राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि किम कतिबद्ध छ: केसीएन



सोल, (एजेन्सी)
उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले किम जोङ उन सिंगापुरमा अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ताप्रति कतिबद्ध रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार किमसँगको शिखर बैठकलाई रद्द गरेका थिए । तिथि र स्थानसमेत तय भइसकेको वार्ता रद्द गर्नुको कारण सत्रुतापूर्ण रवैया भएको ट्रम्पले बताए थिए । यसपछिको विकसित घटनाक्रममा उत्तर कोरियाको तर्फबाट सद्भावनापूर्ण सन्देश आएपछि दुई नेताबीचको भेटवार्ता हुन सक्नेमा आशाका किरण देखिएका छन् ।

शनिबार ट्रम्पले जुन १२ को प्रस्तावित भेटवार्तामा कुनै परिवर्तन नभएको बताएका थिए । यसबीच शनिबार उत्रर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच आकस्मिक भेटवार्ता भएको थियो ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनले उत्तर र दक्षिण कोरियाका नेताबीच भेटवार्ताको क्रम जारी रहने जनाएको छ । दक्षिण कोरियाका राष्टपति मुनका प्रवक्ताले शनिबार भएको उक्त आकस्मिक भेटवार्ता २ घण्टा लामो भएको बताए । दुई नेताबीच दुई देशको सीमा क्षेत्रमा पर्ने असैनिक क्षेत्रमा भएको थियो । यो उनीहरुबीच ४ हप्ताभित्र भएको दोस्रो भेटवार्ता हो ।

किम र मुनबीचको यो भेटवार्ता किम र राष्ट्रपति ट्रम्पबीचको बैठकलाई सुनिश्चित गर्नु रहेको बताइएको छ । दुबै नेताबीच कोरियाली प्रायद्विपमा परमाणु निशस्त्रीकरणलाई लिएर भेटघाटको क्रमलाई रोक्नु नहुनेमा सहमति बनेको केसीएनले उल्लेख गरेको छ ।

राष्ट्रपनि ट्रम्पसँग सिंगापुरमा भेटवार्ता आयोजना गर्ने प्रयासका लागि किम जोङ उनले मुनलाई धन्यवाद दिएको केसीएनएले जनाएको छ । किम उक्त भेटवार्ताका लागि कतिबद्ध रहेको पनि एजेन्सीले उल्लेख गरेको छ । एक विज्ञप्तीमा किम र मुन शुक्रबार अर्को उच्च स्तरीय भेटवार्ताका लागि सहमत भएको जनाएको छ । यद्यपि यस विषयमा थप जानकारी भने दिएको छैन ।

यसैबीच ≈वाइट हाउसले शनिबार किम र ट्रम्पको सम्भावित भेटवार्ताको तयारीलाई लिएर सिंगापुरमा एक टोली पठाएको पुष्टि गरेको छ । शनिबार एक ट्विटमा राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमहरुप्रति रोष प्रकट गरेका थिए । उनले किमसँगको रद्द वार्ता पुनः कायम भए जुन १२ मा सम्भव नहुने सञ्चार माध्यमको अनुमानलाई अस्वीकार गरेका थिए ।

उनले सञ्चार माध्यमलाई भरपर्दो स्रोतको प्रयोग गर्न भनेका थिए । अमेरिकाले उत्तर कोरियासमक्ष परमाणु हतियार कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने माग गर्दै आइरहेको छ । उत्तर कोरियाले सन् २०१६ देखि अहिलेसम्ममा ६ वटा परमाणु परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्