कृष्णसेन मदन स्मृति दिवस मनाइयो



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार १६औं कृष्णसेन इच्छुक मदन स्मृति दिवस मनाइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दी र प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको संयुक्त आयोजनामा पत्रकारिता पुरस्कार वितरण गरी दिवस मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ ४ नम्बर प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले समय र परिवर्तन अनुसार पत्रकारिता क्षेत्रलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । उनले पत्रकारप्रति समाजले गर्ने विश्वास र मर्यादालाई बचाइराख्न पेशामा नरहेकालाई पत्रकार महासंघको सदस्यताबाट सम्मानसहित विदाई गर्ने नीतिगत व्यवस्था गरिने बताउँदै समृद्धि र विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पाटीका नेता तथा पूर्व सभासद गोविन्दप्रसाद पौडेल, नेता हरिकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्कीले जिल्लाको गाउँ तहसम्म पत्रकारिताको पहुँच स्थापित गरी समाज रुपान्तरण, विकास र समृद्धिको अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

यसैबीच प्रेस सेन्टर म्याग्दीद्वारा स्थापित कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट म्याग्दीका पत्रकार ठाकुरप्रसाद आचार्य सम्मानित भएका छन् । १६औं कृष्णसेन स्मृति दिवसको अवसर पारेर आइतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद पाँचहजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहेका आचार्य विगत १० वर्षदेखि गोरखापत्र दैनिक, नवविकल्प साप्ताहिक र विकल्पन्युज डटकममा आबद्ध रहेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ४ का अध्यक्ष त्रिभुवन पौडेल, पूर्व सभासद गोविन्द पौडेल, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सचिव मिनबहादुर कार्की, महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा र सेन्टरका अध्यक्ष कमल खत्रीले आचार्यलाई पुरस्कृत गरेका थिए ।

वि.सं. २०७२ सालमा चलचित्र भीमदत्तको विशेष प्रर्दशनी गरेर स्थापना गरिएको ७५ हजार रुपैयाँ राशीको कोषमा प्रदेशसभा सदस्य विनोद केसीले जनयुद्धमा दिवङ्गत भएका दाजु मदनको स्मृतिमा हालै थप २५ हजार सहयोग गरेका थिए । अक्षयकोषको व्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशील एकजना पत्रकारलाई पुरस्कृत गरिने प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्