रिङरोडभित्रको सडक चिरिच्याट्ट, काँठ जाने बाटो यात्रा गर्नै मुस्किल



सुरेश तामाङ, काठमाडौं

ललितपुरको गोदावरी नगरपालिका–१० का सुदिप संजेल मोटरसाइकल हाँक्दै गर्दा शुक्रबार प्याङगाउँको हिलाम्मे सडकमा लडे। जताततै खाल्डैखाल्डो, सडकमा घुँडासम्म पुग्ने गरी पानी जमेको प्रस्टै देख्न सकिन्थ्यो। त्यस्तो बाटोमा खाल्डो छलाउने प्रयास गर्दा उनी हिलामै लड्न पुगे। उनको मोटरसाइकलको पाङ्ग्रा हिलोमा चिप्लिएर उनी लड्न पुगेका थिए।

उनी लडेको देखेपछि उनलाई उठाउन वरपरका मान्छे त्यहाँ जम्मा भए। उनलाई चोटपटक त लागेन तर उनी कतै हिँड्न लागेकाले लगाउने कपडा फोहोर भएर कपडा फेर्न घर फर्केर जानुपर्यो।
उनीजस्तै गरी अन्य पनि सवारी साधनमा यही बाटो हुँदै जोखिम मोलेर हिँड्न बाध्य छन्। गोदावरी–१० का स्थानीय रमेश तिमिल्सिनाले भन्नुभयो– ‘यहाँको बाटोको अवस्था दयनीय छ। त्योभन्दा दयनीय अवस्था बाटोमा २ पांग्रे सवारी दौडाउने सवारीचालक र पैदल हिँड्ने बटुवाको छ।’

यस क्षेत्रमा चापागाउँ बजार पर्दछ। यहाँ दक्षिण भेगका अधिकांशको गन्तव्यस्थान हो। बाक्लो बजारमा पैदल हिँड्ने बटुवाले पनि बाटोमा हिँड्नै नसकिने दृश्य हामीले यही सडकमा देख्न सक्छौँ।
यस सडकमा स्कुल जान लागेका कलिला बालबालिका, खाल्डा परेको सडकमा पानी जम्ने, हिलाम्मे सडकले गर्दा बाटोमा हिँड्नै नसक्ने स्थितिसमेत हामीले देख्न सक्छौँ।

यस्तो सडकमा साना सवारी खाल्डामा फसेको, चिप्लिएर नालीमा पांग्रा खसेको दृश्य यस आसपासका मानिसलाई सामान्यजस्तो लागिसकेको छ। गोदावरी–१० कै अर्का स्थानीय निलु महर्जनले भन्नुभयो– ‘बाटो सधैं यस्तै छ। खाल्डाखुल्डी पुरिदिने कोही होइन। पानी आउँदा जहिल्यै यस्तै हो।’

पानी पर्दा हिलोले र घाम लाग्दा धुलोले सडकमा हिँड्नै नसक्ने हुने उहाँले बताउनुभयो। ‘यो त हामीलाई सामान्यजस्तै लागिसक्यो’, उहाँले भन्नुभयो– ‘कसैले वास्तै गर्दैन त कसरी बाटोको हालत यस्तो हुन्न त?’

यही सडक हुँदै सातदोबाटो रिङरोडसम्मकै सडकको अवस्था यस्तै छ। साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, सडकमै नाली बगिरहेको, नाली जमेर बीच सडकैपिच्छे पानी जम्ने खाडलैखाडल हामीले देख्न सकिन्छ।

सातदोबाटो–धोलाहिटी–सुनाकोठी–ठेचो–चापागाउँ–लेलेसम्मको सडकले रिङरोड छोएको छ। रिङरोड छुने यो सडकको अवस्था मात्रै यस्तो होइन। रिङरोडभित्रको सडक चिरिच्याट्ट भए पनि रिङरोड भित्रिने अर्थात रिङरोडसम्म छुने, रिङरोड हुँदै उपत्यकाको काँठ क्षेत्र जाने सडकको अवस्था यस्तै छ।

वर्षात् महिना असार शुरू हुँदै छ। यस अघिका सरकारले वर्षात्अघि खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायमा निर्देशन दिन्थ्यो। यो पटक त्यो पनि भएको छैन।

रिङरोड हुँदै काँठ क्षेत्र जाने बौद्ध जोरपाटीको सडक, गोपीकृष्ण–कपन, सुकेधारा–कपन, ग्वार्काे–लुभु–लामाटारलगायतका सडक छन्। यी सडकमा ठेकेदारले समयमै काम सम्पन्न नगरिदिँदा, स्थानीयका अवरोध कायमै रहँदा, सर्वाेच्च अदालतको अन्तरिम आदेशलगायतले गर्दा सडकको अवस्था यस्तो बनेको हो। जसले गर्दा रिङरोड हुँदै काँठ क्षेत्र र काँठ क्षेत्र हुँदै रिङरोड भित्रिने सवारी साधन जाममा समेत परेका छन् भने कतिको अफिससमेत छुटेको छ।
वर्षात्अघि सडकमा देखिने खाल्डाखुल्डी भएका सडकको अनुगमन गरेर त्यसलाई पुर्न निर्देशन दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव राजेन्द्रराज शर्माले बताउनुभयो। ‘वर्षात्अघि सडकमा देखिने खाल्डाखुल्डी, नाली सडकमै मिसिएको सडकको अनुगमन हुन्छ’, उहाँले भन्नुभयो– ‘हामी यसका लागि मन्त्रालयमा तुरुन्तै मिटिङ बस्छौँ।’

प्रतिक्रिया दिनुहोस्