नाङ्गा बादशाहहरूको पोशाक–जात्रा



मुक्तिबन्ध
मालेमावादले नयाँ–नयाँ छलाङ मारेको आजको सुमधुर समाजवादमय सरकार सज्जित नेपालमा नलेख्न जति सजिलो छ, लेख्न त्यत्तिकै गाह्रो छ। के, किन र कसका लागि लेख्ने ? नाङ्गा बादशाहहरू आ–आफ्ना नग्नताको भव्यतामै मख्ख छन्। मख्खहरूले तपाईंको लेख किन पढ्छन् ? त्यसमा पनि अहिले त नग्न बादशाहहरूका पोशाक–जात्राको सिजन छ। जात्राका महिमाशाली सर्जकहरू आफ्ना सिर्जनामै आकण्ठ मग्न छन् भने दर्शकहरू दर्शनमै निहाल छन्। यति वेला तपाईंले बटुलेर बिस्कुन हालेका समाचार पनि कसैले किन पढ्छन् ? यति हुँदा पनि लेख्नेहरू लखिरहेका छन्, छाप्नेहरू छापिरहेका छन्। कहिले त उदेक लाग्छ।

केही दिनअघि एकजना वरिष्ठ पत्रकारले आफ्नो पत्रिकाको अग्रपृष्ठमा त्यस्तै एउटा आलेख छपाउनुभएको थियो । त्यसको शीर्षक थियो– अब हामीले पत्रकारिता किन गर्ने ? मैले फेसबुकमार्फत त्यस शीर्षकको अभ्यन्तरलाई तत्काल समर्थन जनाएँ। यहाँ सत्यतथ्यका अन्वेषक इमानदार पत्रकारहरूले पत्रकारिता किन गर्ने ? लेखकले किन लेख्ने ? कुन पुण्यका लागि कसले, कहाँ, कसलाई सुनाउन पाठ गर्ने पत्रिकाका नित–नवीन विकृतिकथाहरू ? जसरी गरुडपुराणमा वर्णित स्वर्ग–नरक कसैले देखेका छैनन् त्यसै गरी पत्रिकामा प्रकाशित भ्रष्टाचार, अन्याय, अत्याचार र घूसखोरी तस्करीका नायक–महानायकहरूलाई साँच्चासाँच्ची कसैले देखेका छैनन्। तिनका भरिया र दलालहरू यदाकदा देखिन्छन्। मानवअधिकारका छाताको सहज उपलब्धिले तिनीहरूलाई घामपानीको पहुँचमा पर्नै दिँदैन, जोगाई बस्छ। हामीले पत्रिकामा पढेका थियौँं– भूकम्पपीडितहरूलाई रकम निकासा दिँदा सरकारी कर्मचारीले ७ अर्ब घूस खाए। समाचार मर्मभेदी थियो।
खुल्दुली जाग्यो।

उत्सुकता बोकेर हप्तौंसम्म सडकमा कान–आँखा बिछ्याउँदै थप समाचार कु¥यौं। ती घूस खानेहरूलाई पर्गेलेर सरकारले उचित दण्ड सजाय दिएको समाचार हामीले कतै पढ्न पाएनौं। पार्टी नामक विभिन्न खानपानगणका शीर्षपुरुषहरूले आफू प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री हुँदा आफ्ना गणका खप्पिस सिकारी साथीभाइ, सालासाली, बिरालाबिरालीलगायतलाई विभिन्न बहानामा करोडौं सरकारी रकम बाँडेका कन्सिरीतापक समाचारहरू पढ्यौं। विगत २० वर्षदेखि पढिआएका छौं।

त्यसरी खर्चिएका रकमले मुलुकमा सयौं शिक्षालय बन्न सक्थे, सयौं अस्पताल बन्न सक्थे। कति दुर्गम क्षेत्रमा सुगमकारी सडक पु¥याइन सक्थे।

