बहुपयोगी भूकम्पीय भग्नावशेष पार्क



भूकम्पबाट क्षतिग्रस्त नेपालका केही सम्पदा क्षेत्रलाई जस्ताको तस्तै राखेर पर्यटकीय क्षेत्रका रूपमा प्रस्तुत गर्न सकिन्छ।

ध्रुव पौडेल

नेपालमा विनाशकारी भूकम्प गएको २ महिना पनि पुगेको थिएन।३ वर्षअघि किवीलगायत अन्य फलफूल खेतीसम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक कार्यशाला तथा तालिमको चिनियाँ, अंग्रेजी र नेपाली भाषाको अनुवादकका रूपमा काम गर्नका लागि चीनको सछुवान प्रान्तको सदरमुकाम छङ्तु पुगेको थिएँ। ३ हप्ते तालिमका २० सहभागीमध्ये अफगानिस्तान, पाकिस्तान र थाइल्यान्डकाबाहेक हामी ९ जना नेपाली थियौं। तालिमको स्थलगत अध्ययन भ्रमणका क्रममा १ दिन हामीलाई छङ्तुको काँठ क्षेत्र श्रीफाङ्गमा रहेको किवी बागवानीमा लगियो।

पर्यटकीय गन्तव्यको रूपमा विकसित गरिएको ‘सछुवान ५.१२ भूकम्पीय भग्नावशेष’ किवीको बागवानीबाट धेरै टाढा थिएन। (५.१२ ले मे महिनाको १२ तारिक जनाउँछ। संयोग नै मान्नुपर्छ, नेपालमा गएको भूकम्पको दोस्रो ठूलो कम्पन पनि वैशाख २९ अर्थात् मे १२ तारिखका दिन नै गएको थियो।) तालिम आयोजक संस्था सछुवान प्रान्तीय प्राकृतिक स्रोत विज्ञान प्रतिष्ठानका अधिकारीले हामीलाई भग्नावशेष अवलोकनको चाजोपाँजो मिलाइदिएका थिए।

ठ्याक्कै १० वर्षअघि, सन् २००८ मे महिनाको १२ तारिखका दिन सछुवान प्रान्तको वन छुवानलाई केन्द्रबिन्दु बनाएर ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो। भूकम्पले चीनमा मात्रै करिब ७० हजारको ज्यान लिएको थियो। लगभग ५० लाख चिनियाँका घर ध्वस्त भएका थिए। भूकम्पले झन्डै ४ लाख घाइते भएका थिए। करिब १८ हजार अझै बेपत्ता छन्। २ मिनेट लामो कम्पनका कारण सछुवान होेङ्ता रासायनिक तथा पेट्रोलियम कारखानासमेत भग्नावशेषमा परिणत भएको थियो। हामीलाई देखाउन भनि लगिएको उक्त भग्नावशेष क्षेत्र भूकम्पको केन्द्रबिन्दु वनछुवानबाट ५० किलोमिटर टाढा रहेको थियो।


वीभत्स देखिने कारखानाको भग्नावशेष क्षेत्र फलामको बारले घेरिएको छ। त्यसको सुरक्षार्थ सरकारी सुरक्षाकर्मी खटिएका छन्। रिमोटबाट खुल्ने र बन्द गर्न मिल्ने मूलगेटबाहिर दर्जन बढी विदेशी पर्यटक फोटा खिच्न व्यस्त देखिएका थिए। मूलगेटबाट छिर्नेबित्तिकै कविताको एउटा शिलालेख भेटिन्छ। भूकम्प गएको १ वर्ष पुग्नै लाग्दा चिनियाँ साहित्यकारलाई भूकम्पकै विषयमा कविता लेख्न लगाइयो। मुलुकभरिबाट संकलित कविताबाट सर्वाेत्कृष्ट छानेर त्यसलाई चिनियाँ र अंग्रेजी भाषामा कुँदेर राखिएको छ। अर्काे शिलालेखमा भग्नावेशष क्षेत्रको नाम, भूकम्प गएको मिति र समय लेखेर राखिएको छ।


संग्रहालय पुग्नुभन्दा अगाडिको भागमा भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा पत्थरको स्मृति स्तम्भ बनाइएको छ। स्मृति स्तम्भमा परम्परागत ठाडो अक्षरमा चिनियाँ भाषामा लेखिएको छ– ‘जस्तोसुकै चुनौतीको सामना गर्न वीर चिनियाँ जनतालाई कुनै कठिनाइ हुँदैन।’ एउटै भनाइलाई ठूला–ठूला अक्षरमा लेखेर त्यहींबाट देखिने हरियो पहाडमा राखिएको छ।

