गोरे जेल चलान, सुन तस्करीमा प्रहरी र ठूला नेताकै संलग्नता



सरोज यादव, विराटनगर
३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो।

चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतबार नै थुनछेक बहस भएको थियो। जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गरेका थिए। सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा यसअघि नै पठाइसकेको छ। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो।

यसैबीच तस्करीको साढे ३३ केजी सुन गायब भएपछि ज्यान गुमाएका उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको मुख्य अभियुक्त ‘गोरे’ले दाबी गरेका छन्। जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन्। उनले आफू नभएको मौका पारेर सनमलगायतलाई लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेको उल्लेख गरेका छन्।

‘मैले करेन्ट लगाउन पनि निर्देशन दिएको होइन।’ –गोरेले बयानमा भनेका छन्। गोरेले बयानमा कुटाइ र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको बताएका छन्। सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेको गोरेले बयान दिएका छन्। गोरेले सनमको हत्या गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन्। ‘हराएको सुन पत्ता लगाउन कुटपिट भएको हो। दुर्भाग्यवश सनमको मृत्यु भयो।’ –उनले आफूले अघिल्लो दिन कुटपिट गरेको तर सनमको मृत्यु भएको दिन कुटपिट नगरेको बताएका छन्।

सनमको मृत्युपछि आफूहरू आत्तिएको पनि उनले बताएका छन्। ‘मैले पहिलेदेखि चिनेका प्रहरीसँग सम्पर्क गर्न थालेँ’, –उनले भनेका छन्। ‘सई बालकृष्ण सञ्जेलसँग मेरो सम्पर्क भयो। मैले पहिले इन्डियन तस्करहरूले साथीलाई मा¥यो भनेको थिएँ’ –सञ्जेलले त्यसबेला ‘माथि जाहेर गरेर खबर गर्छु’ भनेको उनको भनाइ छ।

‘त्यस बेला त्यहाँ भेला भएका अरू केटाहरूले लास गाड्नलाई खाल्डो खनिसकेका थिए’, उनले भने– ‘पछि सई सञ्जेलले मलाई फोन गरेर सहयोग गर्न आउँदै छौं। नआत्तिकन बस्नु भनेपछि खाल्डो खन्न छोडेर हामीबीच शवलाई सनमको घरसम्म पु¥याउने विषयमा छलफल भएको थियो।’
यसैबीच गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

तर, आफू नाइके नभएको उनले दाबी गरेका छन्। जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन्। गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन्। धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ।

आफूले भरियाहरूको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने आफू सामान्य मानिस मात्र भएको बयान दिएका छन। छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ। सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ। कोको संलग्न छन् यकिन भन्न नसक्ने उनको बयान छ।

बयानका क्रममा गोरेले ३८ क्विन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको खुलासा गरेका छन्। खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ। गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मुख्य भूमिका रहेको बयान दिएका छन्। फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत झोलामा सुन आउने र भरियालाई प्रहरीले उपलब्ध गराएको पासमार्फत सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा पुगेर झोला त्यही छाडिदिन्थे।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे। ‘श्याम खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो ५० हजार उनी आफैंले बुझ्थे’ –गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ। यही माध्यमबाट ५ सय किलोसम्म सुन आउने गरेको गोरेले बयान दिएका छन्।

यसैबीच सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ सनम हत्यापछि भारत गएको खुलेको छ। बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन। गोरेले आफू, भोजे मामा, टुकबहादुर, दावा शेर्पा, सुरेन्द्र गौतम, लाक्पासहित इन्डिया जान जोगवनीतर्फ गएको र आफूसहित ५ जना साथीको प्राडो गाडी चढेर कलकत्ता पुगेको बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्