सिर्जनाका विम्ब–विम्बमा गिरी



मोहन दुवाल,
सुर्खेतमा वि.सं. २००९ असार ८ गते जन्म पाएका जीवेन्द्रदेव गिरी १५ वर्षको हुँदादेखि शिक्षण सेवामा जुटेका हुन्। २०२४ सालदेखि २०२८ सालसम्म करिब ७ वर्ष यिनले विद्यालयहरूमा प्रधानाध्यापक भई आफ्नै गाउँ–ठाउँमा सेवा पुर्याएका हुन्। सुर्खेत समाजका लगनशील युवा तथा चेतनशील मान्छे। घुम्दै–फिर्दै काठमाडौं आइपुगे यिनी। ज्ञानको भोकलाई मेट्न आफ्नो क्रियाशीलता र सिर्जनालाई शब्दमा परिचय गराउन काठमाडौं धाएका यिनी पद्मकन्या क्याम्पसमा २०४० साल मंसिर १४ गतेदेखि २०४३ साल असार ३१ गतेसम्म आंशिक सहायक–प्राध्यापक भई कार्य गरे। पछि यिनी नेपाली केन्द्रीय विभाग त्रि.वि.वि. कीर्तिपुरमा उप–प्राध्यापकमा नियुक्ति पाई २०४३ साल साउन १ गतेदेखि सेवारत रहे। यिनले प्राज्ञिक क्षेत्रमा निकै महत्वपूर्ण कार्य गरेको देखिन्छ। पछि यिनी प्राध्यापन सेवाबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य–सचिव भई सेवा गरेको देखिन्छ। नेपालीमा स्नातकोत्तर प्रथम श्रेणीमा २०४० सालमा नै उत्तीर्ण भएका यिनी हिन्दी, अङ्ग्रेजी, थारु, संस्कृत भाषामा सिर्जनामा सक्रिय रहेर, साहित्यिक सेवामा र पत्रकारितामा आफ्नो पहिचान छोड्न सफल छन्। यिनले ‘सिम्तालीको भाषा वैज्ञानिक अध्ययन’ विषयमा २०६५ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेको देखिन्छ।

सुर्खेतको कुनाबाट काठमाडौं आइपुगेका यिनी देशकै राजधानीमा सक्रिय रहेर प्रगतिशील लेखक संघका महासचिवसम्म भएई सेवा पुर्याउनुका साथै साहित्य–सन्ध्या नेपाल, साहित्य–सदन नेपाल, युद्धप्रसाद मिश्र प्रतिष्ठान, मध्यपश्चिमाञ्चल साहित्य परिषद् आदि साहित्यिक संघसंस्थामा रही काठमाडौंमा पनि यिनको सक्रिय सहभागिता जनाएको देखिन्छ। केही गरिरहन मन गर्ने, समय त्यसै खेर नफाल्ने, अध्ययन गर्न पाएपछि हुरुक्कै हुने अति मेहनती एकजना स्रष्टाका रूपमा आफूलाई स्थापित गर्दै लान सफल जीवेन्द्रदेवले थुप्रै साहित्यिक पत्रपत्रिकामा प्रधान–सम्पादक र सम्पादक भई आफ्नो सम्पादन क्षमता राष्ट्रसमक्ष देखाइसकेका छन्।

यिनले सम्पादन गरेका पत्रपत्रिकाहरूमा साहित्य सौगात, साहित्य सुमन, साहित्य कोसेली, झिसमिसे, दीपशिखा, सुर्खेती कल्याण समाज स्मारिका, कविता–कोसेली, बालसाहित्य, रातो थुङ्गा, प्रलेस, युगदूत आदि छन्। लोक साहित्यका अध्येता, साहित्य सिर्जनाका समीक्षकका रूपमा ख्यातिप्राप्त हुँदै यात्रामा रमाएका यिनका प्रकाशित कृतिहरूमा भेरी क्षेत्रीय नेपाली क्रियाको संरचनात्मक विश्लेषण, लोक साहित्यको अवलोकन, हाम्रो लोकगाथा, नेपाली बालपत्रिकाको बालसाहित्यमा योगदान, भाषाविज्ञान, भाषा र भाषिका, साहित्यकार जनकप्रसाद हुमागाईं, नेपाली लोकसाहित्यमा जनजीवन, अभिव्यक्ति र सिर्जनाः व्यक्तित्व र समालोचना, भाषा र नेपाली भाषा, नेपाली प्रगतिवादी साहित्यका विशिष्ट आयाम, रचनामा विवेचना आदि प्रकाशित छन्। नेपाली साहित्य शृङ््खला भाग १ र २ (२०५२) का सह–लेखक पनि भइसकेका यिनका स्वदेशी र विदेशी पत्रपत्रिकामा साहित्य, लोकसाहित्य, भाषा संस्कृतिमा समीक्षात्मक र अनुसन्धानात्मक अनगिन्ती लेख–रचनाहरूका साथै कविता, निबन्ध आदि पनि प्रकाशित छन्।

