जोकोभिचको संघर्षरत जित



पेरिस, (एजेन्सी)
नोभाक जोकोभिचले स्पेनी खेलाडी रोबेर्टो बाउटिस्टा अगटलाई चार घण्टा संघर्ष गरी हराएर फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

शुक्रबार भएको तेस्रो चरणको खेलमा जोकोभिचले १३औं वरियताका अगटलाई ६–४, ६–७, ७–६, ६–२ ले हराएका हुन्। १२ पटकको ग्रान्डस्लाम च्याम्पियनका लागि यो वर्षमा सबैभन्दा कठिन खेल पनि साबित भएको छ। सर्बियाली खेलाडीले ३ घण्टा ४८ मिनेटसम्म खेलेर जित हात पार्न ज्यादै कडा संघर्ष गरे। प्रतियोगितामा २०औं वरियता प्राप्त जोकोभिच कुहिनाको चोटपछि उनको उत्कृष्ट लयमा फर्कन कोसिस गरिरहेका छन्।

जोकोभिचले क्वार्टरफाइनल पुग्न फेरि स्पेनी खेलाडी फर्नान्डो भर्डास्कोविरुद्ध खेल्नेछन्। ३४ वर्षीय भर्डास्कोले बुल्गेरियाका चौथो वरियता ग्रिगोर डिमिट्रोभलाई हराएर स्तब्ध नतिजा निकालेका थिए। उनले सो खेल ७–६, ६–२, ६–४ ले जितेका थिए।

जोकोभिचले गत वर्ष फ्रेन्च ओपनको क्वार्टरफाइनलमा डोमिनिक थिएमसँग हारेका थिए। यसपटक उनले उपाधिका लागि धेरै अपेक्षा पनि गरेका छैनन्। जनवरीमा अस्टे«लियन ओपनपछि उनको कुहिनोको शल्यक्रिया गराउन आवश्यक भएको थियो। यो शल्यक्रियापछि जोकोभिच आफ्नो पुरानै लयमा फर्कन सकिरहेका छैनन् र उनी विश्व वरियताको २२औं स्थानमा झरेका छन्।

पूर्वविश्व नम्बर एक जोकोभिचले ४३औं ग्रान्डस्लामको अन्तिम १६ मा स्थान बनाएर जिमी कोनर्सको सदाबहार सूचीमा बराबरी पनि गरेका छन्। जोकोभिचका लागि फ्रेन्च ओपनमा तीन फाइनल हारेको खराब कीर्तिमान पनि छ। उनले सन् २०१२, २०१४ र २०१५ मा फाइनलमा हारेपछि २०१६ मा एन्डी मुरेलाई हराएर उनको ग्रान्डस्लाम करियरले पूर्णता पाएको थियो।

प्रतिक्रिया दिनुहोस्