महानगरपालिकाले जगाएको आशा



मुलुकको धरोहरको रूपमा रहेको धरहरा पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले तत्परता देखाएको छ । विश्वभर नै नेपालको पहिचानको रूपमा रहेको धरहरा २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट ध्वस्त भएको थियो । धरहरा पुनर्निर्माण कसले गर्ने भन्ने विषयमा विवाद रहँदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सञ्चालन गर्नुभएको थियो भने नेपाल टेलिकमले पनि धरहरा आफूले बनाउने घोाषणा गरेको थियो । धरहरा कसरी बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा धरहरा पुनर्निर्माण अनिश्चित बन्दै गएको थियो । धरहरा पुनर्निर्माणमा काठमाडौं महानगरपालिका अग्रसर भएपछि अहिले धरहरावरपर बनेका भौतिक संरचना हटाउने कामलाई तीव्रता दिइएको छ ।

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको हालै बसेको बैठकले धरहरावरपर बनेका भौतिक संरचना हटाउने निर्णय गरी यसलाई कार्यान्वयनमा उतारेको छ । यहाँका भौतिक संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिँदा पनि अटेर गर्नेहरूलाई चेतावनी दिँदै महानगरपालिकाले एक होटलसहित १३ वटा संरचना हटाएको छ । स्थानीय निकायमाथि जनताको अपेक्षाअनुरूप काम हुन नसकेको आरोप लाग्दै आएको थियो । हिजो र आजको अवस्थामा स्थानीय निकायमा कुनै परिवर्तन नआएको भन्दै तीव्र आलोचनासमेत भइरहेको थियो । यस अवस्थामा महानगरपालिकाले मुलुककै धरोहरको रूपमा रहेको धरहरा पुनर्निर्माणमा देखाएको तत्परताले अब त धरहरा पुनर्निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।

मुलुकको धरोहरका रूपमा रहेका अन्य संरचनाहरूको पुनर्निर्माणमा ढिलासुस्ती देखिएको छ । धरहराको पुनर्निनिर्माण हुने आशा जागे पनि मुलकका अन्य संरचनाले कहिले मूर्तरूप लिने हुन् ? त्यो हेर्न बाँकी रहेको छ । मुलुकको पहिचानको रूपमा रहेको धरहरा पुनर्निर्माणमा देखिएको अन्यौलताले पनि अन्य क्षेत्रको पुनर्निर्माणको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । सरकारी निकायबीच नै समन्वय हुन नसक्दा यस्ता सांस्कृतिक धरोहर मात्र होइन, निजी स्तरमा बन्दै गरेका घरहरू पनि बन्न सकेका छैनन् । सरकारले यस्ता विषयमा ध्यान दिनु जरुरी छ । कर्मचारीतन्त्रमा देखिएको बेथितिलाई अन्त्य गर्दै मुलुक पुनर्निर्माणको पर्खाइमा रहेकाले त्यसतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ ।

मुलुकमा भूकम्प गएको पनि ३ वर्ष बितिसकेको छ तर पुनर्निर्माणको गति हेर्दा लाजमर्दो अवस्थामा छ । विदेशी दातृनिकायले दिने भनी घोषणा गरेको रकमसमेत समयमा प्राप्त नहुनुले पनि पुनर्निर्माण प्रभावित भएको बताइन्छ । यस अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर होइन, जनताको चाहनाअनुरूप पुनर्निर्माण कार्य अगाडि बढाउनुपर्छ । धरहरावरपरका संरचना हटाउन महानगरपालिकाले अहिले जसरी अग्रसरता देखाएको छ त्यसरी नै धरहरा पुनर्निर्माणमा
पनि तदारुकता देखाओस् ।

प्रतिक्रिया दिनुहोस्