नेपाल क्यान्सर अस्पताल दोस्रो वर्षमा प्रवेश



भगवती तिमल्सिना

नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको १ वर्ष पुगेको छ। क्यान्सरका बिरामीलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीको सामना गर्ने उद्देश्यले मूलतः नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको स्थापना भएको हो। ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाप्रदायक अस्पताल हो।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप एउटै छानामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिइरहेको छ। १ वर्षअगाडि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा अस्पतालको स्थापना भएको थियो। ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ भन्ने मूल नारा लिई यस अस्पतालले यो वर्षका कार्यक्रम सञ्चालन गर्दै छ। क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्यले हस्पिटलले आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको अवगत गराउँदै जुनसुकै क्यान्सर रोगको उपचार नेपालमै हुने कुरामा अस्पताल विश्वस्त भएको बताइएको छ।

यस अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने हेतुले अत्याधुनिक प्रविधि भित्त्याइरहेको र बिरामीलाई सुविधा हुनेगरी ती सेवाको प्रभावकारी र योजनाबद्ध ढंगले व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। क्यान्सर अस्पतालमा उपचारात्मक सेवालाई मुख्यतया ३ विभागमा समेट्न सकिन्छ। मेडिकल अन्कोलोजीअन्तर्गत नेपाल क्यान्सर अस्पतालमा अस्ट्रेलियन दिशानिर्देशनको केमोथेरापी र ओसा गाइडलाइन्समा आधारित सुरक्षित केमोथेरापी तयारी सेवा प्राप्त हुनु २ मुख्य विशेषता हुन्। यसैगरी सर्जिकल अन्कोलोजीअन्तर्गत हेड एन्ड निक सर्जरी, थोरासिस सर्जरी, हेपाटोबिलरी सर्जरी, ग्यास्ट्रो इन्टेसनल सर्जरी, ब्रेस सर्जरी, सफ्ट टिसु एन्ड बोन ट्युमर सर्जरी, न्युरो सर्जरी, युरो अन्कोलोजी सर्जरी, गाइनियो अन्कोलोजी सर्जरी, प्लास्टिक सर्जरी आदिको व्यवस्था छ।

सर्जरी डिपार्टमेन्टअन्तर्गत नेपालमा नै भर्खर शुरू भएको अन्को प्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको १ प्रमुख विशेषतामा पर्दछ। स्तन क्यान्सरको शल्यक्रिया गर्दा पूरै स्तन फाल्नुको सट्टा उक्त स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ। यसैगरी सर्जिकल र प्याथोलोजीको संगममा रहेको फ्रोजन सेक्सन सेवा पनि नेपाल क्यान्सर अस्पतालले दिँदै आएको छ। क्यान्सरको शल्यक्रियामा पूरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जाँच गर्न मिल्ने फ्रोजन सेक्सन प्रक्रियाले क्यान्सर अस्पतालमा हुने शल्यक्रियाको गुणस्तर बढाएको छ। यसै गरी रेडिएसन अन्कोलोजीअन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवा उपलब्ध छन्। रेडियोथेरापीअन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृष्ट लिन्याक मेसिन ‘भेरियन टु बिम टु अस्पतालमा उपलब्ध भएको वार्षिकोत्सवका अवसरमा जानकारी गराइएको थियो।

क्यान्सर आफैंमा चुनौतीपूर्ण रोग हो तर यसको पहिचान समयमै हुन सक्यो भने यसलाई सम्पूर्णरूपमा निको पार्न सकिन्छ। क्यान्सर अस्पतालमा रोग पत्ता लगाउने विभिन्न प्रविधिहरू रहेका छन्। यस अस्पतालको रेडियो डाएगनोस्टिक तथा इन्टरनेसनल रेडियोलोजी विभागमा बिरामीले सिटीस्क्यान, डिजिटल एक्सरे, डिजिटल म्यामोग्राफीलगायतका सुविधा लिन सक्नेछन्। क्यान्सर पत्ता लगाउनका लागि अत्यन्त सहयोगी मानिने पेट स्क्यान मेसिन पनि छिट्टै नै अस्पतालमा ल्याउने तयारी भइरहेको छ। यसैगरी प्रयोगशाला जाँचअन्तर्गत अन्को प्याथोलोजीसम्बन्धी सम्पूर्ण जाँच क्यान्सर अस्पताल र साझेदार प्रयोगशालाबाट हुने हुने गरेको छ।

क्यान्सर रोग लागिसकेपछि बिरामीमा एक किसिमको मानसिक ह्रास आउने समस्यालाई मध्यनजर गर्दै अस्पतालले विभिन्न सकारात्मक कार्यक्रम पनि अवलम्बन गरेको जनाएको छ। क्यान्सर सरभाइभरसिप क्लिनिकका नाममा सञ्चालन गरिएको उक्त पहलमा क्यान्सरबाट मुक्त भएका बिरामीले क्यान्सरसँग लडिरहेका बिरामीलाई हौसला तथा प्रेरणा प्रदान गर्ने गर्छन्। साथै अस्पतालमा क्यान्सरका बिरामीको मानसिक स्वास्थ्यको अवस्थालाई सदैव प्राथमिकतामा राख्दै विशेष साइको अन्कोलोजी क्लिनिकको पनि व्यवस्था गरिएको छ। क्यान्सर क्लिनिकमा एक्स्पर्ट साइको अन्कोलोजी डाक्टर तथा साइकोलोजी नर्सबाट क्यान्सरका बिरामी तथा बिरामीका परिवारलाई हुने मानसिक समस्याको हल गर्न विभिन्न साइकोथेरापी पद्धति तथा औषधिबाट उपचार गर्ने गरिन्छ।

आफ्नो सामाजिक उत्तरदायित्वको बोध गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले विभिन्न सामाजिक संघसंस्थासँग मिलेर विभिन्न स्वास्थ्य जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क क्यान्सर स्किनिङ क्याम्प सञ्चालन गरेको छ। समाजसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्ने सन्दर्भमा हालसम्म लायन्स क्लब, तुलसीमाया फाउन्डेसन, रोटरी क्लब यल, ललितपुर उद्योग वाणिज्य संघ, उपचारका लागि सहयोगी हात तथा हिमालयन इन्स्युरेन्ससँग समझदारीपत्रमा हस्ताक्षर गरेको पनि अस्पतालले जनाएको छ।
उक्त कार्यक्रममा अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका ‘आशा’ को दोस्रो अंकको लोकार्पण मुख्य अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो। यसैगरी हालै सम्पन्न भएका खेलकुद कार्यक्रमका विजेतालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ। सोही अवसरमा क्यान्सर अस्पतालका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सम्मानसमेत गरिएको थियो। यसै कार्यक्रममा अस्पताललाई विभिन्नरूपमा सहयोग गर्ने संघसंस्थालाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्