मिस नेपाल खतिवडा स्वास्थ्य संस्था स्थापना गर्दै



हेटौंडा, (नेस)। सरकारले मिस नेपाल प्रतियोगितालाई बुझ्न नसकेर फरक व्यवहार गरेको भन्दै चित्त दुःखाएकी मिस नेपाल वल्र्ड शृंखला खतिवडाले गृहजिल्ला मकवानपुरको विकट कैलाश गाउँपालिकाको चेपाङ बस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर चुनौती दिने भएकी छन्।

उनले सोसल साइटमार्फत् भिडियो तथा फोटो सेयर गर्दै स्वास्थ्य संस्था स्थापना गर्ने बताएकी हुन्। उनले कैलाश गाउँपालिका–७, भार्ता पुगेकी उनले चेपाङ परिवारको घरमै पुगेर भलाकुसारी गरेकी थिइन्। चेपाङको बाहुल्यता रहेको भार्तामा बालविवाह ८६ प्रतिशत रहेको उल्लेख गर्दै उनले त्यहाँका धेरैजसो बालबालिका कुपोषणको सिकार भएको बताएकी छन्। उनले ८ सन्तानकी आमा ३२ वर्षीया महिलालाई भेटेको उल्लेख गरेकी छन्। त्यहाँका ४० प्रतिशत गर्भवतीले मात्र सुरक्षित सुत्केरी सेवा लिने गरेको उनले उल्लेख गरेकी छन्।

हेल्थपोस्ट पुग्न कम्तीमा साढे २ घन्टा लाग्ने र वर्षाको समयमा करिब ५ घन्टा हिँड्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय लिएकी हुन्। उनी पाठेघर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालनका क्रममा त्यहाँ पुगेकी हुन्।

श्रृंखलाले आफूले गर्ने सामाजिक कार्य मकवानपुर केन्द्रित भएर गर्ने बताइन्।
मिस नेपाल खतिवडाले बालयौन दुव्र्यवहार र भूकम्प पुनर्निर्माणमा आफ्नो कार्य अवधिमा केही गर्न चाहेको बताइन्। भूकम्पबाट प्रभावित सर्वसाधारण अझै पनि पालमा बस्नुपरेकोले खतिवडाले पुनर्निर्माणमा आफ्नो हात अघि बढाउने भन्दै पीडितलाई आश्वस्त पारेकी छिन्। बालबालिकाका लागि पनि आफूले विभिन्न कार्य गर्ने योजना बनाएको खतिवडाले बताइन्।

प्रतिक्रिया दिनुहोस्