नेपाली भाषा र साहित्यसम्बन्धी सैद्धान्तिक ज्ञान, अनुसन्धान, पठनपाठन तथा कोश निर्माणबारेका विभिन्न तालिम प्राप्त गरिसकेका अध्येता साहित्यकार जीवेन्द्रदेव गिरीले प्रगतिवादी साहित्यकार युद्धप्रसाद मिश्रमा चिन्तन र चरित्रको मेल (२०५५), सिम्ताली नेपालीमा प्रचलित उखानहरूको अध्ययन (२०५६), बर्दियाको नेपालीमा प्रचलित थारु शब्दको अध्ययन (२०५७), बाँके जिल्लाको नेपालीमा प्रचलित मुस्लिम शब्दको अध्ययन (२०५७) मा अनुसन्धान–पत्र लेखेर आफ्नो क्षमता देखाउनुका साथैै थुप्रै खालका गोष्ठीपत्रका लेखकसमेत भई आफूलाई चिनाउन सफल छन्। शिक्षा दिवस पुरस्कार, सुर्खेती प्रतिभा पुरस्कारका साथै दीपा–जनमत पुरस्कारद्वारा पुरस्कृत भइसकेका यिनीसँग जनमतका माध्यमबाट, प्रलेसको साहित्य छहारीबाट, युद्धप्रसाद मिश्र प्रतिष्ठानको कार्यक्षेत्रबाट नजिकले मैले सम्पर्क गर्न पाएको धेरै वर्ष भइसकेको छ।

शिष्ट भाषामा विचार राख्न सक्षम नम्र तथा सुशील व्यक्तित्वका रूपमा मेरो मन–मझेरीमा थपक्क बसिसकेका जीवेन्द्रदेव गिरीका सिर्जनात्मक भावनाहरू देश र समाजप्रति प्रतिबद्ध छन्। समाज परिवर्तनका लागि, मान्छेको मन–मस्तिष्कमा चेतना फिजाउनका लागि साहित्य लेख्न रुचाउने यिनका भावनाहरू मात्र होइन कार्यहरू पनि समाजका लागि नै प्रयोग भएका छन्। राजनीतिक–सामाजिक जीवन र साहित्यिक लेखनमा समर्पित हुने भविष्यको इच्छा साँचेर बाँचेका यिनी माक्र्सवादी दृष्टि नै आफ्नो जीवनप्रतिको दृष्टि हो भन्न रुचाउँछन्। शोषित–पीडित जनताका पक्षमा प्रभावकारी भाषाका माध्यमबाट व्यक्त गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो, जसमा सामाजिक परिवर्तनका चाहना, राष्ट्रियताको भावना, मानवीय प्रेमका सद्भाव र प्रकृतिका सुन्दर दृश्यहरू मुस्कुराइरहेका देखिन्छन् भन्ने भनाइ नै यिनको परिभाषामा साहित्य हो।

रातो रङ्ग मन पराउने यिनका लागि मन पर्ने स्वदेशी साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, गोकुल जोशी, श्यामप्रसाद, पारिजात, मोदनाथ प्रश्रित, जनकप्रसाद हुमागार्इं, कृष्णप्रसाद पराजुली, गोविन्द भट्ट आदि छन्। त्यस्तै विदेशी साहित्यकारहरूमा गोर्की, अस्त्रोभास्की, लुसुन, राहुल सांकृत्यायन आदि हुन्। सबैजसो विधामा लेख्न रुचाउने तर भाषा, लोक साहित्य र समालोचना विधामा ख्याति कमाइसकेका साहित्यकार जीवेन्द्रदेव गिरी नेपालका कुनाकाप्चामा लुकिरहेका भाषा र लोकसाहित्यका भण्डार खोतलिदिन विशेषरुपमा सक्रिय छन्। स्थानीय र राष्ट्रियस्तरमा यस खालको प्रयास नभएको वातावरण देखेर यिनी छक्क पर्ने गर्छन्। तर पनि यिनी आफू सक्दो सहयोग पुर्याउन तत्पर छन्। भाषा–लोक साहित्यको सोधखोज गर्नु भनेको राष्ट्रको प्राचीन पहिचानको सोधखोज गर्नु हो।

