घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो



डडेल्धुरा, डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा आगो लागेको छ । साथै जिल्लाका अन्य सामुदायिक र सरकारी वनमा समेत आगो लागेको वनकर्मीहरु बताउँछन् ।

नयाँ घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताले आफैँ आगो लगाउने गर्छन् । सुक्खा मौसमका कारण आगो नियन्त्रमा ल्याउन नसक्दा अन्य वन पनि विनाश हुने गर्छ ।

गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकी वन विनाश हुने गर्छ । भिरालो र घना जंगल र स्याउला सोत्तर र हावाका कारण आगो नियन्त्रण गर्न नसकिएको थाम वनका उपभोक्ताले जनाएका छन् ।

आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो लाग्ने क्रम शुरु भएको वन अधिकारीहरुको भनाइ छ । अमरगढी–७ को कालापाथ्थर सामुदायिक वन, अजयमेरुका शिखरसुइडोव, त्रिशूल, धुरापनलोडा सामुदायिक वन र भद्रपुरलगायतका वन क्षेत्रमा आगो लागेको छ ।

सुक्खा मौसमका कारण सल्लेरी वनमा आगो लाग्ने क्रम स्थानीयबाट नै बढ हुने गरेको खुल्न आएको छ । जनचेतनाको कमी र गाईभैँसीलाई वनमा चराउन सजिलो हुने भन्दै उपभोक्ताले आगो लगाउने गरेको बुझिएको छ । अग्निरेखा खोलेर सल्लेरी वनमा लगाइएको आगोले शिखरसमैजी सामुदायिक वनमा रहेका स–साना बुट्यान नयाँ बिरुवा विनाश गरेको उक्त वनका पदाधिकारीले जनाएका छन् ।

उपभोक्ताको लापरवाही र निजी वन खोरिया गजालहरुमा घाँसका लागि स्याउला र अन्य झारपात जलाउन खोज्दा आगो नियन्त्रण गर्न नसकी पूरै वन सखाप हुने गरेको सामुदायिक वनका पदाधिकार बताउँछन् ।

आगोलाई स्थानीय उपभोक्ताले नियन्त्रण गर्न खोज्दाखोज्दै पनि लामो खडेरीका कारण र बाक्लो स्याउला सोत्तरले गर्दा आगो निभाउन कठिन हुने गरेको समैजी सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ ।

सामुदायिक र कबुलियती वनमा लामो समयपश्चात् आगो लाग्दा साना बुट्यान, बिरुवा सखाप हुने जंगली जनावरसमेत प्रभावित हुने गरेको स्थानीय उपभोक्ताले जनाएको छ । डडेल्धुरामा मात्रै करीब छ शय्या सामुदायिक र कबुलिती वन रहेका छन् । हरेक वर्ष गर्मी मौसममा डडेल्धुराका प्रायःजसो सबै सल्लेरी वन र अन्य वनमा आगोका कारण वन विनाश हुँदै गइरहेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्