एयरपोर्टबाट सुन लैजाने एसएसपी खत्री



काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले फरार अभियुक्त एसएसपी श्याम खत्रीले एक किलो सुन त्रिभुवन विमानस्थलमा भित्र्याए वापत ५० लाख लिने गरेको बयानमा उल्लेख गरेका छन्।

एसएसपी खत्रीले विमानस्थलमा हुँदा ४ सयदेखि ५ सय किलोसम्म सुन भित्र्याएको बयान गोरेले जिल्ला अदालत मोरङमा दिएका हुन। खत्रीले सुन विमानस्थलबाट सीधै आफ्नो निवास लैजाने र निवासबाटै वितरण गर्ने गरेको गोरेले बताएका छन्। खत्रीले अनुकूल समय मिलाएर मात्र सुन बाहिर ल्याउने र आफ्ना भरियाहरुलाई दिनेगरेको बयान गोरेले अदालतमा दिएका छन्।

जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेका खत्री नै प्रहरीको मुख्य तस्कर भएको बयान गोरेले दिएका हुन्।

गोरेले प्रहरीका साथै सुन तस्करीमा फ्लाई दुवई र थाई एयरवेज प्रयोग हुने बयान दिएका छन्। उनले २५ देखि ३० किलोसम्मको सुन एक पटकमा ल्याउन मिल्ने र उक्त सुन विमानको शौचालयमा समेत राखेर ल्याउने गरेको जिल्ला अदालतमा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्