प्रगतिका पूर्वाधार तयार गरिन सक्थे। जनताका भाग्य भविष्यको भित्तो फोरेर भोज, मोज र आफ्ना सात पुस्तासम्मका लागि सोज गर्र्ने ती गणनायक, उपनायक, निमित्त नायक, प्रधानमन्त्री, मन्त्री र तिनका आसेपासे पाल्तु भोजबहादुर, मोजबहादुर कसैमाथि उचित कार्वाही भएको र सरकारी ढुकुटीमा रकम फिर्ता गराएको समाचार एउटै पढ्न पाइएन। यसको तात्पर्य हो– दिनेले दियो, पाउनेले पायो, खायो, पचायो। विगत १० वर्षभित्र चारजना गणनायकले विदेशमा गएर उपचार गर्नबापत भनी सरकारी ढुकुटीबाट लिएको रकमको मात्र हिसाब गर्ने हो भने त्यतिले मात्र पनि मुलुकभित्रै अन्तर्राष्ट्रियस्तरका साधनसम्पन्न अस्पताल बन्न सक्थे। उपचारका लागि कुनै विलासी वैभवी महामहिमले विदेश सम्झनै पर्ने थिएन। साँच्चै भन्ने हो भने राजनीतिक व्यवसायीहरूको चौतर्फी लुटमारमा परेको छ मुलुक। यसबाट मुक्ति कहिले र कसरी ?

अहिले मुलुकमा स्वर्णवसन्त–मालती पुराण लागेको छ। एक विशिष्ट क्रन्तिकारी गृहमन्त्रीको तत्कालीन वाचन प्रसङ्गको साबिती बयान रेकर्ड सुन्दा लाग्छ– यो कुरा त महान् राजनीतिज्ञ चाणक्यले उहिल्यै भनिसकेका थिए– शासन प्रशासन पानीजस्तै हो भने कर्मचारीहरू माछाजस्तै हुन्। माछाले पानीमा कति बेला के अचाक्ली गर्छन्, समयमै एकेक तथ्यसँग सुसूचित हुन सजिलो छैन। अहिले कुनै कालीन माननीय मन्त्री र एतत् कालीन सम्माननीय व्यक्तित्व विशेषले सून तस्करीका साना माछाका लयमा ठूला माछाको कुरा काटेको पनि सामाजिक सन्जालमार्र्फत सुनियो। सुन्दा कान छाम्न मन लाग्यो– कानका ठाउँमा कुनै भान आएर बसिदिनुले अनायास यस्तो सुनिएको त छैन ?

भर्खरै एउटा समाचार शीर्षक पढियो– धनी मन्त्राणी र गरिब मन्त्रीहरूले ढकमक्क फुलेको मुलुक, हाम्रो मुलुक। अर्थसंयमले व्यवस्थित मुलुक, हाम्रो मुलुक। समाचार पढ्दा लाग्छ, यहाँ मन्त्री महोदयको सीमान्त लाज ढाक्ने लँगौटी पनि विचरा मन्त्रीको आफ्नो नियन्त्रणमा छैन, जे छ मन्त्राणीको स्वामित्वमा छ, गृहलक्ष्मीको स्वामित्वमा छ। मन्त्राणीहरू एक से एक धनी छन्, मन्त्रीहरू एक से एक हरिकङ्गाल। मन्त्रीहरू कथम् कदाचित् बिरामी परेछन् भने एक पात सिटामोल किन्न पनि सरकारी ढुकुटीबाट पैसा पाए किन्लान्, नपाए कसरी किन्लान् ? अवस्था कम दयनीय छैन।

यस्ता मन्त्रीहरू भएको मुलुकमा समाजवाद त छिट्टै आइदिनै प¥यो। नआइदिई भएन। म यसै कागजमञ्चमा उभिएर कलम हात जोड्दै विनम्र अनुरोध गर्छु, ‘समाजवादज्यू, हजुर कहाँ होइसिन्छ, जहाँ होइसिएका हुनुभए पनि हाम्रा यी हरिकङ्गाल मन्त्रीहरूका घरहरूमा आइदिइस्योेस्। अविलम्ब आइदिइस्योस्। राजनीति शुरु गर्दादेखि पटक–पटक मन्त्री हुँदासम्म मुलुक र जनताको सेवामा अहोरात्र खटिआएका हाम्रा यी बिचरा गरिब मन्त्रीज्यूहरूलाई राहत प्रदान गरिस्योस्।’

‘समाजवाद अग्रतः सन्तु समाजवाद सन्तु पृष्ठतः
समाजवाद मुख–मुखे सन्तु समाजवादमध्ये वसन्तु ते।
अर्थात् हाम्रा मन्त्रीहरूको अघि–अघि समाजवाद हिँडोस्, पछि–पछि समाजवाद हिँडोस्, मुख–मुखमा समाजवाद रहोस्, यी सवै समाजवादका बीचमा ढुक्कसँग बस्न पाऊन्।’

