आफ्नै प्रेमकथामा फिल्म



लिली बिली निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म बोबीको गीत सार्वजनिक गरिएको छ।

राजधानीमा अयोजित एक समारोहबीच बोबीमा रहेको रोमान्टिक गीत आँखाको नानी सार्वजनिक गरिएको हो। रियल कथा र रियल जोडीको प्रस्तुति रहेको बबीको यो गीतमा उमेश थापा र कविता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ। फिल्ममा यही जोडीको रियल कथा प्रस्तुत दाबी गरिएको छ। फिल्मको पर्दामा देखिने लभस्टोरी उमेश र कविताको आफ्नै कथा भएको निर्देशक चाम्सले बताए।

वसन्त सापकोटाको शब्द र संगीत, राजेश पायल राई र दीपा लामाको स्वर रहेको गीतलाई नर्वेका रमणीय दृश्यमा खिचिएको छ। सम्पूर्ण छायांकन नर्वेमै गरिएको सिनेमामा दुवैजनाको प्रेम, संघर्ष र सफलताको कथा छ। विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन्। पेसाले उमेश इन्जिनियर र कविता होटल म्यानेजर हुन्। फिल्ममा यी दुईका साथमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

निर्देशक मिलन चाम्सले फिल्म रियल जोडीको रियल कथामा बनेको जोड दिँदै यसमा दुईबीचको प्रेम, संघर्ष र सफलताको कथा रहेको बताए। ‘फिल्मको पर्दामा देखिने लभस्टोरीझैँ उमेश र कविताको आफ्नै कथा दर्शकले हेर्न पाउनुहुनेछ’, मिलनले भने– अहिलेसम्म काम गरेका कलाकारमध्ये कविता बेस्ट छिन्। लाग्थ्यो उनि पहिलो फिल्म गरिरहेकी छैनन्। अहिलेसम्म काम गरेकामध्ये वान टेक ओके आर्टिस्ट कविता नै हुन्। उमेशको केही डाइलग डेलिभरीमा समस्या थियो। राम्रोसँग अभ्यास गराएपछि उमेशले पनि राम्रो गर्नुभयो।’

सार्वजनिक गीतको बारेमा चर्चा गर्दै कविताले शुरूमा गीत मन नपरेको र पछि सुन्दै जाँदा आफ्नै कथा भेटेको बताइन्। ‘मेरो कथा हुबहु फिल्ममा उतारेकामा निर्देशक चाम्स र स्क्रिप्ट राइटर नरेश भट्टराईलाई धन्यवाद’ –कविताले भनिन्। त्यसैगरी नरेशले फिल्म बनाउन निकै मिहिनेत गर्नुपरेको बताए। ‘पहिलोपटक नर्वेमा नेपाली फिल्म छायांकन गर्नु आफैंमा चुनौती थियो। चुनौतीका बाबजुत सिनेमा राम्रो बनाउन फ्रेस लोकेसन खोज्यौं, जहाँ गाडीसम्म पुग्थेनन्’, नरेशले भने– ‘फिल्म खिच्नका लागि आवश्यक सामग्रीहरू बोकेर भए पनि ५० दिन लगाएर निर्माण ग¥र्यौं।’

चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको बोबीमा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराजकृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ। फिल्म आगामी असार २९ मा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्