बजेटले उत्साह जगाउन सकेन



प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७५÷७६ को बजेट प्रस्तुत गरेका छन्। सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कुल १६ खर्बको बजेट प्रस्तुत गर्न लाग्दा आमजनतामा भने कुनै उत्साह देखिएको छैन। कुल बजेटका लागि करिब १० खर्ब राजस्व, एक खर्ब ५० अर्ब वैदेशिक अनुदान र चार खर्ब ५० अर्ब वैदेशिक र अन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। कुल बजेटमध्ये १२ खर्ब रुपियाँ संघलाई र तल्ला दुई सरकारलाई चार खर्बको बजेट सीमा तोकिएको छ। संघीय सरकारले कुल बजेटको ७५ प्रतिशत र तल्ला तहको दुई सरकारले २५ प्रतिशत बजेट खर्च गर्न पाउनेछन्।

बजेट आउनुअघि हरेक नेपालीको थाप्लोमा २८ हजार ९६३ रुपियाँ ऋण थपिएको तथ्यांक सार्वजनिक भएको छ। सरकारले गरेको आर्थिक सर्वेक्षणले आव ०७४÷७५ को आठ महिनामा मात्रै एक व्यक्तिको टाउकोमा ४ हजार ६ सय ९३ रुपियाँ ऋण दायित्व थपिएको देखाएको हो। कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यामा भाग लगाउँदा पर्न जाने दायित्वलाई नै प्रतिव्यक्ति ऋण मानिन्छ।

आर्थिक सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा ऋणको अनुपात २८ प्रतिशत पुगिसकेको छ। प्रत्यक्षरूपमा सार्वजनिक ऋण जनताले तिर्नु नपर्ने भनिए पनि यसको दायित्व कुनै न कुनै रूपमा जनताले नै तिरिरहेका हुन्छन्। विश्व अर्थतन्त्रमा सार्वजनिक ऋणको दायित्व कम भए पनि यसले हाम्रो मुलुकको आर्थिक हैसियत प्रतिविम्बित गर्छ।

नेपालका करिब ४३ लाखको हाराहारीमा युवा वैदेशिक रोजगारीमा छन्। प्रतिवर्ष पाँच लाख श्रमशक्ति विदेशिन बाध्य छन्। मुलुकभित्र रोजगारीको अवसर सिर्जना नहुँदा धेरै युवा विदेशिने गरेका छन्। उनीहरूबाटै आर्जित रेमिट्यान्स नै बजेटको ठूलो हिस्सा बन्ने गरेको छ। अझै ६० लाख मानिस निरपेक्ष गरिबीको रेखामुनि छन्। यो कुल जनसंख्याको झन्डै २२ प्रतिशत हुन आउँछ। सरकारले तामझामका साथ बजेट प्रस्तुत गर्न लाग्दा बजेटले कुन शीर्षक र क्षेत्रलाई महत्व दिएको छ भन्दा पनि मुलुकले कसरी व्यापार घाटा न्यूनीकरण गर्न सक्छ, त्यो चिन्ताको विषय भएको छ।

सरकारले १६ खर्बको वार्षिक बजेट प्रस्तुत हुँदै गर्दा आर्थिक वर्षको व्यापार घाटा मात्रै ९ खर्ब १२ अर्ब रुपियाँ पुगेको छ। नेपालले गत आवमा १० खर्ब ५९ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको थियो। तर, विडम्बना ! जसमध्ये नौ खर्ब ८५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गर्दा जम्मा ७३ अर्ब रुपियाँको वस्तु मात्रै निर्यात गरेको थियो। यो मुलुककै लागि ठूलो चुनौतीको विषय हो। सरकारले ठूलो आकारको व्यापार घाटालाई कसरी सम्बोधन गर्छ, त्यसले नै मुलुकको परनिर्भरता घटाउन सहयोग गर्नेछ। यस बजेटले खासै उत्साह ल्याएजस्तो लागेन।

मुलुकको अर्थतन्त्रमा अत्यधिक हिस्सा ओगट्ने कृषिक्षेत्र भएकाले कृषि उत्पादन बढाउन सके ऋणले थिचिएको नेपालीको थाप्लो क्रमशः माथि उठ्नेछ। प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी एक हजार अमेरिकी डलर नाघेर मात्रै परनिर्भरता घटाउन सकिँदैन। सरकारले यसतर्फ ध्यान केन्द्रित गर्नु जरुरी छ।
– अविरल श्रेष्ठ, पाटन, ललितपुर

