लगानी ३ खर्ब १२ अर्ब नाफा ४१ अर्बमात्रै



नेपाल समाचारपत्र
काठमाडौं
सोमबार सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति, कार्यसम्पादन सन्तोषनक देखिएको छैन। ३ खर्ब १२ अर्ब रुपियाँभन्दा बढी सरकारी लगानी रहेका सार्वजनिक संस्थानमा कुल लगानीको १३ दशमलव १४ प्रतिशत बराबर मात्रै आय गरेको देखिएको छ।

अहिले व्यावसायिक सञ्चालनमा रहेका ३७ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान मात्र नाफामा सञ्चालन भइरहेका छन् भने ११ वटा संस्थान घाटामा चलिरहेका छन्। २६ वटा संस्थानको नाफा ४२ अर्ब ६८ करोड र ११ वटा संस्थानको घाटा १ अर्ब २५ करोड रुपियाँ रहेको छ। सार्वजनिक संस्थानमा रहेको ३ खर्ब १२ अर्ब ८ करोड रुपियाँबराबर लगानीमार्फत् सरकारले ४१ अर्ब रुपियाँ मात्र नाफा कमाउने देखिएको छ। संस्थानमार्फत् हालसम्म सरकारले ७ खर्ब ७८ करोड रुपियाँ बराबर लाभांश पाएको छ।

पछिल्ला वर्षमा केही सार्वजनिक संस्थानले आफ्नो वित्तीय स्वास्थ्य सुधार गर्दै गएको देखिए पनि प्रशासनिक रुपमा भने अझै सुधार हुन सकेको देखिँदैन। १० वटा सार्वजनिक संस्थानले मात्र समयमा लेखापरीक्षण गराउने देखिएको छ भने एक वर्षसम्म ढिला गरी लेखा परीक्षण सम्पन्न गर्ने सार्वजनीक संस्थान १० वटा रहेका छन्।

त्यसैगरी एक वर्षभन्दा ढिला गरी लेखा परीक्षण गराउनेमा १५ वटा सार्वजनिक संस्थानहरू रहेका छन्। समयमा लेखापरीक्षण गराउन नसक्नु पनि सार्वजनिक संस्थानको मुख्य चुनौतीका रुपमा रहेको छ।

उच्चतम् नाफा आर्जन गर्ने पाँच वटा संस्थान
गत आर्थिक वर्षमा उच्च नाफा आर्जन गर्ने पाँच वटा संस्थानमा क्रमशः नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन्। यी संस्थानको जम्मा सञ्चालन आय समग्र संस्थानको कुल सञ्चालन आयको ६९ दशमलव ४ प्रतिशत रहेको छ। बाँकी २१ वटा संस्थानको सञ्चालन आयको अंश २८ दशमलव ७ प्रतिशत रहेको छ।

संस्थानको समग्र सञ्चालन आयमा खुद नाफा आर्जन गर्ने २६ संस्थानको सञ्चालन आय ९८ प्रतिशत रहेको छ। यी संस्थानमध्ये नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक विगतमा नोक्सानीमा रहेका कारण हालसम्म पनि सञ्चित नोक्सानीमा रहेका छन्।

सरकारको ९१ दशमलव ४ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले यस आर्थिक वर्षमा सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ। कुल सञ्चालन आयमा यस संस्थानको सञ्चालन आयको अंश १२ दशमलव ५ प्रतिशत रहेको छ।

इन्धनमा स्वचालित मूल्य निर्धारण प्रणालीको अबलम्बन गरेपछि नेपाल आयल निगमको आर्थिक स्थिति मजबुत बन्दै गएको देखिएको छ। आयल निगमको सञ्चालन आय कुल सञ्चालन आयको ४७ दशमलव २ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा आर्जन गर्ने तेस्रो संस्थानमा नेपाल बैंक रहेको छ। यस संस्थानले समग्र संस्थानको कुल सञ्चालन आयमा २ दशमलव ६ प्रतिशत मात्र अंश ओगटेको छ।

नेपाल बैंंकले आर्थिक वर्ष २०७३÷७४ मा आर्जन गरेको आफ्नो कुल सञ्चालन आयमध्ये ३४ दशमलव ८ प्रतिशत प्रशासनिक खर्चमा उपयोग गरेको छ। बढी नाफा कमाउने संस्थानको चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। आर्थिक वर्ष २०७३÷७४ मा जम्मा खुद नाफाको ६ दशमलव ५ प्रतिशत खुद नाफा आर्जन गरेको छ। तर, बैंकको सञ्चालन आय समग्र संस्थानको कुल सञ्चालन आयको ३ दशमलव १ प्रतिशत रहेको छ। अन्य संस्थानको प्रशासनिक खर्च भन्दा यस संस्थानको प्रशासनिक खर्च सबैभन्दा बढी देखिन्छ। राष्ट्रिय वाणिज्य बैंकको प्रशासनिक खर्च ३९ दशमलव ७ प्रतिशत रहेको छ।

उच्च नाफा कमाउने संस्थानको पाँचौं स्थानमा कृषि विकास बैंक देखिएको छ। कृषि विकास बैंकले समग्र खुद नाफा आर्जन गर्ने संस्थानको खुद नाफामा ६ प्रतिशत आर्जन गरेको छ भने सञ्चालन आय ३ दशमलव ९ प्रतिशत रहेको छ।

बढी नोक्सानमा रहेका ५ संस्थान

आर्थिक वर्ष २०७३÷७४ मा उच्चतम नोक्सानीमा रहेका ५ वटा संस्थानमा क्रमशः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, दुग्ध विकास संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल ओरिन्टेड म्याग्नेसाइट प्रालि र नेपाल खानेपानी संस्थान रहेका छन्। यी संस्थानको जम्मा सञ्चालन आय समग्र संस्थानको कुल सञ्चालन आयको १ दशमलव ८ प्रतिशत रहेको छ।चालू आर्थिक वर्षमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको खुद नोक्सानी समग्र संस्थानको जम्मा नोक्सानीको २५ दशमलव ३ प्रतिशत रहेको छ। यस संस्थानको सञ्चिति नोक्सानी चालू आर्थिक वर्षको ८ महिना अवधिसम्ममा २ अर्ब ७ करोड ७४ लाख रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्