सुख्खा बन्दरगाहमा आगलागी हुँदा दुई करोड स्वाह !



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर सार्ने मेशिनमा आगलागी हुँदा अन्दाजी दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

बन्दरगाहमा एनसी ०२० ०१४९ नम्बरको ह्यास्टर अथवा रिटेस्टेकर मेशिनमा आगलागी भएको हो ।हाईवे रोडलाइन प्राली लेखिएको मेशिनको इन्जिन सट भएर आगलागी भएको अनुमान छ । आगलागीबाट मेशिन जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसी राजन लिम्बुले जानकारी दिए । अपरेटर राउतको दायाँ हातमा सामान्य चोट लागेको छ ।

बुधबार राति १०ः४० बजेतिर लागेको आगो वीरगन्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोगमा साढे ११ बजेतिर निभाइएको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएर रिटेस्टेकरमा आगलागी हुँदा बन्दरगाहमै आगलागी हुने सम्भावना भएपनि कन्टेनर खाली भएका कारण थप क्षति हुन नपाएको नेपाल इन्टरमोडल यातायात विकास समिति निमित्त प्रमुख उज्जवल कुमार झाले जानकारी दिए ।

सुख्खा बन्दरगाह भित्रको फायर फाइटिङले काम नगरेकाले रिटेस्टेकर पूर्ण रुपमा जलेर नष्ट भएको उनको भनाइ छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिको स्वामित्व रहेको ड्राइपोर्ट हिमालयन टर्मिनल प्रालीले ठेक्कामा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्