वाङ्मय सेवामा सक्रिय मन बोकेर लागिपरेका यिनी काठमाडौंमा रहेर पनि सुर्खेतको विकास–निर्माणमा साथ दिन तत्पर मात्र छैनन् आफू सक्दो बल फुकाएर सुर्खेतलाई सिर्जनात्मक क्षेत्रमा चिनाउन पनि लागिपरेका छन्। सुर्खेतलाई सिर्जनामा, सुर्खेतलाई विकासमा, सुर्खेतलाई सबै क्षेत्रमा बलियो तुल्याउन लाग्दै गरेका यिनी हाल शान्तिनगर, काठमाडौं–३५ मा श्रीमती पार्वतीसँग जीवनक्रम गुजार्दै साहित्यिक क्षेत्रमा सक्रिय छन्। सुर्खेत, सिम्ता काप्रिचौरमा पिता नारायण गिरी र माता भागीरथी गिरीका छोरा भई जन्म पाएका यिनी हाल सिर्जनाका डोबहरू बनाउँदै, सिर्जनामा मन रोप्न मन पराउने मित्रहरू बढाउँदै सिर्जनामा नै तन–मन समर्पित गर्दै छन्। स्वच्छ भावनाका धनी मान्छे। अर्काको प्रगतिमा डाह–इष्र्या नगर्ने सोझो व्यक्ति। जीवनले सक्दो गरिरहने हो भन्दै जीवनपथमा लम्किरहेका एकजना श्रमशील कार्यकर्ता। राम्रो लेख्ने हो, चोखो भावना फिँजाउने हो साहित्य भन्दै साहित्यलाई समाजपरक बनाउन रुचाउने साहित्यकार। एकजना इमानदार प्राध्यापक। घरका सज्जन अभिभावक। मित्र मण्डलीका हुलमा एकजना असल मित्र। धेरै विम्बमा राखेर नियाल्न मिल्ने मैले देखेको स्वजनहरूकै भीडमा उच्चता भएका सज्जन मान्छे हुन् जीवेन्द्रदेव गरी।

गिरी विगत लामो समयदेखि लोकसाहित्यको अध्ययन, अनुसन्धान र प्रकाशनमा लाग्दै समाजशास्त्रीय अन्वेषण पद्धतिका आधारमा आएका अन्वेषक हुन्। जनपक्षीय दृष्टिबाट लेखजोखा गर्न सिपालु लेखक। प्रगतिशील पक्षलाई प्रोत्साहन दिन व्यस्त साहित्यकार। जनमानसको मनोविज्ञान लोकसाहित्यमा व्याप्त हुन्छ भन्दै अन्वेषणमा राखेर लोकसाहित्यलाई नियाल्न खप्पिस समीक्षक। ग्रामीण जनसमुदायकै हितमा योजना नबनेसम्म देश विकास हुन गाह्रो छ भन्न खोज्ने चिन्तक। प्राध्यापकीय बाध्यतामा रहेर पनि प्रगतिशील भावना बाँड्न सक्रिय सोधकर्ता। जीवेन्द्रदेव गिरी उपरोक्त मान्यता र विशेषतामा रहेर आफ्नो सिर्जना र भावना सम्प्रेषण गर्न सिपालु छन्। सुर्खेतको एउटा शालीन अनुहार जो राष्ट्रमा व्याप्त हुँदै छ, अन्तर्राष्ट्रिय जगत्मा पनि यिनको भावना र सिर्जना खुल्दै जान सकोस्। सत्–पथमा सत्–भावनामा सिर्जनाका अनगिन्ती मनहरू झाङ्गिँदै, हुर्किंदै, मगमग फुल्दै, बहुसङ्ख्यक जनमनमा फूलझैँ फुल्दै अमरत्व प्राप्त गर्न सकोस्। साहित्यिक यात्रामा निरन्तरता छाइरहोस्, शुभकामना छ।

सबैजसो विधामा लेख्न रुचाउने तर भाषा, लोक साहित्य र समालोचना विधामा ख्याति कमाइसकेका साहित्यकार जीवेन्द्रदेव गिरी नेपालका कुनाकाप्चामा लुकिरहेका भाषा र लोकसाहित्यका भण्डार खोतलिदिन विशेषरुपमा सक्रिय छन्।

जीवेन्द्रदेव गिरी

प्रतिक्रिया दिनुहोस्