अस्पताल र बैंकबीच ग्राहक स्वास्थ्य बीमा सम्झौता



रोशन पराजुली÷हेटौंडा
मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबीच आफ्ना ग्राहकका लागि स्वास्थ्य बीमा सुविधासम्बन्धी सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका बचतकर्ताले मकवानपुर सहकारी अस्पतालमा भर्ना भएर स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख रुपियाँबाट नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन न्यून हुन्छ, सो रकम दाबी गर्न पाउने भएका छन्।

सम्झौतापत्रमा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन र बैंकका तर्फबाट हेटौंडाका शाखा प्रबन्धक सुदर्शन खतिवडाले हस्ताक्षर गर्नुभयो। सम्झौतापत्रमा बैंकका बचतकर्तालाई विभिन्न शीर्षकमा ५ देखि २० प्रतिशतसम्म अतिरिक्त छुट प्रदान गर्नेलगायत उल्लेख गरिएको छ।

उपचारका लागि जाने बचतकर्ताले बैंकको बचतकर्ता भएको प्रमाण अनिवार्यरूपमा देखाउनुपर्नेछ। यसका लागि बचतकर्तासँग बैंकले जारी गरेको एटीएम कार्ड अथवा अन्य कागजात हुनुपर्नेछ।

खतिवडाका अनुसार स्वास्थ्य बीमाअन्तर्गत ग्राहकले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधा उपयोग गर्न पाउने व्यवस्था गरिएको छ। सुविधा लिन बचतकर्ताले अस्पतालबाट डिस्चार्ज भएको १५ दिनभित्र अस्पतालका सम्पूर्ण बिलसहित बैंक शाखामा पेस गर्न सक्नेछन्। स्वास्थ्य बीमा रकम दाबी गरेको ७ दिनभित्र पाउने व्यवस्था गरिएको छ।

सुविधा लिन बचतकर्ताले नेपाल अधिराज्यभर सनराइज बैंकसँग अनुबन्धित ६५ भन्दा बढी निजी र सम्पूर्ण सरकारी अस्पतालमा उपचार गराउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्