इजिप्टका सालाह विश्वकप खेल्ने आशामा



इजिप्ट तथा लिभरपुलका स्टार फरवार्ड मोहमद सालाहको काँधमा लागेको चोटका कारण उनको आसन्न रसिया विश्वकप यात्रामा सन्देह बढेको थियो।

च्याम्पियन्स लिगको फाइनलमा रियल मेड्रिडविरुद्धको खेलमा रक्षक सर्जियो रामोससँगै मैदानमा लडेपछि उनलाई काँधमा चोट लागेको थियो।

सर्जियो रामोससँग बल खोस्ने क्रममा सालाह लडेका थिए। उनको हात रामोसको हातसँग बाँधिएपछि भुइँमा पछारिँदा चोट लागेको थियो।

खेलपछि मिडियासँग बोल्दै लिभरपुलका प्रशिक्षक यर्जेन क्लोपले सालाहको चोट गम्भीर भएको बताए। उनको प्रतिक्रिया आएपछि इजिप्सियनको लागि सालाह विश्वकपमा खेल्न नसक्ने हुन् कि भन्ने त्रास भएको थियो।

तर सालाहको भिडियो एक्सरेमा काँधको जोर्नी मक्किएको देखाएको इजिप्टको राष्ट्रिय टिमका डाक्टर मोहमद अबु आलाले जनाएका छन्। लिभरपुलको डाक्टर टिमले सोको जानकारी गराएको इजिप्टको राष्ट्रिय टोलीले जनाएको छ।

इजिप्टको राष्ट्रिय टोलीको वक्तव्यमा लेखिएको थियो– ‘लिभरपुलको डाक्टरको टोलीले उनको एक्सरे रिपोर्टमा काँधको जोर्नी मक्किएको हाम्रो टोलीका डाक्टर मो. अबु आलालाई जानकारी गराएको छ। उनको काँध बाँधिएको छ। डाक्टर आलाले सालाहले विश्वकप खेल्न सक्नेमा आशावादी रहेका छन्।

सालाहकै कारण इजिप्ट २८ वर्षपछि विश्वकपमा छनोट भएको हो। उनलाई इजिप्टका मेसी भनेर पनि सम्बोधन गरिन्छ। उनी यस सिजनमा इंग्ल्यान्डमा हुने पीएफए अवार्डमा वर्ष खेलाडी घोषितसमेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्