वातावरण दिवसमा विविध कार्यक्रमः हरियाली पार्क सहित बृक्षारोपण



नेपाल समाचारपत्र, काभ्रे ।

वातावरण दिवसको अवसर पारेर जिल्लामा विविध कार्यक्रम आयोजना भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय, नीजि क्षेत्र र सहकारी क्षेत्रबाट समेत वृक्षारोपण गर्ने कार्यक्रम आयोजना गरिएका छन् ।
जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेल नगरपालिकाको देविस्थानमा रहेको धोविखोला सामुदायिक बनमा १ सय ५० वटा विभिन्न प्रजातिका विरुवाहरुको बृक्षारोपण गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला बन कार्यालय प्रमुख प्रेम खनाल, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, विष्णु दल गण काभ्रेका गणपति रामहरी केसी, नेपाली सेना, नेपाल प्रहरी, जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष विनोद सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे बन पैदावार ब्यवसायी संघका अध्यक्ष माधवमणी हुमागाई लगायतको सहभागितामा वृक्षारोपण गरिएको थियो । कल्की, धुपि मसलाका विरुवाहरु माटो र हावापानी सुहाउँदो बृक्षारोपण गरिएको जिल्ला बन कार्यालय काभ्रेका प्रमुख खनालले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा बसेको बैठकले आषाढ १५ भित्र जिल्ला बन कार्यालयबाट जिल्लाका सबै सरकारी कार्यालयमा कम्तिीमा एक÷एक फलफूलका विरुवा उपलब्ध गराउने र सम्वन्धित कार्यालयले आफ्नो हाता भित्र अनिवार्य रोपण गर्ने निर्णय गरेको छ । सबै स्थानीय तहमा बृक्षारोपण कार्य संचालन गर्न जिल्ला बन कार्यालयबाट विरुवा उपलब्ध गराउने, रोपण गरिएका विरुवा सम्वन्धीत सामुदायिक बन तथटा कार्यालयले संरक्षण गर्ने ब्यवस्था मिलाउने निर्णय भएको प्रजिअ राउतले जानकारी दिए । सबै सरकारी कर्मचारीहरुलाई घरको गमलामा भए पनि एउटा विरुवा रोप्न अनुरोध गर्ने निर्णय भएको छ ।

वातावरण दिवसकै अवसर पारी धुलिखेल नगरपालिका ७ स्थित सरस्वती बजारमा सरस्वती स्तम्भ सहित हरियाली पार्क निर्माण गरिने भएको छ । पार्कको शिल्यान्यास धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जुले गरेका थिए । पार्कको शिल्यान्यास पछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेलाई हरियाली शहरको रुपमा विकास गर्न वातावरण मैत्री पार्कहरु निर्माणमा जोड दिएको बताए । पर्यटन, शिक्षा र स्वास्थ्यसँगै वातावरणमा नगरपालिकाले विशेष ध्यान दिएको ब्याञ्जुले बताए । सरस्वती पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष इश्वरलाल मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्क निर्माणमा नगरपालिका, नीजि क्षेत्रको साझेदारी हुने बताईएको छ । कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।

वातावरण दिवसकै अवसरमा पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा साईकल ¥याली आयोजना गरिएको छ । बनेपाबाट शुरु भएको ¥याली पनौतीबाट बनेपा अपाङ्गचोक हुँदै संस्थाको कार्यालय जनागालमा पुगी समापन भएको थियो । प्लास्टिक प्रदुर्षण निर्मुल पारौ, सके पुनः प्रयोग, नसके बहिस्कार गरौ भन्ने नाराका साथ जिल्लामा विभिन्न स्थानमा विभिन्न संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्