हल्दीबारी गाउँपालिकामा बाटोको बिवाद चरम उत्कर्षमा



उत्तम नेपाल, भद्रपुर ।
हल्दीबारी गाउँपालिका भित्र निर्माण हुदै गरेका तथा सम्पन्न भइसकेका बाटोमा जताततै बिवाद देखिएको छ । जनप्रतिनिधिले कार्यभार सम्हाले पश्चात स्थानीयको आवश्यक्तालाई हेरेर काम गर्दैजाँदा केही त्रुटी तथा नियमसङ्गत नभएको भन्दै जनप्रतिनिधिको कार्यशैलीका कारण बाटोमा बिवाद देखिएको स्थानीयले आरोप लगाएका हुन् ।

पर्यटकिय क्षेत्रको सम्भावनालाई लिएर गाउँपालिकाले ३ देखि ५ नम्बर वडामा रहेको चारकोसे झाडी र अवादीको सीमानामा निर्माण हुदै आएको बाटोमा जनप्रतिनिधि र उपभोक्तबीच बिवाद बढेर गएको छ । बिवादले उग्ररुप लिएका कारण केही दिनअघि गाउँपालिका कार्यालयमा दुवैपक्षमा तनाव उत्पन्न भएको थियो । गाउँपालिकाले दिएको स्टमेटको आधारमा काम सम्पन्न भइसकेपनि भूत्तानीका लागि प्रक्रिया अघि बढाउन आलटाल गरेको उपभोक्ता समितिका अध्यक्ष सन्तलाल मेचेले आरोप लगाए ।

हामीले गरेको काममा कुनै कमी भएमा पुनः निर्माण गर्नेछौ तर काम पास गर्नका लागि रकमको बार्गेनिङ् गरि १ लाख ६ हजारबाट घटाउदै अहिले आएर १५ हजारचै निकासा भएको रकमबाट घटाउने भनेपछि बिवाद बढेर गएको अध्यक्ष मेचेको भनाइ छ । कामको अनुगमन गरिदिनु भनेर बारम्बार अनुरोध पछि बैशाख ८ गते अनुगमन गरेको उनले बताए ।

तर अनुगमन गरेपनि फरफारक नगरिदिएको उनको भनाई छ । ३ हजार ७० मीटर लम्बाई र ५० फिट चौडाइको लागि २७ लाख रकम निकासा भएपनि ३३ सय मीटरको काम गरेको समितिका उपाध्यक्ष मदन मगरले बताए । हामीले स्टीमेट बराबरकोमात्र भूक्तानी दिनु भन्दा वास्ता नगरेको उनको भनाइ छ । जनप्रतिनिधिको मान्छे नपरेको योजनामा फरफारक गर्न वास्ता नगरेका कारण सवैजसो काममा झमेला रहेको मगरको भनाई छ ।

सहमति विपरित बाटो बिस्तार गरेको भन्दै अख्तियार सम्म पुगेपछि हाल सो बाटो विस्तार नगर्न जिल्ला वन कार्यालयले गाउँपालिकालाई जानकारी गराएपनि सोही सडक विस्तारको लागि २९ लाख थप रकम विनियोजन गरी किशोर बानीयाँको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन भएकोमा मेचेले आपत्ती जनाएका छन् ।

पुरानो समिति हुदा हुदै अर्को समिति गठन गर्नु भनेको स्टमेट अनुसार काम नगरि मिलोमतोमा केही जनप्रतिनिधि लागिपरेको उनले आरोप लगाए । बाटोको काम आइतबारबाट शुरु भएको उनले सुनाए । जलथल सेक्टर वन अधिकृत कमलदेव चौधरीले बाटो बिस्तार नगर्नु भनि निर्माण स्थलमा गएर जानकारी गराउदा समेत अटेर गरेको पाइएको छ ।

त्यसैगरि वडा नम्बर ३ र ४ का अधिकांस बाटोमा समस्या देखापरेको स्थानीयले बताएका छन् । ती वडामा पर्ने दिपेन्द्र स्कुल उत्तर कदम चौक जाने बाटोमा १ लाख ६७ हजार, लेखनाथ शिवाकोटीको घर उत्तर हुदै प्याजु वस्ती जानेमा १ लाख ५६ हजार ,ढडुवा बजारबाट वल्लभजङको घर हुदै उत्तर लक्ष्मी मावि जाने बाटोमा २ लाख १० हजार,कुमार भारतीको घर हुदै देवेन्द्र कन्दङ्वाको घरसम्म १ लाख १९ हजार रकम मर्मतको लागि निकासा भएकोमा सवै बाटोमा तीन देखि १३ टिपरसम्म पुरुवा हालेर स्टिमेट अनुसारको काम नगरेको वडाबासीहरुले बताएका छन् ।

बाटोको विवादका कारण ३ नम्बर वडा अध्यक्ष रोशनी शिवाकोटी र उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद ओली उपर अख्तियारमा सुचना गएपछि टोली घट्ना स्थल आएको स्थानीयको भनाइ छ ।

काम सम्पन्न नभई सम्पन्न भएको भन्दै योजना फर्छौटको लागि भूक्तानी सिफारिस गरेकोले आर्थिक हिनामिनामा उजुरी परेको स्थानीय सन्तलाल मेचेले दाबी गरेका छन् । उजुरीको विषयमा ३ नम्बर वडाध्यक्ष शिवाकोटीले काम गर्दै जादा गल्ती भएको स्विकारिन तर रकम हिनामिना गरेको प्रमाण नपुगेको उनको भनाई छ । काम स्टिमेटको आधारमानै भएको दाबी गर्दै केही पक्ष मेरो बिरुद्धमा लागिपरेको उनले जनाइन् । हाल अख्तियारबाट सफाई पाएको उनले टेलिफोन मार्फत बताइन् ।

गाउँपालिकाको बाटोमा कुनै बिवाद नभएको उपाध्यक्ष डम्बर बहादुर गिरीले दाबी गरेका छन् । सवै बाटोमा गरिएको काम स्टिमेट अनुसार भएको उपाध्यक्ष गिरीको भनाइ छ । केही मानिसको व्यक्तिगत रिसिभीले विकासमा बाधा पुर्याउने कोशिस भएपनि यो विफल भइसकेको गिरीले बताए ।

अख्तियारको विषयमा सवै उहाँहरुकै काम भएकोले त्यो कुनै प्रभावकारी नभएको उनको भनाई छ । जङ्गलको बाटोको विषयमा प्राविधिकले मापन गर्दा केही तलमाथि हुने भएकोले लाग्ने रकम समितिले तिर्नु पर्ने उनले बताए । उहाँहरुसँग भएको सम्झौता सकिएकोले अर्को समिति गठन गरि काम सुचारु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्