नेप्से उतारचढावकाबीच साताभरीमा ७ अंकले बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २५ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ७ दशमलव ६६ अंक कायम भएको छ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८३ कम्पनीको कारोबार भएको छ। जसअनुसार २३ हजार ५ सय ४८ कारोबारबाट २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपियाँ बराबरका ४७ लाख ४४ हजार ८ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ८ दशमलव ५६ प्रतिशतले बढी हो। गत साता १ सय ८३ कम्पनीको १९ हजार ७ सय १३ कारोबारबाट १ अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपियाँ बराबरका ४१ लाख ३७ हजार ४ सय ३० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताभर ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव १७ अंकले बढेर २ सय ७५ दशमलव २८ अंक कायम भएको छ। यस साता कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ। नेपाल बैंंकको ७ करोड ५४ लाख ९० हजार रुपियाँ बराबरको कारोबार भएको छ। त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल संस्थापक अग्रस्थानमा रहेको छ। सिटिजन्स बैंक संस्थापकको ३ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ। त्यस्तै कारोबार संख्याका आधारमा भने प्रिमियर इन्स्योरेन्स कम्पनी साताभर १ हजार ६ सय ७३ वटा कारोबारसहित अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो भने यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। यसैबीच नेपाल स्टक एक्सचेञ्जमा पाँच वटा कम्पनीको शेयर सूचीकृत भएको छ। यी कम्पनीमा ४ वटा कम्पनीहरूको बोनस शेयर १ करोड ५६ लाख ६४ हजार ९६८.०९ कित्ता र हकप्रद शेयर २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता गरी कुल ३ करोड ६४ लाख ५ हजार ८५४. ८४ कित्ता शेयर नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्