जादुगर कलाकार



रश्मी थापा,
क्यारिकेचरिस्ट, जादुगर, डान्स आर्टिस्ट, एक्टर। यस्ता धेरै परिचय बनाएका छन् कलाकार महादेव त्रिपाठीले। यति बेला त्रिपाठी आफ्नो दोस्रो फिल्म जादुगर–२ जोकर अमेरिका जापानसहित विभिन्न ९ देशमा प्रदर्शनका लागि लैजाने तयारीमा लागेको छन्।

बालबालिकालाई लक्षित गरी बनाइएको यो फिल्मको प्रदर्शनीबाट उठेको रकम एचआईभीपीडीत बालबालिकाको शिक्षाको सहयोगार्थ बालाजुमा रहेको एचआईभीपीडित स्कुललाई दिने उनले बताए। केही समयअघि नेपालमा शो गरेर फिल्मका कलाकार स्व. दिपेन शाहको परिवारलाई १० प्रतिशत रकम दिइएको पनि उनले बताए। ‘फिल्मबाट उठेको पैसाबाट आगामी दिनमा पनि १० प्रतिशत फिल्मका हिरो स्व. दिपेन शाहको परिवारलाई दिनेछौं। भदौबाट म र निर्माता कृष्ण थापा मगर मिलेर फिल्म अमेरिका, जापानलगायत विभिन्न ९ देशमा लैजाने योजना बनाएको छौं। विदेशमा फिल्मबाट आएको सबै पैसा ४२ जना दुर्गम क्षेत्रका एचआईभीपीडीत बालबालिकाको संरक्षण गरिरहेको संस्थाको कोषमा हाल्नेछौैं’ –उनले भने।

२०३९ सालमा सिन्धुपाल्चोकको सागाचोकमा जन्मिएका उनी कक्षा ४ मा पढ्दै गर्दा बुबाको निधन भएपछि आमासँग काठमाडांै आएका थिए। ‘बाबा प्रहरी हुनुहुन्थ्यो, द्वन्द्वकालमा माओवादीाट बाबाको हत्या भएपछि गाउँमा बस्न सक्ने स्थिति भएन। त्यसैले आमासहित म काठमाडांै आएँ। म एक बालकेन्द्रमा बस्न थालें र त्यहींबाट कक्षा ७ सम्मको अध्ययन गरें। त्योभन्दा माथि पढाउन बाल केन्द्रले नसकेपछि त्यहाँबाट निस्किएर रञ्जना गल्लीमा रहेको १ होटलमा भाँडा माझ्न थालें। २ वर्षसम्म त्यहीं काम गरेपछि साहुकै भाइको रत्नपार्कदेखि कलंकी चल्ने विक्रम ट्याम्पुमा खलासीको काम गरें’, उनले बाल्यकाल सम्झिए– ‘विक्रम ट्याम्पुमा काम गर्दै गर्दा मेरो ध्यान टुँडीखेलको खुला मञ्चमा हुने विभिन्न कार्यक्रमले तान्थ्यो। एक दिन नयाँ व्यक्ति कोही भए आउनुस् भनेर बोलाएको सुनेर मैले पनि आफूले जानेको प्रतिभा देखाउन शुरू गरें। मलाई खाना खान त्यति बेला १५ रुपियाँ दिनुहुन्थ्यो।

म भीडमा गएर हेरिरहेको थिएँ। मलाई १ जना दाइले तिमी केही गर्न सक्छौ? भनेर सोध्नुभयो र मैले नारायण त्रिपाठीको नक्कल गरेर देखाइदिएँ।’ उनले सुनाए– ‘म त्यतिबेलाको चर्चित सिरियल ट्वाक्क टुक्कका हास्य कलाकार नारायण दाइको फ्यान थिएँ। मैले टीभी हेरेरै उनको हाउभाउको सिको गरेको थिएँ। तर देखाउने ठाउँ पाएको थिइनँ। मेरो एक्टिङ देखेर त्यहाँका दर्शक मरीमरी हाँस्न थाले र मैले पटकपटक उक्त नक्कल दोहोर्याउनुपर्र्यो। मलाई ठ्याक्कै नारायण त्रिपाठीकै जस्तो एक्टिङ गर्दो रहेछौ भाइ भोलि पनि आउ है भन्नुभयो। त्यही ठाउँमा चेतना मञ्चको कार्यक्रम हुन्थ्यो। यसमा पनि मैले भाग लिएँ। म डान्स पनि गर्थें भने गिरिजाप्रसाद कोइरालाको पनि क्यारिकेचर गर्थें। यसैबीच विस्तारैविस्तारै प्राविधिक संघका दाइ र त्यहाँ आउने कलाकारहरूसँग चिनजान हुन थाल्यो।’