भूकम्प र त्यसपछिको महाविपत्तिलाई सम्पूर्ण चिनियाँले वीरतापूर्वक सामना गरेका थिए। स्तम्भनजिकै स्मृति पर्खालसमेत छ जहाँ पीडितका दुखान्त कथा, उद्धारकार्यमा चिनियाँले देखाएको साहसिक कदम र त्यसपछिको पुनर्निर्माण एवं विकासलाई पत्थरमै कुँदेर राखिएको छ। भूकम्पपछिको उद्धारमा चिनियाँ जनताले देखाएको ऐक्यबद्धतालाई समेत कलाले छर्लंग पारेको छ। पत्थरकलामार्पmत उद्धारकर्तालाई उच्च सम्मान दिइएको पनि प्रष्ट देखिन्छ।


भग्नावशेषको लगभग बीच भागमा रहेको संग्रहालयमा भूकम्पबाट क्षतिग्रस्त ठाउँबाट संकलन गरिएका स्कुले बालबालिकाका झोला र शैक्षिक सामग्री, स्थानीय जनताका सवारीसाधन, घरायसी प्रयोगका सामग्री आदिको संग्रह गरिएको छ। उद्धारकार्यको सिलसिलामा खिचिएका फोटा पनि संग्रहालयका प्रमुख आकर्षण हुन्। भग्नावशेषले श्रीफाङ्गका जनताको सहनशीलता र कठोर परिश्रमको झ–झल्को दिन्छ। तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन थाओ उक्त ठाउँमा पुगेर भूकम्पको उद्धार कार्यमा आफैं खटिएका थिए। उनले उद्धारकर्तालाई त्यही ठाउँबाट प्रत्यक्षरूपमा आवश्यक निर्देशन पनि दिएका थिए।


भूकम्पबाट क्षतविक्षत् यो ठाउँको २ हजार २ सय वर्ष पुरानो लिखित इतिहास भेटिन्छ। इशापूर्व २१० मा उक्त ठाउँ ‘च्रीफान को’ भन्ने सानो देशको रूपमा रहेको थियो। विकासक्रमसँगै सन् १९४९ मा नयाँ चीन (जनगणतन्त्र चीन) स्थापना भएपछिको पहिलो पञ्चवर्षीय योजनामा पारेर त्यही ठाउँमा रसायनिक तथा पेट्रोलियम कारखाना निर्माण गरिएको थियो।


भग्नावशेषको रूपमा यथास्थितिमा राखिएको उक्त कारखाना क्षेत्र एकै वर्षको मिहिनेतले पर्यटकको आगमन, चलचित्र छायांकन र अध्ययन केन्द्रको रूपमा विकासित गरेर वार्षिक अर्बौं रुपियाँ आम्दानी गर्ने स्रोत भएको छ। भूकम्प गएको एकै वर्षमा चीनले भौतिक संरचना, सांस्कृतिक, पर्यटकीयलगायत ६ सय ८० परियोजना पुनर्निर्माणका योजना सञ्चालन गरेको थियो, जसमध्ये यो भग्नावशेष क्षेत्र पनि एक हो।

भावी पुस्तालाई महाभूकम्पको जानकारी दिने र त्यसबाट भएको भौतिक एवं मानवीय क्षतिलाई जीवन्तरूपमा प्रस्तुत गर्ने उद्देश्यले उक्त भग्नावशेषलाई जस्ताको तस्तै संरक्षण गरेर राखिएको हो। त्यसलाई अवलोकन क्षेत्र, अतिथि स्वागत केन्द्र, भूकम्पीय भग्नावशेष संग्रहालय, मल्टिमिडिया प्रदर्शन कक्ष र प्रकोपसम्बन्धी चलचित्र छायांकनको आधार क्षेत्रका रूपमा विकसित गरिएको छ। यसलाई पर्यटकीय क्षेत्रमात्र नभएर अनुसन्धानकर्ताका लागि विशेष अनुसन्धान केन्द्र, वैज्ञानिक शैक्षिक केन्द्र र चलचित्र एवं टेलिभिजन निर्माणका लागिसमेत उपयोगमा ल्याइएको छ।

नेपालमा भूकम्प गएको ३ भन्दा वर्ष बढी भएको छ। पुनर्निर्माणमा देखिएको ढिलासुस्तीलाई लिएर अन्तर्राष्ट्रिय समुदायले नेपालको आलोचना गरिरहेका छन्। नेपालले पनि चीनको संरक्षित भग्नावशेषबाट पाठ सिकेर फाइदा लिन सक्ने प्रशस्त सम्भावना छन्। भूकम्पबाट क्षतिग्रस्त नेपालका केही सम्पदा क्षेत्रलाई जस्ताको तस्तै राखेर पर्यटकीय क्षेत्रको रूपमा प्रस्तुत गर्न सकिन्छ। भूकम्पीय शिक्षाको अध्ययन–अध्यापनका लागि नमुना प्रयोगशालाको रूपमा त्यसलाई विकसित गर्न सकिन्छ। भूकम्पपछिको पुनर्निर्माणमा आलोचना खेपेको सरकारलाई कम खर्चमा पूरा गर्न सकिने यो एउटा उदाहरणीय परियोजना हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्