कालीमाटी बजारभित्रका बिचौलिया हटाइँदै



‘बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको क्षेत्रफल हेरेर ८ देखि १० हजार रुपियाँ मात्र भाडा स्वरूप समितिलाई बुझाउने र बिचौलियाले २ लाखसम्म लिने गरेको पाइयो।’
चक्रपाणि खनाल
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री

नेपाल समाचारपत्र
काठमाडौं
कुषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले फलफूल तथा तरकारीमा रहेको बिचौलिया प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ। सोमबार कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नु हँुदै मन्त्री खनालले कृषकले उत्पादन गरेको वस्तु सिधैं उपभोक्ता समक्ष पु¥याउन अहिले ५ तहसम्म रहेको बिचौलियापनको अन्त्य गरिने बताउनुभएको हो।

अनुगमनका क्रममा कालीमाटी फलफुल तथा तरकारी बजारका व्यापारीले एउटा स्टलबाट २ लाख रुपियाँसम्म अतिरिक्त भाडा असुल्ने गरेको समेत भेटिएको छ। कालिमाटी बजारमा ३ सय ५० भन्दा बढी थोक व्यापारी र ७१ जना खुद्रा व्यापारी रहेको समितिको तथ्यांकमा उल्लेख छ। बिचौलियाको धन्दा चलाइरहेका व्यापारीले बजारभित्रका स्टल आफूले कब्जा गर्ने र महंँगो दरमा अर्कैलाई भाडामा दिई ठगीधन्दा चलाउने गरेको भेटिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक व्यापारीले ९० वर्गफिट र खुद्रा व्यापारीले ४० वर्गफिटका दरले स्थान पाएको छन्। तर, एउटा स्टलमा ३ वटासम्म पसल सञ्चालन गरेको समेत भेटिएको छ।

 

‘बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको क्षेत्रफल हेरी ८ देखि १० हजार रुपियाँ मात्र भाडा स्वरूप समितिलाई बुझाउने र बिचौलियाले २ लाखसम्म लिने गरेको पाइयो।’ अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री खनालले भन्नुभयो। ‘ढाँट्नलाई अनेक प्रयत्न गरेको पनि पाइयो। एउटा व्यक्तिले स्टल पाएपछि १५ वर्षसम्म बस्न पाउने कार्यविधि रहेछ। त्यो खारेज हुन्छ। अब नयाँ कार्यविधि बनाएर त्यहाँ बस्न चाहने कृषकलाई गोला प्रथाद्वारा ठाउँ उपलब्ध गराउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ।’ मन्त्री खनालले भन्नुभयो।

पहिलेदेखि बसिरहेका व्यापारीलाई हटाउने आफ्नो चाहाना नभए पनि नयाँ कार्यविधि पालना गर्न लगाएर मात्र स्टल दिने व्यवस्था गर्ने उहाँको भनाइ छ। किसानलाई मर्कामा पर्न नदिन बीचमा हुने चलखेल अन्त्य गर्न आफूले अनुगमनबाट शुरू गरेकोसमेत मन्त्री खनालको भनाइ छ। ‘मन्त्रालयले आफ्नो दायित्व पूरा गर्छ र एउटा विधि बनाउँछ। त्यो पालना गर्नेलाई मात्र बस्न दिइन्छ अरूलाई हटाइन्छ। मापदण्ड पूरा नगर्नेलाई पसल दिइँदैन।’ खनालले भन्नुभयो।

तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकबाट स्थानीय व्यापारी, स्थानीय व्यापारीबाट आपूर्तिकर्ता, आपूर्तिकर्ताबाट कालीमाटी बजारमा रहेका व्यापारी गरी बिचौलियाका चार तह पार गर्दै उपभोक्तासम्म पुग्ने वस्तुलाई अब सोझै किसानबाट उपभोक्तासम्म पु¥याइने मन्त्री खनालको भनाइ छ। ‘अहिले कालिमाटीमा बसिरहेका कृषकलाई मर्का नपरोस भन्नेमा हामी सचेत छौं। यहाँका पसलका बारेमा धेरै गुनासा र निवेदन आए। मन्त्रालयले सुक्ष्म अध्ययन गरेपछि वस्तु उत्पादन गर्ने कृषक र उपभोक्ताबीच धेरै अन्तर भेटियो।’ अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भन्नुभयो। किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा दोब्बरभन्दा बढीले महँगो हुनुको कारण बिचौलियाको तीन चार तह मुख्य कारण रहेको उहाँको भनाइ छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्रप्रसाद पौडेलले आफूहरुले १ वर्ष अघि नै कालिमाटी बजारमा देखिएको व्यापारीको मनोमानीका विषयमा अध्ययन गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयनमा सरकार नै उदासिन देखिएको बताउनुभयो। बजार विकास समितिका सञ्चालक समिति सदस्य सचिवसमेत रहेका पौडेलले व्यापारीको दबाबका कारण सञ्चालन समितिले उक्त प्रतिवेदन कार्यान्वयनका गर्न नसकेको र मन्त्रालयमा पठाइएको बताउनुभयो। तर, मन्त्रालयले भने उक्त प्रतिवेदन अनुरूप कारबाहीको प्रक्रियालाई अगाडि बढाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्