उनी ट्याम्पुमा काम गर्दै कार्यक्रममा भाग लिँदै जान थाले। विस्तारैविस्तारै टेलिफिल्ममा सानासाना रोलमा खेल्न थाले। ‘पहिलोपटक दीपकराज गिरीको काउकुती भन्ने सिरियलमा सानो रोल गरें। त्यतिबेला नाचघरकमा कार्यक्रम हुने गथ्र्यो र निर्देशक शोभित बस्नेतले डान्स सिकाउनुहुन्थ्यो। म पनि अवसर पाइन्छ कि भनेर गइरहँन्थें। मैले दाइ मलाई पनि नाच्न बोलाउनुस् न, भने दाइले तिमी नाच्नेचाहिँ होइन, बरू भाइ बोक्ने काम गर भन्नुभयो। उहाँको कार्यक्रम हुँदा २ दिन त मैले नायक सलोन बस्नेतलाई बोकेर हिँडे’, महादेवले सुनाए– ‘अवसर पाइन्छ कि भनेर म पनि उहाँको नजिक गइरहन्थें।’

१४ वर्षको उमेरदेखि नारायण त्रिपाठी तथा गिरिजाप्रसाद कोइरालाको क्यारिकेचर गर्दै अभिनयमासमेत अवसर खोज्दै हिँडेका महादेवले हास्य कलाकार नारायण त्रिपाठीको नजिक रहेर काम गर्दागर्दा आफ्नो थर नै गिरीबाट त्रिपाठीमा रूपान्तरण गरेर त्रिपाठी बनाउँदै अभिनयमा अघि बढ्दै गए। ‘एकपटक संगालो भन्ने सिरियलको सुटिङमा नारायण त्रिपाठीसँग मेरो पहिलो भेट भयो। म उहाँको फ्यान भएको र क्यारिकेचर गर्ने गरेको बताएँ। उहाँको क्यारिकेचर हेरेपछि उहाँ आफैं मरीमरी हाँस्न थाल्नुभयो। त्यति बेला त्यति वास्ता गर्नुभएन।

म त्यो बेला डान्स रेस्टुरेन्टमा नाच्थें। जहाँ नारायण त्रिपाठी पनि आइरहनुहुन्थ्यो। म उहाँ आउनेबित्तिकै उहाँले अभिनय गरेको मनिषा बस्छिन् बुम्बईमा भन्ने गीतमा कमेडी गर्न शुरू गर्थें। त्यही कमेडी उहाँको लागि ४÷५ पटक गर्नुपथ्र्यो। मैले स्टेजमा उहाँको गीतमा नाच्दा अरू दिनभन्दा धेरै टिप्स पाउने गर्थें। नारायण दाइ आफैंले टिप्स दिनुहुन्थ्यो। यो देखेर अरूले पनि टिप्स दिन्थे। एकदिन मलाई टेबुलमा बोलाएर राति त डान्स गर्छौ दिउँसोचाहिँ के गर्छौ बाबु भनेर सोध्नुभयो’, महादेव सम्झिँदै थिए– ‘मेरो दिउँसो केही काम छैन भने त्यो भए मसँग हिँड भन्नुभयो। उहाँसँग हिँड्न पाउनु नै मेरो भाग्य हो भनेर भोलिपल्टदेखि उहाँसँगै सुटिङमा उहाँको झोला बोकेर हिँड्न थालें। २ वर्षसम्म उहाँको असिस्टेन्ट बनेर उहाँसँग बसें। उहाँसँगै हिँड्दा मलाई मेरो भाइ हो भनेर अरूलाई चिनाउनुहुन्थ्यो। सबैले नारायण त्रिपाठीको भाइ भनेर चिनेपछि मैले आफ्नो थर नै त्रिपाठी भन्न थालें।’

