अन्तरिक्ष यात्रीलाई विज्ञान मन्त्री बनाइयो



म्याड्रिड, (एजेन्सी)
स्पेनका पहिलो अन्तरिक्ष यात्री पेड्रो डुक्युलाई त्यहाँको नयाँ सोसलिस्ट सरकारले बुधबार विज्ञान मन्त्री नियुक्त गरेको छ । प्रधानमन्त्री तथा स्वघोषित महिला अधिकारवादी पेड्रो सान्चेजले आफ्नो मन्त्रिमण्डलामा महिलाको संख्यालाई बढावा दिने अनुमान गरिएको छ ।

सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री मारियानो राजोयको सरकारमा पुरुष सदस्यको बाहुल्य रहेको छ । नयाँ सरकारमा उपप्रधानमन्त्री, अर्थ तथा वित्त मन्त्रीमा महिला रहने बलियो सम्भावना रहेको छ ।

५५ वर्षीय डुक्यु पछिल्लोपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष कन्द्र (आईएसएस) मिसनको क्रममा सन् २००३ मा अन्तरिक्ष पुगेका थिए । पेसाले एरोनोटिकल इन्जिनियर र तीन सन्तानका पिता डुक्युलाई सन् १९९२ मा युरोपेली अन्तरिक्ष निकायको अन्तरिक्षयात्री टोलीका लागि छनोट गरिएको थियो ।

उनी सन् १९९८ मा अन्तरिक्षमा पुग्ने पहलो स्पेनी बन्न सफल भएका थिए । केप क्यानाभेरलबाट उडेको नासाको एसटीएस–९५ मिसनमा संलग्न रहेका उनले स्पेस सटलको ९ दिने अभियानमा विशेषज्ञको भूमिका निभाएका थिए । उनी र एसटीएस–९५ चालक दलका अन्य तीन सदस्यलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय सहयोगका लागि प्रिन्सेस अफ अस्ट्रियाज अवार्ड प्रदान गरिएको थियो ।

२००३ मा १० दिने सेर्भान्तेस आईएसएस मिसनमा भाग लिने क्रममा उनले रुसी सोयुज–टीएमएमा फ्लाइट इन्जिनियरको भूमिका निभाएका थिए । उनको औपचारिक पद विज्ञान, आधुनिककीरण तथा विश्वविद्यालय मन्त्री हुने स्पेनी अखबार एल पाइसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्