पाँच बर्ष सम्म पनि बनेन विद्यालय भवन



हिक्मत नेपाली, दैलेख ।
यहाँको गुराँस गाउँपालिका वडा नं. ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । विद्यालयको १२ कोठे भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो । भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएको भवनको ढलान मात्र पुरा भएको छ । खानी निर्माण सेवा, बानेश्वर काठमाडौंले ठेक्का लिएको भवन अझै निर्माणाधीन अवस्थामा छ ।

ठेकेदार कम्पनीकै लापरवाहीले निर्माणमा ढिलाई भएको हो । ठेकेदार पक्षले भने जिल्ला समन्वय समितिले भुक्तानी नदिदा ढिलाई भएको दाबी गरेको छ । भवन निर्माणको प्राविधिक जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ ।

जिल्ला समन्वय समिति दैलेखका नायब सुब्बा पूर्णबहादुर योगीले ठेकेदारले निर्माणमा ढिलाइ र गुणस्तरहीन काम गरेकाले भारतीय दूतावासले रकम निकासामा ढिलाइ गरेको बताए । उनका अनुसार काम सम्पन्न गरेको कागतजात उपलब्ध भए मात्र दूतावासले रकम उपलब्ध गराउने जनाएको छ । भारतीय दूतावासको तीन करोड ८४ लाख सहयोगमा भवन निर्माण सुरु गरिएको थियो ।

भवन निर्माणमा ढिलाइ हुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए । उनका अनुसार भवन निर्माण अपूरो भएपछि दूताबासले केही रकम निकासा दिएको छैन ।

विद्यालयका शिक्षक खगेन्द्र खत्रीका अनुसार पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि दूताबासलाई सहयोग मागिएको थियो । पठनपाठन भइरहेको भवनसमेत जीर्ण भएकाले समस्या भएको उनले जनाए ।

‘पुरानो भवन जीर्ण भएकाले विद्यार्थी बस्नै मान्दैनन,’ उनले भने, ‘त्यसैले कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई ९ वटा कोठामा कोचाकोच गरेर पठनपाठन गराइरहेका छौं ।’ भवन निर्माणको लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठन–पाठनमा समस्या भएको छ । भवन तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरि निर्माण सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्