२ घण्टा खुलेको शेयर बजारमा, १३ दशमलव ९१ अंकको वृद्धि



नेपाल समाचारपत्र
काठमाडौं
लगानीकर्ताको विरोधका कारण मंगलबार दिनभर बन्द रहेको पुँजी बजारमा बुधबारको कारोबार सकारात्मक देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १३ दशमलव ९१ अंकले बढेको छ।

लगानीकर्ताको आन्दोलनका कारण दिउँसो १ बजेर ९ मिनेटमा मात्र बजार खुलेको थियो। कारोबार खुलेलगत्तै उकालो लाग्न शुरू भएको परिसूचक १ हजार २ सय ९५ को बिन्दुभन्दा माथि पुगे पनि बन्द हुने बेलासम्ममा परिसूचक १ हजार २ सय ८२ दशमलव ७५ अंकको बिन्दुमा कायम भएको छ। सरकारले गते शुक्रबारदेखि हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्ने निर्णय विरुद्ध लगानीकर्ताले आइतबारदेखि नै नेप्से कारोबारमा अवरोध गर्दै आएका थिए।

तर बुधबार तत्काललाई पुरानै विधिबाट कर निर्धारण गर्ने विषयमा अर्थ मन्त्रालय र लगानीकर्ताबीच सहमति भएपछि ढिला गरी कारोबार खुलेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बुधबार करिब २ घण्टा मात्रै बजार सुचारु भए पनि करिब २४ करोड रुपियाँबराबरको शेयर कारोबार भएको छ। १ सय ३८ वटा कम्पनीको ४ लाख ९७ हजार ५ सय ९२ कित्ता शेयर खरिदबिक्रीबाट २३ करोड ८९ लाख ३ हजार ३ सय ४४ रुपियाँबराबरको कारोबार भएको छ। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंकले बढेर २ सय ६९ दशमलव ९३ अंक कायम भएको छ।

बुधबारको कारोबारमा अन्य समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बीमा समूहको उपसूचक १ सय ४४ दशमलव ९९ अंकले वृद्धि भएको छ। बैकिङ समूह ११ दशमलव ४२ अंकले, होटल समूह ३० दशमलव शुन्य ६ अंकले, विकास बैंक समूह १६ दशमलव २४ अंकले, र जलविद्युत् समूह २४ दशमलव ५३ अंकले बढेको छ। त्यसैगरी, वित्त समूहको उपसूचक शुन्य दश १६ अंकले, उत्पादन समूहको उपसूचक २२ दशमलव शुन्य शुन्य १ अंकले, र लघुवित्त समूह ३४ दशमलव ९८ अंकले घटेको छ। अन्य समूहको उपसूचक भने ९ दशमलव शुन्य १ अंकले घटेको छ।

बुधबारको कारोबारमा सबैभन्दा धेरै नागबेली लघुवित्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा माईक्रो क्रेडिटका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव २४ प्रतिशतका दरले गुमाएका छन्। करिब २ घण्टाको कारोबारमा जम्मा १८ वटा कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्