के हो थाइराइड ?
नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम तथा अन्तक्र्रिया गरी विश्व थाइराइड दिवस मनाइएको छ। सन् २०१८ का लागि ‘तपाईं होइन कि तपाईंको थाइराइडको मतलब गर्नुहोस्’ नाराका साथ यो दिवस मनाइएको हो। थाइराइड पछिल्लो समय चर्चामा आएको रोग हो। एक दशकअघिसम्म यो समस्याबारे त्यति चासो नरहे पनि पछिल्लो समय थाइराइड परीक्षण अनिवार्यजस्तै बन्न पुगेको छ। थाइराइड के हो र यो कस्तो रोग हो ? भन्ने सम्बन्धमा विभिन्न भ्रम रहेका पाइन्छन्।

खासमा थाइराइड शरीरको एक ग्रन्थि हो। यो घाँटीको बीचमा पुतली आकारमा दायाँ र बायाँ जोडिएर रहेको हुन्छ। साथै, यो ग्रन्थि श्वासनलीसँग जोडिएको हुन्छ। यसलाई नियन्त्रण गर्ने अर्को ग्रन्थि टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ ग्रन्थि भनेर चिनिन्छ। पिट्युटरी ग्रन्थिको नियन्त्रणमा रहेर थाइराइड ग्रन्थिले टी थ्री र टी फोर नामक हर्मोन उत्पादन गर्ने गर्दछ। यसले उत्पादन गर्ने हर्मोनमा हुने गडबडी नै ‘थाइराइड’ हो। टी थ्री र टी फोर हर्मोनको उत्पादन बढी भएको अवस्था ‘हाइपर थाइराइडिज्म’ हो भने दुवै हर्मोनको उत्पादन कम भएको अवस्थाचाहिँ हाइपो थाइराइडिज्म हो।

नेपाली समाजमा केही वर्षयता थाइराइडसम्बन्धी स्वास्थ्य समस्या चुनौतीका रूपमा देखा परेको छ। थाइराइडको समस्या प्रायः गरी २० देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा रहने चिकित्सकको भनाइ छ। बालबालिकामा शारीरिक विकास सुस्त हुने, बौद्धिक विकास कमजोर हुने, अस्वाभाविक ढंगले मोटाउने, शारीरिक अंगहरूको विकास राम्रोसँग नहुने, केटीहरूमा रजश्वला नहुनेलगायतका समस्या हुन सक्ने औँल्याइएको छ। थाइराइडले फोक्सोको चाल र फोक्सोबाट रगतमा पठाउने अक्सिजनको मात्रा बढाउने वा घटाउने, रगतमा अक्सिजनको मात्रा बढ्ने वा घट्ने, कलेजोमा ‘सुगर’ बन्ने प्रक्रियालाई तल–माथि बनाउने, थाइराइडबाट उत्पादित हर्मोनले ‘कोलेस्टेरोल’को मात्रा धेरै घटाउने वा चाहिनेभन्दा बढाइदिने, नसालाई निष्क्रिय बनाउने, प्रायः महिलाको थाइराइडका कारण महिनावारी गडबड हुने र बाँझोपनको समस्या हुने चिकित्सकहरूले जनाएका छन्।

चितवनमा हालै गरिएको अध्ययनमा सामान्य व्यक्तिको स्वास्थ्य परीक्षण गराउँदा पनि १२ प्रतिशत र सुगरका बिरामीमा २४ प्रतिशत थाइराइड देखिएको छ। अनावश्यकरूपमा तौल बढ्ने, आवाजमा धोद्रोपन आउने, हातगोडा सुन्निने, हातखुट्टा झमझम गर्ने, एकदम पसिना आउने, प्रेसर कम वा बढ्ने, मनोबल कमजोर देखिनेजस्ता लक्षण देखिए थाइराइड हुन सक्छ। कतिपय अवस्थामा नियमित औषधि सेवन गर्दा रोग निको हुने र कतिपय अवस्थामा जीवनभर नै औषधि खानुपर्ने पनि हुन्छ। खानामा आयोडिनको मात्रा बढी वा कम भए पनि थाइराइडसम्बन्धी समस्या देखिन सक्छ। उमेरअनुसार विभिन्न लक्षण देखिने यस रोगबारे समयमै सचेत हुनुपर्छ। थाइराइडका कारण अन्य रोग पनि लाग्ने सम्भावना बढी भएकाले समयमै थाइराइड परीक्षण गरेर ढुक्क भई स्वस्थ जीवन जिउनु आवश्यक देखिन्छ।
– सुधीर रोका, खोटाङ

प्रतिक्रिया दिनुहोस्