वीर अस्पताल सफाइ विवादरहित बनाऊ



मुलुककै जेठो सरकारी अस्पतालको रूपमा परिचित वीर अस्पतालको सफाइ अभियान अहिले विवादमा तानिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन गत वैशाख २३ गतेदेखि वीर अस्पतालबाटै एकमहिने सरसफाइ अभियान सञ्चालन गर्नुभएको थियो । यो सरसफाइ अभियानमा धुर्मुस–सुन्तली फाउन्डेसनको समेत संलग्नता रहेको छ । यही अस्पताल सफाइ अभियानलाई लिएर शुरूमा वाहवाही पाएको धुर्मुस–सुन्तली फाउन्डेसनमाथि अहिले सरसफाइको नाममा मनपरी ढंगले सहयोग उठाइरहेको आरोप लागेको छ । यसरी सरसफाइको विषयलाई लिएर वीर अस्पताल र धुर्मुस–सुन्तली फाउन्डेसन विवादमा तानिनु कसैका लागि पनि हित हुने देखिँदैन ।

विगतमा अस्पतालका सरसफाइ कर्मचारीले दिनहुँ सफाइ गरेको भनिए पनि वीर अस्पताल फोहोर र प्रदूषणमुक्त हुन सकेको थिएन । यो अस्पताललाई सफा गरेर फोहोर एवम् प्रदूषणमुक्त बनाउने उद्देश्यले स्वास्थ्य राज्यमन्त्री अर्याल अस्पतालको शौचालय सफा गर्नसमेत आफैं वीर अस्पताल पुग्नुभएको थियो । उहाँ आफैंले सरसफाइ अभियान थालनी गरेपछि सरसफाइ दूतका रूपमा रहेका कलाकार सीताराम कट्टेल संलग्न ‘धुर्मुस–सुन्तली’ फाउन्डेसन अस्पताल सफाइ कार्यमा लागेको थियो । स्वास्थ्य राज्यमन्त्रीको अगुवाइमा शुरू भएको सरसफाइ तथा रंगरोगन अभियानको सबै खर्च अस्पतालले बेहोर्नुपर्नेमा धुर्मुस–सुन्तली फाउन्डेसनले चन्दा उठाएको आरोप लागेको छ ।

एकातिर सफाइकै लागि ४७ लाख खर्च भएको भन्दै धुर्मुस–सुन्तलीले आफू ऋणमा चलेको बताउँदै आएका छन् भने अर्कातिर वीर अस्पतालले काम गर्ने मान्छेदेखि खर्चसमेत अस्पतालले नै गरेको जनाउनुले यो विषय विवादमा तानिएको हो । धुर्मुस–सुन्तली फाउन्डेसनलाई मानवीय सहयोग मात्र मागिएको र सफाइको सबै खर्च वीर अस्पतालले नै बेहोर्ने स्वास्थ्य मन्त्रालयको स्वीकारोक्ति छ । अस्पतालको आफ्नै बजेट भएको र नपुगेको खण्डमा मन्त्रालयको सहयोग मागेर काम गर्नुपर्ने भनाइ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको छ । यता सीताराम कट्टेल ‘धुर्मुस’ले भने प्रारम्भिक चरणमा सरसफाइ मात्रै गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर रंगरोगन कार्यमा समेत लागेको बताउनुभएको छ । यसका लागि सरकारबाट केही रकम मात्र प्राप्त भएकाले बाँकी दाताको सहयोग र ऋणमा चलेको उहाँको भनाइ छ ।

यस विषयलाई विवादमा ल्याउनुभन्दा सरकारी अस्पतालको सरसफाइ एवम् रंगरोगनका लागि सरकारले नै व्यवस्था गरोस् । यस कार्यका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले चन्दा उठाउनुपर्ने अवस्था सृजना नहोस् । सो फाउन्डेसनले पैसा उठाएर दुरूपयोग गरेको ठहरिएका फाउन्डेनमाथि पनि कारबाही होस् । साथै वीर अस्पतालको सरसफाइ एवम् धारा–बत्ती मर्मतका नाममा खर्च गर्ने तर काम नगर्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । कुनै पनि बहानामा अस्पतालको सरसफाइमा बाधा पु¥याउने काम नहोस् ।

प्रतिक्रिया दिनुहोस्