भारतीय कलाकार देव आनन्द नेपाल आउँदा महादेवले गरेको आफ्नै क्यारिकेचर हेरेर खुसी भई प्रशंसा गरेको उनलाई हिजैजस्तै लाग्छ। ‘मैले उहाँको क्यारिकेचर गरेपछि हरेक देशमा एउटा देव आनन्द चाहिन्छ। मैले धेरै देशमा देव आनन्द देखें, तर साच्च्किै देव आनन्दचाहिँ आज आफ्नै अगाडि देखिरहेको छु। म त बूढो भएँ, अबको देव आनन्द महादेव त्रिपाठी हुन्’ –उहाँले भन्नुभयो। ‘त्यसको पर्सिपल्ट नै मैले पल भन्ने फिल्मको अफर पाएँ’ –उनले सुनाए। झन्डै ४ दर्जन फिल्ममा अभिनय गरे पनि राम्रो रोल पाएका फिल्म नचलेको देखेर उनी अचम्ममा परेका रहेछन्। ‘मलाई लाग्छ यहाँ काम गर्नको लागि आफैंलाई बालेर आउनुपर्छ। अरूले बालेकाहरू खासै सफल भएको देखिँदैन। नेपालका सुपरस्टारहरू पनि आफैं बलेर आएका हुन् भन्ने सोचले मैले फिल्म जादुगर बनाएँ। त्यही फिल्मबाट नै चोभारमा सानो घर बनाउन सफल भएँ। त्यसपछि जादुगर–२ जोकर बनाएको छु। यसलाई पनि दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास लिएको छुु’ –महादेव भन्छन्।

वर्षौंदेखि जादुमार्फत विभिन्न स्कुलमा गएर बालबालिकालाई मनोरञ्जन दिँदै आएका र फिल्म तथा टेलिफिल्ममा अभिनय गर्दै आइरहेका महादेव १ वर्षदेखि नेपालका प्रायः मेला महोत्सव र स्टेज कार्यक्रममा व्यस्त छन्। उनी स्टेज चढेपछि जादु, कमेडी, गायन र नृत्य तथा कार्यक्रम उद्घोषणसमेत गर्छन्। एउटै व्यक्तिले ५ थरी काम गर्ने भएकाले आयोजकले पनि आफूलाई रुचाएको महादेव दाबी गर्छन्। ‘मैले एक मात्र विधालाई नलिई धेरैरूपमा आफूलाई प्रस्तुत गरेको छु। जसका कारण एकै व्यक्तिबाट धेरैले मनोरञ्जन लिन सक्छन्’ –उनी भन्छन्।

गायनमा पनि रूचि भएका उनले हालसम्म आफ्नै कथामा आधारित जीवन मेरो अधुरै रयो, मस्केर हिँड्ने कान्छी, झिल्के हिरो हु् म हिरो, दुई दिनको जिन्दगी गरी ४ गीत गाएका छन्। ‘म आफ्नै गीत भएर पनि कार्यक्रममा अरूको गीत गाउँछु तर मैले कतिपय गायकले अरूको गीत गाउदिन भनेको सुनेको छु। शुरूमा गीत सिक्ने भनेकै अरूको गीत गाएर हो, यदि अरूको गीत हँुदैनथ्यो भने कसरी गायक बनिन्छ?, गायन मात्र होइन कुनै पनि विधामा केही गर्नको लागि अरूकै हेरेरे आफूले यस्तो बन्छु भेनर निर्णय लिने हो’ –महादेवले भने।

नेपालका सबै अञ्चलमा कार्यक्रम गरिसकेका उनले अमेरिका, जापान, दुबई, कतारजस्ता २ दर्जनभन्दा धेरै देशमा समेत आफ्नो कला प्रदर्शन गरेका छन्। ‘विदेशमा कार्यक्रम गर्न जाने क्रममा दक्षिण अफ्रिकाको तान्जानियामा पनि गएँ। त्यहाँ नेपाली कार्यक्रम नै नहुने र नेपालीहरू नै नहुने रहेछन्। त्यहाँ गएर मैले जादु देखाएँ, हिन्दी गीत गाएँ र नारद खतिवडा दाइको ढोका खोल न पोस्टेकी आमा भन्ने गीत गाएँ, त्यो गीतचाहिँ धेरै मन पराइयो’ –उनले अनुभव सुनाए।

प्रतिक्रिया दिनुहोस्