हामी सर्वसाधारण जनताले गर्ने त यस्तै प्रार्थना नै हो। हाम्रा मन्त्री–प्रधानमन्त्रीहरू हाम्रा निर्वाचित प्रतिनिधिहरू हुन्। प्रतिनिधिहरू गरिब हुँदा हामी मतदाता जनतालाई दुःख लाग्छ। हामी तपाईंहरूले जानी नजानी छर्नुभएको विकृति, विसङ्गति र अविकासका भाँडभैलो सबै बिर्सेर तपाईंहरूको गरिबी हटाउनका लागि आवश्यक रगत–पसिना दिन अझै तयार छौं।

हामी नेपाली जनता नेताका कुरैकुरामा उचालिन–पछारिन मात्र महान् छैनौं, सहनशीलतामा पनि महान् छौं। हामीले हाम्रा नेताका अचाक्लीहरू पटक–पटक सहेका छौं। हाम्रा सपना, कामना, भावना र आस्थामाथिका अतिक्रमणहरू सहेका छौं। यति हुँदा पनि नेताहरूका लागि हामी कामधेनु रहिआएका छौं। हामी सहज क्षमाप्रार्थी छौं।

अरुले गरुन् नगरुन्, हामी हाम्रो क्षमाशीलताको पनि प्रशंसा गर्छौं। हामीले हाम्रा दक्षिणी छिमेकीलाई पाइला–पाइलामा क्षमा गर्दै आएका छौँ। पटक–पटक हाम्रा सीमा अतिक्रमण भएका छन्। पटक–पटक हाम्रो रगत–पसिना लुटिएको छ। हामी अनगिन्ती ठाउँमा अनगिन्ती पटक कुटिएका छौँ, मारिएका छौं। महिनौं–महिनौंसम्म अघोषित नाकाबन्दी युद्ध लादेर मर्माहत पारिएका छौँ। त्यति हुँदा पनि हामी त्यसै मुलुकका तिनै प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा डाकेर ठाउँ–ठाउँमा नागरिक अभिनन्दन चढाउँछौँ। राजकीय सम्मान दिन्छौँ। सलाम गर्छौँ। हामी हाम्रा पीडकहरू गल्ती कबुल गर्दै हामीसँग क्षमा मागून् भनी कामना गर्दैनौँ। पीडकलाई नै असीम आदर सम्मानका साथ क्षमा टक््य्राउँछौँ। हामीलाई थाहा छ–
क्षमा बलम् अशक्तानां शक्तानां भूषणं क्षमा
क्षमा वशीकृति र्लोके क्षमया किं नसिध्यति ?

अर्थात् अशक्तहरूका लागि क्षमा बल हो, शक्ति हो। सशक्तहरूका लागि क्षमा आभूषण हो, शोभासम्बर्धक अलङ्कार हो। क्षमाशीलताले संसार वशीकृत गर्न सकिन्छ। क्षमाशीलताबाट पूरा गर्न नसकिने काम कुनै छैन। लाग्छ– नीतिकारले यो सुन्दर श्लोक रचना वर्तमानकालीन हामी नेपाली जनताकै लागि गरिदिएका थिए।

मुलुकमा भ्रष्टाचार र तस्करीको बिगबिगी छ। बडेबडे वकिलहरू तिनै भ्रष्ट र तस्करहरूको पक्षपोषणमा सार्पित रहँदै बहसमा धार थपिरहेका छन्। हाम्रा बडेबडे शासक–प्रशासकहरू र शीर्ष–उपशीर्ष राजनीतिक व्यवसायीहरू पानीमाथि ओभानो देखिनका निमित्त मातृप्रधान युगका अनुमान र सम्भावनाहरूलाई उछिन्दै आफ्नो चञ्चलाश्री, धनसम्पत्ति सबै आफ्नी श्रीमतीका नाममा देखाएर आफू सन्त महात्मा देखिने रमाइलो प्रयत्नमा छन्। ह्यान्स एन्डरसनको इम्पेरर्स न्यु क्लथवाला बादशाहकै शैलीमा पोशाक–जात्रा चलाइरहेका छन्। हामी जनता हिजोजस्तै आज पनि जात्रा हेरिरहेका छौं।
धन्य छन् हाम्रा राजनेताहरू ⁄ धन्य छौं हामी नेपाली जनता !!

प्रतिक्रिया दिनुहोस्