फेरिएका मन्त्री



वर्तमान सरकार गठन भएपछि निकै चुरीफुरी देखाएका यादवथरका एक मन्त्री खै कुन्नी हिजोआज गुपचुप छन्। गतिलो मन्त्रालय पाएपछि केही दिन उनी बजार अनुगमनमा पनि देखिए। उनी सक्रिय बनेपछि धेरै व्यापारीको मुटुमा ढ्यांग्रो बजेको राम्रै बजार हल्ला चल्या थियो।

ढ्यांग्रो नबजोस् पनि कसरी विगतमा यादव वन मन्त्री हुँदा मन्त्रालय मातहतका कर्मचारीलाई शौचालयमा थुनेर राम्रै चर्चा बटुलेका थिए। पुरानै झल्को दिन आफ्नै स्टाइल र हाउभाउमा हिजो–आज पनि उनी बजार अनुगमनमा निस्किए रे भन्ने सुनिन्छ। तर मालदार अनि ठूला घरानाका व्यापारी उनको अनुगमन लिस्टमा पर्दैनन्। मन्त्रालय सम्हालेलगत्तै ‘कालो बजारी नियन्त्रण गर्छु, कुनै पनि हालतमा कालो बजारी मौलाउँदैन’ भन्ने अभिव्यक्ति दिन उनी पछि परेनन्।

उनको अभिव्यक्ति सेलाएर हो क्यार व्यापारीको मनपरीतन्त्र मौलाइरहेको छ, बजारको चलखेल एकातिर हुन्छ उनी अर्कातिर दौडिन्छन्। ठूला चाडपर्व आए पो बजार अनुगमन गर्नु, लोकलाई देखाउन समान्य अनुगमनमा निस्किए भै गो। वर्तमान क्याबिनेटमा उनी आफूलाई निकै शक्तिशाली ठान्छन्, तर उनलाई के थाहा आफूभन्दा बढी आफ्नै पीएहरू बढी शक्तिशाली भइसक्या। अन्य मन्त्रीको सचिवालयभन्दा उनको सचिवालय दमदार हुनेमा कुनै शंका छैन।

प्रतिक्रिया दिनुहोस्