झुक्किएर पनि भोट हालिन्न



अर्थमन्त्री डा. खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५÷७६को बजेट सार्वजनिक गरे। सप्ताह भन्न व्यासासनमा बसेका पण्डितको भन्दा उनको वाचन कमजोर भएन। खरर्र.. खरायो दौडेझैं एक घण्टा १० मिनेटभित्रैमा उनले बजेटको साङ्गे गरे। नयाँ परियोजना र नयाँ कुरा केही आउला भन्ने अपेक्षा गरेका धेरैलाई यो बजेट ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनेको छ।

झापाको शान्तिनगरदेखि डडेल्धुरा जोड्ने करिब १३ सय किमिको मदनभण्डारी मार्गबाहेक नयाँ कुरा सुनिएन भन्ने गुनासो सर्वत्र छाएको छ। यसपटक त पक्कै तलब बढ्छ भनेर अस्ति नै साथीभाइलाई पार्टी खुवाउन भ्याएका कर्मचारी बिचरा हिस्स प¥याछन्। कर्मचारीलाई कम्रेड खतिवडाले ठूलै लोप्पा खुवाए।

कर्मचारी थुमथुम्याउन मासिक २ हजार महँगी भत्ता र पोसाकका लागि उपलब्ध हुँदै आएको वार्षिक भत्ता बढाएर १० हजार पु¥याइएको छ। कर्मचारीको तलब समायोजनका लागि आयोग गठन हुने कुरा आएको छ। आयोग कहिले गठन हुने, कहिले अध्ययन गर्ने, कहिले प्रतिवेदन बुझाउने, सुझाव कहिले कार्यान्वयन हुने टुङ्गो नभएकाले कर्मचारी निकै मुर्मुरिएका धरहराले बुझ्या छ।

मंगलबार साँझ तनावमुक्त पार्न सोमरसमा जम्या कर्मचारीको एउटा झुन्डले खतिवडालाई गाली गर्दै भन्यो– ‘तलब अलिकति बढाएको भए उनको आफ्नै घरबारी नै नासिन्थ्यो र? आफू मन्त्री छन्, तलब भत्ता र अनेकौं सुविधा आउने भएसी हाम्लाई किन सम्झनु?’ अर्काले थपे– ‘एमाले, माओवादी मिलेर राम्रै होला भन्या त, अब त भुक्किएर पनि यिनलाई भोट हालिन्न।’

प्रतिक्रिया दिनुहोस्