बजेटप्रति सर्वत्र चासो



समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेको वर्तमान सरकारले आज मंगलबार मुलुकको बजेट सार्वजनिक गर्दै छ । अर्थतन्त्र धराशायी भएको स्वेतपत्र जारी गरेको अहिलेको सरकारले ल्याउन लागेको बजेटतर्फ सबैको चासो र आकर्षण बढेको अवस्था छ । चौपट भएको अर्थतन्त्र उकासिने अनि नेपालीलाई सुखी हुने बजेट ल्याउने आश्वासन सरकारले दिएकाले पनि यस बजेटप्रति जनचासो बढेको हो । ठूला र महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको सरकारले ती योजनाहरूलाई कसरी कार्यान्वयन गर्ने, के–कति आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने स्पष्ट खाका ल्याउनुपर्ने जनताको अपेक्षा रहेको छ ।

राजनीतिक क्रान्ति पूरा भइसकेकाले अबको नेपाल र नेपालीको गन्तव्य समृद्धि र विकास हुनुपर्ने विषयलाई जोडदार रूपमा उठाउँदै आएको सरकारले ल्याउन लागेको बजेट राजनीतिज्ञ, व्यापारी, कर्मचारी सबैबाट चासोपूर्वक हेरिएको छ ।

यसै क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको आकार ३ खर्ब ६४ अर्ब रुपियाँले बढेर यो वर्ष ३० खर्ब ७ अर्ब २४ करोड रुपियाँ हुने कुरा सार्वजनिक गर्नुभएको छ । चालू आर्थिक वर्षको गत ८ महिनाको तथ्यांक र बाँकी ४ महिनाको अनुमानित तथ्यांकका आधारमा अर्थतन्त्रको आकार ३० खर्ब नाघ्ने देखिएको हो  । प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार वर्तमान बजार मूल्यअनुसार साढे ३ खर्ब रुपियाँभन्दा बढीले अर्थतन्त्रको आकार बढ्नेछ  । गतवर्ष यो २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख रुपियाँ थियो  ।

आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा व्यापार घाटा ११ खर्ब नाघ्ने भएको छ  । निर्यातको तुलनामा आयात वृद्धिदर उच्च हुँदा व्यापार घाटा झन् बढ्ने सर्वेक्षणमा उल्लेख छ  । यो मुलुकको अर्थतन्त्र उकास्ने दिशामा ठूलो चुनौती रहेको छ । निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि हुँदा आयात २२ दशमलव १ प्रतिशतले बढेको छ  । यसले गर्दा चालू आर्थिक वर्षको अन्त्यसम्म व्यापार घाटा २१ दशमलव २ प्रतिशतले बढ्ने सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले यस्ता पक्षलाई केलाएर व्यापार घाटा कम गर्दै मुलुकको अर्थतन्त्रलाई उकास्नुपर्ने खाँचो छ ।

बजेटको स्रोतको रूपमा प्रयोग हुने वैदेशिक सहयोगको परिचालनलाई कम गर्ने नीति बजेटले लिनु आवश्यक देखिन्छ । आचारसंहिताको पालना, प्रविधिको प्रयोग, खर्च कटौती, आयकर र मूल्य अभिवृद्धि करको दायरालाई फराकिलो पार्ने, भन्सार नाकाहरूको क्षमता अभिवृद्धि, आयातलाई निरुत्साहित हुने गरी आन्तरिक उत्पादन र आन्तरिक कच्चा पदार्थमा निर्भर वस्तु निर्माणमा जोड दिनुपर्छ ।

आयात घटाई निर्यातलाई प्रवद्र्धन गर्ने गरी कृषि उत्पादन, औद्योगिक उत्पादन तथा घरेलु उत्पादनलाई विशेष सहुलियत दिएर प्रोत्साहन गर्नुपर्छ । आर्थिक विकास र समृद्धिको मार्गमा अघि बढ्ने लक्ष्यसहित गठित वर्तमान सरकारले मुलुक र जनताको आशा आगामी बजेटमार्फत सम्बोधन गर्ने अपेक्षा सबै पक्षबाट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्