विमानस्थल निर्माण क्षेत्र भित्र हाल भइरहेको डिप बोरि धसाउने काम बारे विमानस्थल आयोजना कार्यालयलाई कुनै जानकारी नदिईएको दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजना सिमरा बाराका वरिष्ठ अधिकृत एंव सुचना अधिकारी विजय यादवले बताए । विमानस्थल निर्माणको काम बाहेक चार किल्ला भित्र थप कुनै पनि संरचना निर्माण गर्न नपाइने उनले बताए । ‘विमानस्थल निर्माणको क्रममा बस्ति हटाउने तयारी भइरहेको छ, स्थान्तरण गरिने वस्तिमा यति ठुलो लगानी गरेर खेर फाल्नु उपयुक्त हुदैन ।’— उनले भने ।

टागियावस्तिमा अहिले १४ सय ७६ घरधुरी परिवारमय ८ हजारको बसोबास रहेको छ ।

सरकारले आयोजनाको वातावरणिय प्रभाव मुल्याकंनको प्रतिवेदन समेत स्वीकृत गरी सकेको छ । प्रतिवेदनमा उक्त क्षेत्रमा पर्ने करिव २५ लाख रुख कटान हुने र टागियावस्ति स्थान्तरण गर्नु पर्ने उल्लेख छ ।

नेपाल नागरिक उड्यान प्राधिकरण र नेपाली सेनासंग रुख कटानको सम्झौतापछि सेनाले रुख कटान गर्ने तयारी भइरहेको आयोजनाका वरिष्ठ अधिकृत विजय यादवले जानकारी दिए ।

उनले विमानस्थल क्षेत्रको पश्चिम सिमानामा पर्ने पुर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फको पसाहा खोला किनारमा ७५० मिटर लम्बाईको तटबन्ध निर्माण पुरा भइसकेको पनि जानकारी दिए । त्यसैगरी आयोजना क्षेत्रको पुर्वतर्फको लालबकैया खोलामा तटबन्धका लागि सर्भे र डिजाईनको काम भई रहेको पनि यादवले जानकारी दिए ।

आयोजना कार्यलयले प्रस्तवित विमान स्थल क्षेत्रको चार किल्ला छुट्याएर तार घेरावारा गर्ने कार्य समेत शुरु गरेको छ । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ८ सय ७५ विघा क्षेत्रफल जमीन मध्ये काटगाउको ११० विघा नम्बरी जग्गा अधिग्रहणको प्रकृया शुरु भएको भइसकेको छ ।

वस्तिका १४० जनाले मुआब्जा लिनका लागि निवेदन दिएकोमा ५२ जनालाई मुआब्जा वितरण गरि सकेको छ । आयोजना कार्यालयले टागियावस्तिका बासिन्दालाई समेत मुअब्जा वितरण गर्ने बारेमा अध्ययन गरिरहेको जनाएको छ ।

त्यसैगरी आयोजना कार्यालयले तटबन्धको लागि ७ करोड ५० लाख, जग्गा मुआब्जा बापत २२ करोड र प्रशासनिक खर्च गरी अहिले सम्म ३७ करोड रुपैया खर्च गरिसकेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्