एटीएममा भेटेको रकम बैंकलाई हस्तान्तरण



काठमाडौं, (नेस)
सशस्त्र प्रहरीका कर्मचारीले एटीएममा पैसा निकाल्न जाँदा ३० हजार रुपियाँ नगद भेटाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकका रूपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपराह्न काठमाडौंको नयाँ बानेश्वरस्थित एक एटीएमबाट रकम निकाल्न खोज्दा उनले उक्त रकम भेटाएका थिए।

त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको एटीएम मेसिनबाहिरै रहेको अवस्थामा सो रकम भेटिएको थियो। उक्त रकम उनीअघिका एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ। निज सशस्त्र प्रहरी जवान श्रेष्ठले सो रकम आइतबार ग्लोबल आईएमई बैंक नयाँ बानेश्वरका शाखा प्रबन्धक सुशीलकुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाइदिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्